सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 31, 2012

सरकारको औचित्य समाप्त भइसक्यो : खनाल


१७ माघ, कैलाली । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको औचित्य समाप्त भइसकेको बताउनुभएको छ । मंगलवार प्रेस चौतारी  कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले सरकारले शान्ति प्रक्रिया र संविधान निर्माणको कामभन्दा सहमतिविपरीत एकोहोरो निर्णय गर्दै गएकाले उसको औचित्य समाप्त भएको दाबी गर्नुभयो ।
शान्ति र संविधान निर्माणका लागि सरकार र सरकारको नेतृत्व कर्ता दल एकिकृत माओवादीले नै अवरोध खडा गरेको आरोप लगाउनु भयो । उहाँले जनसत्ता  लगायतका असंवैधानिक निर्णयहरु सरकारले फिर्ता नलिएसम्म अवरुद्ध संसद सुचारु हुन नदिने चेतावनी दिनु भयो ।
धनकुटामा प्रधानमन्त्री भट्टराईकै अगाडि पत्रकारहरुमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै उहाँले यसले प्रेस स्वतन्त्रतामाथि नै हमला भएको टिपपणी गर्नु भयो ।  आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै अध्यक्ष खनालले कुनै पनि पक्षबाट स्वतन्त्र प्रेसमाथि हुने सबैखाले अतिवादको एमाले सधै विपक्षमा रहेको बताउनुभयो ।

जिप दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

१७ माघ, डडेल्धुरा ।
 भीमदत्त राजमार्गअन्तर्गत डोटीको रुपसकाडा भन्ने स्थानमा मंगलबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छ ।
दार्चुलाबाट धनगढीतर्फ गइरहेको ना१च ७०३८ नम्बरको जिप दुर्घटना हुँदा हेटौँडा घर भएका २६ वर्षीय चालक रमेश चौलागाइर्ं र राजस्थान भारतका २७ वर्षीय राजेशकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार अर्का भारतमै घर भएका प्रदीपकुमार गम्भीर घाइते भएका छन् ।
उनको कैलालीस्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । तीनैजना एनसेल टावर निर्माण कार्य गर्ने मजदुर भएका प्रहरीले जनाएको छ । जिप बिहान करिब ४ बजेतिर सडकबाट ९०० मिटर तल खसेको थियो ।

परराष्ट्र र पुलिसले फसाएको सभासद रानाको आरोप

१७ माघ, काठमाडौं । 
नेकपा एमाले सभासद नारदमुनी रानाले आफूलाई कूटनीतिक राहदानी दुरुपयोग काण्डमा संसद सचिवालय, परराष्ट्र मन्त्रालयका कर्मचारी र प्रहरीको मिलेमतामा फसाइएको दावी गर्नु भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सभासद रानाले सन् २०१० सेप्टेम्बर १० मा जारी भएको ०२१२४४ नम्बरको कूटनीतिक राहदानी आफू नलिएको दावी गर्नुभयो ।
आफ्नो नामबाट किर्ते गरी संसदसचिवालय, परराष्ट्रका कर्मचारीहरुले राहदानी निकालेर बिक्री गरी प्रहरी लगाएर फसाईएको उहाँको आरोप छ । उहाँले भन्नुभयो-’दोस्रो पटक लिईएको भनिएको राहादानी मैले लिएको छैन । लिएको प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार छु । तर मलाई नगरेको दोषमा फसाईदैछ ।’
सभासद रानाले दोस्रो पटक आफ्नो नाममा जारी भएको राहादानीमा औठा छाप, नागरिकताको प्रतिलिपि, हस्ताक्षर केही पनि नमिलेको अवस्थामा पनि जवरजस्ती फसाएर बदनाम गर्ने षड्यन्त्र भएको उहाँको दावी छ । कैलालीबाट समानुपातिक तर्फबाट एमालेका सभासद बनेका सभासद रानाले आफूलाई फसाउन प्रयोग भएका कागजातहरु आफुले संकलन गरी प्रमाणको रुपमा संसद सचिवालय , सभामुख र एमाले पार्टी कार्यालयमा बुझाएको भन्दै पत्रकार सम्मेलनमा समेत सार्वजनिक गर्नुभयो ।

