सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, June 21, 2012

पार्टी फुटेपछि परिवारमै समस्या

७ असार, काठमाडौं ।
 एकीकृत नेकपा माओवादी दुई खेमामा बाँडिएपछि यसको असर धेरै परिवारमा परेको छ । पहिलेदेखि नै संस्थापन र बैद्य खेमामा बाँडिएका केही जोडी फूटपछि पुरै दुई ध्रुवमा बाँडिएका छन् । तर राजनीतिक धार अलग भएपनि पारिवारिक समस्या चाहिं आइनसकेको उनीहरुको भनाई छ ।
‘अहिलेसम्म समस्या परिसकेको छैन, तर पार्टी फुटे यसले परिवारमा नराम्रो समस्या आउन सक्छ’ मूल माओवादीतिर रहेका प्रधानमन्त्रीका स्वकीय फोटोग्राफर दिनेश श्रेष्ठले केही दिन पहिले भन्नुभएको थियो । तर अहिले पार्टी फुटिसकेपछिको हालत चाहिं कस्तो छ त ? ‘त्यति सहज पनि होइन, असहज पनि छैन’ जवाफमा श्रेष्ठले भन्नुभयो । उहाँकी जहान सिर्जना लामा फुटेर गएको नेकपा- माओवादीमा लाग्नुभएको छ । आफ्नो विचार एकातिर, जहानको विचार अर्कोतिर । त्यसमाथि शीर्ष नेताहरुमाथि आरोपप्रत्यारोप चलेको अवस्था । खाना खाँदा, सुत्दा, अरु काम गर्दा पार्टी फुटको पनि त कुरा चल्दो हो नि ? ‘त्यसरी त कुराकानी हुँदैन’ श्रेष्ठले भन्नुभयो -’सामान्य कुरा त हुन्छ नै, तर त्यसरी विवाद नै हुने गरी चाहिं भएको छैन् ।’ पछि के होला अहिल्यै भन्न नसकिएपनि अहिले पनि सम्बन्ध असामान्य भइ नकसेको श्रेष्ठले बताउनुभयो र
पहिलेदेखि नै दुई खेमामा रहेका माओवादीका केही दम्पत्तिले पार्टी फुट्यो भने परिवारमा पनि फुटको अवस्था आउन सक्ने प्रतिकृया दिएका थिए । ‘सामान्य छ, घरमा हुँदा हामीबीच त्यस्तो राजनीतिक वाद विवाद हुँदैन’ नवगठित नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणकी छोरी चेतनाले भन्नुभयो । चेतना आफ्नै बाबुको पार्टीमा हुनुहुन्छ भने उहाँका श्रीमान दिपक सापकोटा मूल माओवादीमा हुनुहुन्छ । दिपक एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाका छोरा हुनुहुन्छ । यो हिसाबले मोहन बैद्य र अग्नी सापकोटा नातामा सम्धी पर्नुहुन्छ । तर उहाँहरुको लाइन ठ्याक्कै दुई विपरीत ध्रुवमा हुनुहुन्छ ।
परिवारभित्र दुई लाइनमा रहेका नेता कार्यकर्ता अरु पनि धेरै छन् । मूल माओवादीको राज्य कमिटी सदस्य शिव डाँगीकी जहान सरस्वती पोखरेल बैद्यको पार्टीमा हुनुहुन्छ । यस्तै बारा सिमराका राजन पौडेल नयाँ माओवादीमा र उहाँकी जहान प्रतिमा भुषाल पुरानो माओवादीमा हुनुहुन्छ ।
जोइपोइ फरकफरक पार्टीमा रहेका परिवार अरु पनि धेरै छन् । ‘५० भन्दा बढी परिवारमा यस्तो समस्या होला’ पुरानो माओवादीका दिनेश श्रेष्ठले भन्नुभयो । त्यसो त एउटै घरमा अलगअलग पार्टीका सदस्य अरु पार्टीमा पनि छन् । यसअघि एमाले फुटेर माले हुँदा पनि समस्या यस्तै थियो । अहिले पनि कुनै परिवारमा कोही कांग्रेस र कोही कम्युनिष्ट समर्थक रहेको उदाहरण भेट्न सकिन्छ । एउटै घरमा दुईथरी पार्टीलाई समर्थन गर्ने मान्छे हुँदा खासै समस्या परेको त देखिँदैन । तर नेतृत्व तहमा विवाद र आरोपप्रत्यारोप चल्दा पनि परिवारमा समेत त्यसको असर पर्छ । अहिले दुई पार्टीमा बाँडिएका माओवादी नेता कार्यकर्ताको परिवारमा पनि यस्तो अवस्था सृजना भएको छ । तर हामीलाई समस्या परेको छ, सँगै बस्न सक्दैनौं भनेर त सजिलै कसले पो भन्छ र ?

No comments:

Post a Comment