सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

प्रधानमन्त्री भट्टराईले राजीनामा नदिने

११ असार, काठमाडौं । 
ब्राजिलबाट फर्किए लगत्तै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनसक्ने चर्चा चलिरहेको बेला स्वयं प्रधानमन्त्रीले भने यसको खण्डन गर्नुभएको छ । एकहप्ता लामो ब्राजिल भ्रमणबाट सोमबार र्फकने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री भट्टराईले अर्को चुनावबाट आउने निर्वाचित सरकारलाई मात्र सत्ता हस्तान्तरण गर्ने बताउनुभएको हो । ‘अहिले मैले राजीनामा गर्दा संवैधानिक संकट उत्पन्न हुन्छ र मुलुक माघ १९ पछिको अवस्थामा पुग्छ’ प्रधानमन्त्रीले भन्नुभयो -’राजनीतिक संकट र संवैधानिक शून्यता उत्पन्न हुने गरी राजीनामा दिने कुरा आउँदैन ।’
प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्रीको कुर्सी र राजीनामाको कुरा केटाकेटीको खेल जस्तो नभएको समेत बताउनुभयो । उहाँले आफ्नै नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप पाउने दावी समेत गर्नुभयो । ‘सहमतीय सरकारको लागि प्रयास जारी छ’ भट्टराईले भन्नुभयो -’यही सरकारलाई राष्ट्रिय स्वरुप दिनुको विकल्प छैन ।’ उहाँले दलहरूको सहमतिमा मंसिर ७ मै नयाँ निर्वाचन हुने दाबी समेत गर्नु भयो ।
पार्टी विभाजनको प्रसँगमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले केही असन्तुष्ट साथीहरु बाहिरिएका र उनीहरु आउनुको विकल्प नभएको प्रतिकृया दिनुभयो । प्रधानमन्त्री भट्टराईले अध्यादेशबाटै बजेट आउने पनि बताउनुभयो । ‘अध्यादेशबाट बजेट ल्याउनुको विकल्प छैन’ प्रधानमन्त्रीले भन्नुभयो -’यस विषयमा अरु दलहरुसित समेत सहमति जुटाउने पहल भैरहेको छ ।’
प्रधानमन्त्रीले आफ्नो ब्राजिल भ्रमण उपलव्धीमूलक भएको दावी समेत गर्नुभयो । रियो दि जेनेरियोमा भएको वातावरण तथा दीगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन नेपाल जस्तो पहाडी मुलुकको लागि हितमा रहेकाले आफ्नो भ्रमण फलदायी भएको उहाँको भनाई थियो । ‘विपक्षी दलहरुले नबुझेर बिरोध गरेका हुन्’ प्रधानमन्त्री भट्टराईले भन्नुभयो -’नेपाल जस्तो हिमाली र अल्पविकसित देशको लागि सम्मेलनमा भाग लिनु महत्वपूर्ण कुरा थियो ।’ भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री लगायत अरु देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण र फलदायी भेट भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । विपक्षीहरुको चर्को बिरोध र आलोचना सहँदै एकहप्ता अघि ब्राजिल गएका प्रधानमन्त्री डा. भट्टराई सोमबार अपरान्ह स्वदेश र्फकनुभएको हो ।

फर्कदा पनि सास्ती
एक हप्ताअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराई ब्राजिल जाने दिन जस्तै सोमबार र्फकने दिन पनि राजधानीको विमानस्थल आसपासको सडक मान्छेले खचाखच भरिएको थियो । तर यो भीडमा प्रधानमन्त्रीको विदाई र स्वागत भन्दा बिरोध गर्नेहरुको हूल बढी देखिन्थ्यो । कामचलाऊ हैसियतमा रहेका प्रधानमन्त्री देशलाई भताभुंग पारे बिदेश जान लागे भनेर जाने दिन कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले विमानस्थलमा बिरोध प्रदर्शन गरेका थिए । त्योबेला विपक्षीहरुले प्रहरीसँग घम्साघम्सी, ढुंगामुढा, तोडफोड र कालोझण्डा प्रदर्शन लगायतका बलबुताले भ्याएसम्म सबै गरेका थिए । बिदेश जान लागेका प्रधानमन्त्रीलाई कतिले देश छोड भनेर पनि नारा लगाएका थिए । तर विपक्षीहरुको अवरोध छिचोल्दै प्रधानमन्त्री हप्ता दिनअघि ब्राजिल उड्नुभयो । जाने बेला कालोझण्डा र नाराबाजी पनि मजाले हेर्नुभयो ।
र्फकने दिन पनि प्रधानमन्त्रीले यस्तै नियति भोग्नुपर्यो । प्रधानमन्त्री आउन लागेको थाहा पाएका विपक्षी दलहरु अघिल्लो हप्ताजस्तै प्रदर्शनको लागि विमानस्थल पुगे । अघिल्लो हप्ता तोडफोड र कालोझण्डा प्रदर्शन भएको कारण सोमबार प्रहरीले विमानस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्यो । विमानस्थलको मूल गेट आसपासमा कसैलाई उभिन र हेर्न पनि दिएन । बानेश्वरदेखि विमानस्थलसम्मको सडकमा गाडी गुड्न पनि रोक लगाइयो । सुनसान सडकमा नाराबाजी गर्न खोज्नेहरुलाई पनि प्रहरीले समातेर राख्यो । दुई दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।
आउने प्रधानमन्त्री र बिरोध गर्ने विपक्षीहरुको कारण विमानस्थलभित्र आउजाउ गर्ने र त्यही सडक हुँदै ओहोरदोहोर गर्नेहरुलाई पनि सास्ती भयो । प्रहरीले अघिल्लो हप्ताभन्दा सुरक्षा व्यवस्था कडा पारेकोले जानेबेला जस्तो आउँदा प्रधानमन्त्रीले कालो झण्डा देख्न परेन ।

No comments:

Post a Comment