वर्ष घोषणा : हल्ला ठूलो, कार्यान्वयन सुस्त

१७ माघ, काठमाडौं ।
 नेपाल पर्यटन वर्ष सकिन नपाउँदै लुम्बिनी भ्रमण वर्षले चर्चा पायो, यसबारे धेरैले थाहा नपाउँदै फेरि सहकारी वर्ष शुरु भयो । सरकारका अनुसार लुम्बिनी भ्रमण वर्ष चाहिं राष्ट्रिय अभियान हो भने सहकारी वर्ष चाहिं संयुक्त राष्ट्रसंघको आहृवानमा भएको हो । लुम्बिनी भ्रमण वर्षभरी गौतमबुद्ध र लुम्बिनीबारे अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार पुर्याउने योजना छ । सहकारी वर्षभरी चाहिं सहकारीको महत्वबारे प्रचारप्रसार र आवश्यक ऐन कानुन निर्माण गर्ने तयारी छ । तर घोषणा र तयारी अनुसार काम भने देखिन सकेको छैन । पर्यटन वर्षमा जस्तै लुम्बिनी भ्रमण वर्ष र सहकारी वर्षमा पनि अन्तिम अवस्थामा मात्रै काम देखिने संकेत देखिन थालेको छ ।
उद्घघाटनमा मात्रै अल्झिएको लुम्बिनी भ्रमण वर्ष
पुस ३० गते राष्ट्रपति डाक्टर रामवरण यादवले औपचारिक शुरुवात गरेयता लुम्बिनी भ्रमण वर्षको लागि अरु केही काम अघि बढ्न सकेका छैनन् । लुम्बिनी भ्रमण वर्षमा गौतम बुद्धको शान्तिको सन्देश विश्वभर प्रवाह गरी लुम्बिनीलाई संसारकै बुद्धमार्गीको पवित्र स्थलका रुपमा चिनाउने उदेश्य छ । यसअवधिमा देशविदेशमा व्यापक प्रचारप्रसार गर्ने उल्लेख छ । तर प्रचण्ड सहितको टोली अलि पहिले नै अमेरिका पुगेर फर्केपछि अरु काम अघि बढ्न सकेको छैन । त्योबेला राष्ट्रसंघ महासचिवले लुम्बिनी भ्रमण वर्षको बारेमा निकै चासो राखेको भनिएपनि त्यसपछि केही नै भएको छैन । लुम्बिनी भ्रमण वर्ष सफल पार्न अहिलेदेखि नै आवश्यक संघसंस्थालाई जिम्मेवारी दिनुपर्ने पर्यटन व्यवसायीको माग छ ।

