सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, June 26, 2012

श्रीमान् बेपत्ता भएको भन्दै पाँच श्रीमतिको उजुरी

१२ असार, सोलुखुम्बु । 
सोलुखुम्बुका पाँचजनाले आ-आफ्ना श्रीमान् बेपत्ता भएको भन्दै उजुरी दिएका छन् ।
जिल्लाका विभिन्न भेगका महिलाले आ-आफ्नो श्रीमान्बाट आफू र बालबच्चालाई पालनपोषण गर्नाका साटो आफै बेपत्ता भएको भन्दै घरेलुहिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र सोलुखुम्बुमा उजुरी दर्ता गराएका हुन् । उनीहरुका श्रीमान् केही वर्षअघिदेखि धन कमाउन भारतलगायत विभिन्न स्थानमा गएका र घरपरिवारसँग सम्पर्क नगरेको पाइएको घरेलुहिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र सोलुखुम्बुका सहजकर्ता मिङमारडोमा तामाङले जानकारी दिनुभयो । अधिकांश महिलाका श्रीमान् उतै घरजम गरेर बसेको पाइएको छ ।
चालु आवमा केन्द्रमा प्राप्त ५१ उजुरीमा कुटपिट, बहुविवाह, जबर्जस्ती करणी, अंशबन्डा, गालीगलोज र श्रीमान् बेपत्तासम्बन्धी छन् । केन्द्रका अनुसार कुटपिटसम्बन्धी १४, बहुविवाह १०, जबर्जस्ती करणी एक, अशंबन्डा तथा आर्थिक हिंसा ११, श्रीमान् बेपत्ता पाँच र बालविवाहसम्बन्धी दुई उजुरी प्राप्त भएको छ । विसं २०६६ पुसदेखि सेवा सुचारु गरेको सो सेवा केन्द्रले प्राप्त उजुरीमध्ये अधिकांश मिलाउन सफल भएको सेवा सहजकर्ता तामाङले जानकारी दिनुभयो ।
सरकारद्वारा मान्यताप्राप्त सो सेवा केन्द्रमा पछिल्लो समयमा उजुरी आउनेक्रम ४० प्रतिशतले वृद्धि भएको छ । महिलाहिंसासम्बन्धी प्रचारप्रसार र जनचेतना अभिवृद्धिका कारण घटना सार्वजानिक हुनेक्रम बढेको केन्द्रले जनाएको छ । हिमालचुली सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थामार्फत सञ्चालित उक्त केन्द्रले घटनाको प्रकृतिअनुसार खानबस्नको व्यवस्थासमेत गर्दैआएको छ । महिला विकास कार्यालयमार्फत बर्सेनि प्राप्त बजेटबाट सेवा केन्द्र सञ्चालन हुँदैआएको छ । जिल्लामा सोताङ, नेचा बेतघारी, लोखिम, तिङला र सल्लेरी गरी पाँच गाविसमा यस्तो सुविधा उपलब्ध रहेको राससले जनाएको छ ।

No comments:

Post a Comment