काठमाडौ, असार १६ -
कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिक गतिरोध अन्त्यका लागि आफ्नो पार्टीले अत्यन्त जिम्मेवार ढंगले अग्रसरता लिइरहेको बताएका छन् ।
शनिबार माहाराजगंज स्थित कोइराला निवासमा चिनियाँ उपमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य आई पिङसहितको चिनियाँ प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले यस्तो बताएका हुन् ।
करिब एक घन्टासम्म चलेको भेटघाटमा सभापति कोइरालाले मुलुकको संवैधानिक र राजनीतिक सङ्कट समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको उनका प्रेस सल्लाहकार विपुल पोखरेलले जानकारी दिए ।

माओवादी नेतृत्वको सरकारले एकलौटीरुपमा संसद् भंग गरी निर्वाचनको घोषणा गराउँदा आफूहरु आश्चर्य चकित भए पनि मुलुकमा उत्पन्न जटिल परिस्थितिलाई अनुकुल बनाउँदै लैजानुको विकल्प नरहेकाले काँग्रेसले माओवादी लगायतका दलहरुसँग संवाद थालेको कोइरालाको भनाइ थियो ।
भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलले नेपालको वर्तमान राजनीतिक सङ्कट, शान्ति प्रक्रिया, संविधान निर्माणमा पार्टीहरुबीच विद्यमान प्रमुख असहमति र आगामी निकासका बारेमा चासो राखेको थियो ।
त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री पिङले चीनले नेपालमा शान्ति स्थायित्व र विकास चाहेको जानकारी दिँदै सबै दलहरुको सहमतिमा समस्याको समाधान गर्नुपर्ने चिनियाँ प्रतिनिधिमण्डलको धारणा रहेको बताए ।
उनले नेपालका दलहरु राष्ट्रिय सहमति निर्माण गर्न सफल हुने विश्वास पनि व्यक्त गरे । भेटका क्रममा चिनियाँ राजदूतलगायतका अधिकारीहरु पनि सहभागी थिए ।