सूचनाको हक कुण्ठित गर्ने मनसाय छैनः प्रधानमन्त्री


१७ माघ, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले नागरिकको सूचनाको हकसम्बन्धी अधिकार कुण्ठित गर्ने मनसाय नराखेको दाबी गर्नुभएको छ ।
नगरकोट नाल्दुम पर्यटक विकास समितिले मंगलबार २८४८औँ सोनाम ल्होछारका अवसरमा नगरकोटमा आयोजना गरेको महोत्सव उदघाटनपछि बोल्दै प्रधानमन्त्रीले सूचनाको वर्गीकरण गर्ने सरकारी कामबाट आशंकित र तरंगित नहुन नेपाल पत्रकार महासंघ र संचारकर्मीलगायतलाई आग्रह गर्नुभयो । सूचनाको वर्गीकरण प्रधानमन्त्री वा कुनै मन्त्रीको राजनीतिक संलग्नता नभएको बताउनुभयो । सूचना लुकाउने नियतले नभई २०६४ सालमा निर्माण गरिएको सञ्चार ऐनअनुसार कर्मचारीले वर्गीकरण गरेको जिकिर प्रधानमन्त्रीले गर्नुभयो । वर्गीकरणका क्रममा कुनै त्रुटी भए त्यसलाई सच्याउन सकिने उहाँको भनाइ छ ।
 ’नागरिकको सूचनाको हकलाई कुण्ठित गर्ने सरकारको कुनै मनसाय छैन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यसबाट पत्रकार महासंघ, सञ्चारकर्मी र अन्य कोही पनि तरंगित हुनुपर्दैन ।’ प्रधानमन्त्रीले सरकार सूचनाको वर्गीकरणका सम्बन्धमा त्रुटी भएको भए सच्याउन तयार रहेको भन्दै प्रधानमन्त्री भट्टराईले आन्दोलन छोडेर वार्तामा आउन नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले जारी राखेको आन्दोलनमा राजनीति घुसेको आरोप प्रधानमन्त्रीले लगाउनुभयो । विद्यार्थीलाई सडकमा उग्रता प्रदर्शन नगरी जिम्मेवार हुन उहाँले आग्रह गर्नुभयो । नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ विदेशबाट महंगोमा आयात गरी सस्तोमा बेच्दा सरकारले घाटा सहनुपरेकाले बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गरिएको उहाँको भनाइ थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार मुल्य समायोजन नगरे आयल निगम टाट पल्टने अवस्थामा पुगेकाले निगमलाई जोगाउन सरकारले बाध्यभएर मूल्य बढाउन निर्देशन दिएको जिकिर प्रधानमन्त्रीले गर्नुभयो । ‘पेट्रोलियम पदार्थ नेपालमा उत्पादन हुँदैन, विदेशबाट महंगोमा किनेर नेपालमा सस्तोमा दिन सकिँदैन’, भट्टराईले भन्नुभयो, ‘आयल निगम टाट पल्टने अवस्थाबाट जोगाउन मूल्यवृद्धिको विकल्प थिएन ।’

९९ वर्षका बुढाले ९६ वर्षकी बुढीसँग डिभोर्स गर्दै

इटालीमा सय वर्ष उमेर पुग्न थालेका श्रीमान श्रीमतीले सम्बन्ध विच्छेद गरेर विश्वरेकर्ड कायम गर्न लागेका छन् । ९९ वर्षका एन्टोनियो र ९६ वर्षकी श्रीमती रोजाले सम्बन्ध विच्छेद गर्न लागेका हुन् । यदि यि दुइ बीचको डिभोर्सले कानुनी मान्यता पाएमा यो जोडी विश्वमा सबैभन्दा पाको उमेरमा सम्बन्धविच्छेद गर्ने जोडी हुनेछ । अहिले बेलायतका बर्टी र वुड विश्वमा सबैभन्दा पाको उमेरमा डिभोर्स गर्ने जोडिको रुपमा रहेका छन् । सम्बन्धविच्छेद हुँदा उनीहरुको उमेर ९८-९८ वर्ष थियो ।
एन्टोनियो र रोजाबीच सम्बन्ध विच्छेद हुन लाग्नुको कारण पनि अचम्मको छ । वास्तवमा रोजाले ६० वर्ष पहिले आफ्नो अर्कै प्रेमीलाई लेखेको पत्र गएको डिसेम्बरमा फेला पारेपछि एन्टोनियो र रोजाबीच खटपट भएको थियो । १९४० को दशकमा रोजाले आफ्नो प्रेमीलाई लेखेको पत्र लुकाएर राखेकी रहेछन् र संयोगवस एन्टोनियोले त्यो फेला पारे । आफ्नो श्रीमतीले अरु केटालाई माया गर्ने गरेको थाहा पाएपछि एन्टोनियोको रिसको पारो तात्यो र उनले रोजासँग सम्बन्ध विच्छेद गर्न प्रस्ताव गरे ।

