सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, June 19, 2012

माओवादी फुट्यो, बैद्यको नेतृत्वमा नेकपा, माओवादी गठन

४ असार, काठमाडौं । विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी औपचारिक रुपमा फुटेको छ ।
उपाध्यक्ष मोहन बैद्य किरण समूहले नयाँ पार्टी गठनको घोषणा गरेको छ ।
राजधानीमा भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट मोहन बैद्य किरण पक्षले नयाँ पार्टी गठनको प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको हो । यसलगतै वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले संस्थापन पक्षसँग सम्वन्ध विच्छेद भएको घोषणा गर्नु भएको थियो ।
बैद्य पक्षले नयाँ पार्टीको नाम नेकपा, माओवादी राखेको छ भने पार्टी अध्यक्षमा मोहन बैद्य किरण हुनुहुन्छ । यस्तै महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सीपी गजुरेल हुनुहुन्छ भने स्थायी समितिमा नेत्रविक्रम चन्द विप्लव र देव गुरुङ हुनुहुन्छ । यस्तै ७५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरिएको छ । हाल एकीकृत नेकपा माओवादीमा रहेका ४६ जना केन्द्रीय सदस्य छन् भने बाँकी भोलि तय गरिने छ ।
चुनवाङ बैठकपछि पार्टीको नेतृत्वले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा गलत भएको ठहर गर्दै भेलाले जनविद्रोहसम्मको क्रान्तिकारी कार्यदिशा तय गर्ने निर्णय गरेको छ । यसबारे थप निर्णय गर्न फागुन १ गते हुने महाधिवेशन बोलाइएको छ ।
पार्टीको वर्तमान नेतृत्व नवसंशोधनबादमा फसेकाले नयाँ पार्टी गठन गर्नु परेको बैद्य पक्षको भनाई छ । भेलामा सहभागीहरुले नयाँ पार्टी गठन गर्ने नेतृत्वको समर्थन गरेका थिए । उनीहरुले नेतृत्वले अघि सारेको कार्यदिशा प्रष्ट नभएको भन्दै विद्रोहको प्रष्ट कार्यदिशा ल्याउन समेत माग गरेका थिए ।

No comments:

Post a Comment