सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

बैद्यको पार्टीलाई व्यंग्य स्वरुप ‘ड्यास’ माओवादीको संज्ञा

११ असार, काठमाडौं । 
छुट्टाभिन्न भएर निस्केको मोहन वैद्य किरणको नयाँ पार्टीलाई माओवादीको संस्थापन पक्ष र अरु आलोचकले खिसीटिउरी गर्न गज्जबको मसला पाएका छन् । बैद्यको पार्टीले नेकपा, माओवादीबाट नेकपा-माओवादी बनाएपछि खिसीटिउरी गर्नेहरुलाई रमाइलो गर्ने विषय बनेको हो । नामको बीचमा कमा(,) को सट्टा धर्सो अर्थात ड्यास(-) राखेपछि बैद्यको पार्टीलाई धेरैले ड्यास माओवादी भन्न थालेका छन् । भन्ने मात्र होइन लेख्ने अभ्यास समेत शुरु भएको छ ।
आफूलाई ठूलो ठान्ने एक दैनिक पत्रिकाले समाचारको शीर्षकमै ड्यास माओवादी लेख्न थालेको छ । एकीकृत नेकपा माओवादी निकटको पत्रिका र टेलिभिजनले त पुरै उडाउने पारामा हरेक पटक ड्यास माओवादी लेख्ने र भन्ने गरेका छन् । पार्टीको नाम लेख्दा बीचमा सानो तेर्सो धर्सो (नेकपा-माओवादी) राखेपनि भन्दा नेकपा ड्यास माओवादी नभई नेकपा माओवादी नै भएकाले आफूहरुलाई खिसी टिउरी गर्ने हिसाबले यस्तो अभ्यास शुरु भएको बैद्य पक्षीय नेताहरुको ठम्याई छन् । ‘उडाउनेहरुले जे भनेपनि लेख्दा नेकपा-माओवादी र भन्दा नेकपा माओवादी नै हो’ नेकपा-माओवादीकी नेतृ जयपुरी घर्तीले भन्नुभयो -’यस विषयमा हामीले पार्टीमा छलफल पनि गरेका छौं ।’

नेकपा मालेका महासचिव सिपी मैनालीले पनि वैद्य पक्षलाई उडाउनकै लागि ड्यासको संज्ञा दिइएको हुन सक्ने बताउनुभयो । ‘लेख्दा जे लेखेपनि भन्दा त नेकपा माओवादी नै हो’ अनलाइनखबरसँगको कुराकानीमा मैनालीले भन्नुभयो -’उहाँहरुलाई व्यंग्य गर्नकै लागि ड्यास माओवादी भनिएको हुनसक्छ ।’ अरु पार्टीको पनि नाम लेख्दा कतिमा कोष्ठ र कतिमा ड्यास राखिएको हुन्छ । तर भन्ने बेला यसको उच्चारण गरिँदैन । ‘हाम्रो पार्टीको नाम पनि लेख्दा नेकपा -माले) हुन्छ, तर भन्दा त नेकपा कोष्ठभित्रको माले त भनिँदैन नि’ मैनालीले भन्नुभयो ।
नेकपा माओवादी मात्र भन्दा मातृका र बैद्यको पार्टी कसलाई भन्न खोजिएको हो भन्ने नबुझिने भएकाले ड्यास भनिएको पनि हुन सक्छ । ‘तर ड्यास किन भन्नुपर्यो’ माले महासचिव सीपी मैनालीले भन्नुभयो -’बुझाउनको लागि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी या मातृका यादव नेतृत्वको नेकपा माओवादी भने भैहाल्छ नि, ड्यास भन्नु अनुचित हो ।’
क्रान्तिकारी, कमा हुँदै ड्यास
नयाँ पार्टी गठन गर्ने बेला अध्यक्ष मोहन बैद्य किरणले नेकपा क्रान्तिकारी माओवादी राख्न नाम प्रस्ताव गर्नुभएको थियो । यस विषयमा भेलामा निकै बहस र छलफल भयो । आफूहरु यसै पनि क्रान्तिकारी भएकाले यो शब्द राख्न आवश्यक नरहेको र नेकपा माओवादी मात्रै भन्नुपर्नेमा धेरैले सुझाव दिए । तर एकीकृत नेकपा माओवादीबाट पहिल्यै छुट्टएिर हिंडेका मातृका यादवले यस्तै नाम राखेकोले उनलाई अप्ठेरो पर्ने गरी नाम राख्न नहुनेमा बैद्यले जोड दिनुभयो । त्यसो भए नेकपा र माओवादीको बीचमा ,-कमा) राख्ने सहमति भयो । त्यही हिसाबले नेकपा, माओवादी भनियो । मातृका यादवको नेकपा (माओवादी) र बैद्यको नेकपा, माओवादी भएको भन्दै त्यही दिन धेरैले कमा माओवादी भनेर व्यंग्य गरे ।
नेताहरुलाई बीचमा कमा राखेको पनि मन परेन । अरुले व्यंग्य गरे भन्दा पनि कमाले शब्दलाई छुट्याउने काम गर्ने हुँदा व्याकरण हिसाबले कमा राख्न नहुनेमा नेताहरु सहमत भए । भोलिपल्टै कमाको ठाउँमा तेर्सो धर्सो अर्थात नेकपा-माओवादी भन्न थालियो । लेख्दा जे लेखेपनि भन्दा नेकपा माओवादी नै हुने र यो आफ्नो पार्टीको भएको भन्दै मातृका यादवले बिरोध पनि गर्नुभयो । तर वैद्य पक्षले आफूलाई मूल माओवादी नै भएको दावी गर्न नेकपा-माओवादीकै रुपमा चिनाउने भएको छ । दल दर्ता गर्ने क्रममा समस्या आउने भएपनि बैद्य पक्षले तत्काल दल दर्ता नगर्ने बताइसकेको छ ।

No comments:

Post a Comment