रोजाले आफुले भुतपूर्व प्रेमीलाई पत्र लेखेको स्विकार गर्दै अहिले भने आफुले उसलाई बिर्सिसकेको सफाइ दिएपनि एन्टोनियो मान्न तयार भएनन् र डिभोर्स गरेर छाड्ने निधो गरे । अन्ततः विवाह भएको ७७ औँ वर्षमा एन्टोनियोले अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराए ।
स्मरण रहोस् डाँडापारीको जून बनेको अवस्थामा डिभोर्स गर्न लागेका एन्टोनियो र रोजाका ५ जना छोराछोरी, एक दर्जन नातिनातिनी र एकजना पनाती छन् ।

Monday, January 30, 2012

प्रहरी र स्थानीयबीच झडप, तीन घाइते, आधा दर्जन बढि पक्राउ

लालपत्ता(उदयपुर) , माघ १६ - 
काठ निकासी करको बिषयमा त्रियुगा नगरपालिका — ११ लालपत्तामा प्रहरी र स्थानीय युवाबीच आइतबार राति झडप  हुँदा तीन महिला घाइते भएका छन् । ठेकेदारसहित १० युवा पक्राउ परेका छन् ।
स्थिति नियन्त्रण लिन प्रहरीले ३ राउण्ड हावई फायर गरेको छ । काठ निकास गर्दा कर भन्दा बढि रकम मागेपछि प्रहरीले जिविस निकासर कर संकलन केन्द्रका कर्मचारीलाई पक्राउ गरेपछि युवा र प्रहरीबीच विवाद भएको हो ।
कर भन्दा बढि रकम मागेको भन्दै व्यावसायीले गुनासो गरेपछि अनुगमन गर्न गएका प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेतीले कर्मचारी उमेर परियारलाई पक्राउ गरेका थिए । परियारलाई पक्राउ गरेको विरोधमा युवकले काठ बोकेको ना ३ ख ५३२५ नम्वरको ट्रक तोडफोड गरेपछि प्रहरीसँग भएको झडपमा स्थानीय बिन्दा लामा, उर्मिला परियार र नर्वदा राउत घाइते भएका छन ।
झडपमा प्रहरी निरीक्षक खग्रेन्द्रबहादर खड्का र सशस्त्र प्रहरी जवान राजकुमार केसी घाइते भएका छन् । घाइते लामा, परियार र राउतलाई उपचारका लागि धरान लगिएको लामाका पती मोतीलाल लामाले वताए । घाइते मध्ये लामाको अवस्था गम्भीर छ ।
झडपपछि प्रहरी आफन्तको आएका मोरङ पथरीका दिपक परियार, त्रियुगा नगरपालिका — ११ का गंगाध्वोज कार्की, सूर्यबहादुर भट्ट, सन्तोष सुवेदी, मुन्डे सुवेदी, सागर अधिकारी, केदार राउत, ठेकेदार सौरभ कार्कीसहित १० जना रहेका प्रहरी नायव उपरीक्षक उप्रेतीले वताए ।
पक्राउ परेका सवैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । काठ बरुवा काष्ठ उद्योगबाट विराटनगरका लागि लगिएको हो । 

सूचना लुकाउने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित

१६ माघ, काठमाडौं ।
 सूचना वर्गीकरण गरी गोप्य राख्ने सरकारी निर्णय खारेजको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघको सोमबार बसेको बैठकले सरकारको कदम अधिनायकवादी सोच भएको ठहर गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
महासंघका सचिव जगत नेपालले अनलाइनखबरसँग भन्नुभयो-’सूचना लुकाउने सरकारको कदम लोकतन्त्रलाई सुहाउने कुरा होइन । यो सरकारको अधिनायवादी सोच हो भन्ने महासंघको निष्कर्ष छ ।’
घोषित कार्यक्रम अनुसार भोलि दिउँसो ३ बजे सडक विभाग बबलमहल अगाडी कालो व्यानर प्रदर्शन गरिने छ । यस्तै महासंघका शाखाहरुले आफ्नो अनुकुल समय अनुसार भोलि र पर्सी देशभर प्रर्दशन गर्नेछ । सरकारले हालै मात्र सूचनाको बर्गीकरण गरि १ सय ४० प्रकारका सूचना गोप्य राख्न सरकारी कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

संघीयतामा ७५ वटा राज्य हुनुपर्छः देउवा

१६ माघ, चितवन ।
 नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकलाई संघीय ढाँचामा लैजाँदा ७५ वटा प्रान्त निर्माण गर्न सकिने धारणा व्यक्त गनुृभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा गरेको पत्रकार भेटघाटमा नेता देउवाले हाल कायम रहेका ७५ वटै जिल्लालाई एउटा-एउटा संघमा रुपान्तर गर्न सकिने बताउनुभएको हो । ७५ वटै जिल्लालाई एउटा संघ मान्ने हो भने राज्यपुनर्सरचनाका विषयमा हाल जारी किचलो अन्त्य हुने देउवाको दाबी थियो । ७५ वटै जिल्लामा आवश्यक भौतिक पूर्वाधारको समेत विकास भइसकेकाले राज्यले संघीय संरचना निर्माणमा थप व्यवभार व्यहोर्नु नपर्ने उहाँले बताउनुभयो ।
 ’सबैलाई भाग पनि पुग्ने, विदाद पनि अन्त्य हुने, कार्यालयहरु सबै तयारी अवस्थामा रहेकाले सरकारको खर्च पनि नहुने । संधै किचलो गरिरहनुभन्दा यो समस्या समाधानको एउटा विकल्प हुनसक्छ’ देउवाले भन्नुभयो । भावी शासकीय स्वरुप निर्धारण दर्गा संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नर्ु राम्रो हुने देउवाको भनाइ थियो ।
नेता देउवाले माओवादीले सशस्त्र द्वन्द्वका बेला स्थानीय ‘जनसत्ता’ले गरेको घरजग्गासम्बन्धी लिखतलाई मान्यता दिने सरकारको निर्णय पूर्वसहमति र कानुनविपरीत रहेकाले खारेज हुनुपर्ने बताउनुभयो ।

जनसत्ताको लिखतलाई मान्यता दिने निर्णयबाट पछि हटिन्नः ओली

१६ माघ, गुल्मी ।
 एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य हेमन्तप्रकाश ओलीले माओवादी जनसत्ताले सशस्त्र द्वन्द्वका क्रममा गरेको घरजग्गासम्बन्धी लिखतलाई मान्यता दिने निर्णयबाट पार्टी र सरकार पछि नहट्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ गुल्मीले आज तम्घासमा गरेको पत्रकार भेटघाटमा ओलीले जनसत्ताले गरेको घरजग्गा किनबेच, अंशबण्डा तथा बकसपत्रलाई मान्यता दिनु विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानविपरीत नहुने दाबी गर्नुभयो । १२ बुँदे समझदारीमा उल्लेख भएअनुसारै द्वैध सत्ताको अवस्था अन्त्यका लागि सरकारले उक्त निर्णय गरेकाले प्रतिपक्षीले त्यसको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीमा सल्लाह गरेरै सो निर्णय गरेकाले पाटींभित्र निर्णयका विषयमा कसैको फरकमत वा असहमति नरहेको ओलीले दाबी गर्नुभयो । नेता ओलीले घरजग्ग्ााको विषयलाई अनावश्यक रुपमा चर्काएर काँग्रेस-एमाले शान्ति र संविधान लेखन प्रक्रियामा भाँजो हाल्न उद्धत रहेको आरोप लगाउनुभयो ।

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

१६ माघ, दाङ ।
 दाङमा सोमवार विहान भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १६ जना यात्रु घाइते भएका छन् । दाङवाट नेपालगञ्ज जादै गरेको बा २ ख ५४४६ नम्वरको बस घोराही-लमही सडक खण्डको मसोटमा दुर्घटना हुँदा दाङ नारायणपुर ३ का ३६ बषिर्य माया दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

३ वर्षे बालकको पेटमा बच्चा


पेरुको राजधानी लीमाको लस मर्सिडिज हस्पिटलमा एक अद्भुत घटना घटेको छ । अस्पतालमा एक ३ वर्षको बालकको पेटको शल्यक्रिया गर्दा उसको पेटमा अर्को बच्चा भेटिएको छ ।
उक्त बालक गर्भवती भएको नभै उसको पेटमा भएको बच्चा उसको जुम्ल्याहा भाइ भएको शल्यक्रियामा संलग्न चिकित्सक कार्लोस एस्टोकोन्डरले बताएका छन् । उक्त बालकको पेटबाट निकालिएको जुम्ल्याहा भाइको तौल ७ सय ग्राम तथा लम्बाइ २५ सेन्टिमिटर छ ।
आमाको पाठेघरमा भ्रुणको विकाश हुँदा जुम्ल्याहा छुट्टाछुट्टै हुने भएपनि कहिलेकाहीँ सरिरका अंग जोडिएका हुने र चरम अवस्थामा एउटाको सरीरभित्र अर्कोको सरीर विकशित हुने चिकित्सकहरुको भनाइ छ ।
यस्तो घटनमा लाखौँ जन्ममा एक मात्र हुने विज्ञहरु बताउँछन् । पेटमा एउटा भ्रुणको विकाश अत्यन्तै तिब्र हुने र अर्को भ्रुणको विकाश निकै धिमा भएको अवस्थामा एउटा भ्रुणले अर्कोलाई सोसेर लिने र विकाशक्रममा सानो भ्रुण ठूलो भ्रुणको सरीरभित्र बन्द हुने गर्छ ।

ब्वाइफ्रेन्डसँग मस्ती गर्दा ब्रा खुस्केपछि…(फोटो फिचर)

हलिउड अभिनेत्री तथा मोडेल वेनेसा हडगेन्स हालै आफ्ना ब्वाइफ्रेन्ड अस्टिन बटलरको साथमा मस्ती गर्न हवाई टापुमा पुगेकी थिइन् । अस्टिन र वेनेसाले हवाइको सामुद्रिक किनारमा निकै मस्ती गरे ।
मायालुसँग समुद्रका छालमा छोपलिँदै र अँगालोमा गुँडुल्किँदै पल बिताउनु निश्चयपनि रोमाञ्चक हुन्छ । तर वेनेसाको लागि सामुद्रिक किनाराको मस्ती केही दुखद बन्यो ।
गुलाबी रंगको बिकिनीमा रहेकी वेनेसा ब्वाइफ्रेन्डसँग जिस्किँदा जिस्किँदै ब्रा नै फुस्किन गयो । बिकिनीको बटन खुस्केपछि उनले बल्लतल्ल दुइ हातले आफ्ना ढाक्नुपर्ने चिज लुकाइन् ।
ब्रा खुस्केपछि वेनेसा लाजले रातोपिरो होलिन् भन्ने धेरैको अनुमान थियो । तर उनी दुइ स्तनमा हातले ब्रा अठ्याउँदै मुस्कुराइरहेकी थिइन् ।
हेरौँ ब्रा खुस्केका ती पलहरु

Sunday, January 29, 2012

साउदी उड्न लागेका ३२ सय नेपाली भारतमा रोकिए

काठमाडौ, माघ १५ -
 साउदी अरबमा घरेलु काम (हाउसमेड) गर्न जान लागेका झन्डै ३ हजार २ सय नेपाली महिला भारतमा रोकिएपछि असन्तुष्ट देखिएको त्यहाँस्थित साउदी दूतावासले नेपालीलाई दिँदै आएको भिसाबारे पुनर्विचार गरिनुपर्ने भन्दै आफ्नो सरकारलाई सिफारिस गरेको छ ।
दूतावासले मुम्बईमा २ हजार ५ सय र दिल्लीमा सात सय नेपाली महिला हाउसमेडका लागि भिसा जारी गरिएपछि रोकिएको जानकारी आफ्नो सरकारलाई दिएको छ । दलालमार्फत गैरकानुनी रूपमा साउदीलगायत खाडी मुलुकमा जाने नेपाली महिलालाई रोक्न नेपालले गरेको आग्रह भारतले कार्यान्वयन गर्न थालेपछि यस्तो स्थिति उत्पन्न भएको हो ।
श्रम स्वीकृतिबिना जाने नेपालीलाई भारतीय निकायले आफ्नो विमानस्थलमा रोक्न थालेपछि साउदी दूतावासले 'आफ्नो मुलुकमा काम गर्न नेपालीलाई रोकिएको भन्दै भिसा दिनेबारे पुनर्विचार गर्न' सिफारिस गरेको हो ।
यसबारे साउदी परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपाली राजदूत उदयराज पाण्डेलाई बोलाई तथ्य बुझ्न खोजेको छ । उनले परराष्ट्रलाई 'आफ्नो मुलुकबाट गैरकानुनी रूपमा साउदी आउने कामदारलाई मात्रै रोक्न खोजेको' भन्दै यस अभियानमा साथ दिन अनुरोध गरेका छन् ।
'नेपालको श्रम स्वीकृति लिई आफ्नै विमानस्थलबाट मात्रै साउदी पठाउने नीति रहेको मैले जानकारी गराएँ,' राजदूत पाण्डेले कान्तिपुरलाई टेलिफोनमा भने, 'भारतस्थित नियोगलाई नेपालले साउदी जान रोकेको भन्दै गलत भ्रम फैलाइएको रहेछ ।' महिला कामदारको प्रवेशमाथि भारतीय विमानस्थलमा कडाइ गर्न थालिएपछि त्यसलाई सहज बनाउन भारतमा रहेका दलालले यस्तो भ्रम फिँजाएको स्रोतले उल्लेख गर्‍यो ।

माओवादीका कारण शान्ति र संविधानमा बाधाः पोखरेल

१५ माघ, दाङ ।
 एमाले महासचिव ईश्वर पोखरेलले माओवादी व्यवहारका काण शान्ति र संविधान लेखनकार्य अनिश्चित बनेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले आइतबार यहाँ आयोजना गरको पत्रकार घेटघाटमा महासचिव पोखरेलले माओवादीले चाहेमात्र आगामी ४ महिनामा शान्ति र संविधानले पूर्णता पाउने जिकिर गर्नुभयो । समयमा शान्ति र संविधानको काम टुंगोमा पुग्न नसकनुमा अन्य दलको पनि कमजोरी भए पनि ठूलो दलका नाताले मुख्य जिम्मेवारी माओवादीले लिनुपर्ने पोखरेलको भनाइ थियो ।
माओवादीले नेपाली सेनामा मेजर जनरलको माग गरेर बखेडा झिकेकाले शान्तिप्रक्रिया अघि बढ्न नसकेको आरोप पोखरेलले लगाउनुभयो । पोखरेलले सबै दलमा आवश्यक लचकता र जिम्मेवारीबोध भएमा समयसीमाभित्रै शान्ति र संविधानको काम सम्पन्न गर्न सकिने विश्वाशसमेत व्यक्त गर्नुभयो ।

जनसत्ता गरेका निर्णय फिर्ता नलिन सरकारसंग माग

१५ माघ, काठमाण्डौ ।
 जनसत्ताले गरेका निर्णयलाई बैधानिकता दिने सरकारको निर्णय फिर्ता लिन प्रतिपक्षी दलहरुले माग गरिरहेका वेला एकिककृत माओवादी निकट १६ जनविर्गय संगठनले शसस्त्र द्धन्दका वेला माओवादी जनसत्ताले गरेका निर्णय दृढता पूर्वक कार्यान्वन गर्न सरकारसंग माग गरेका छन् ।
आइतवार राजधानीमा १६ जनवर्गिय संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । १६ जनवर्गिय संगठनले जनसत्ताले गरेका निर्णयलाई मान्यता दिने सहमति गत २०६३ असार २ गते माओवादी र ७ राजनितिक दलहरुवीच भएकाले निर्णय फिर्ता नलिन माग गरेका हुन् । त्यतिवेला नै माओवादी जनसत्ताले गरेका निर्णयलाई मान्यता दिने सहमति भएकाले निर्णको विरोध गर्नुमा कुनै तुक नभएको उनीहरुको आरोप छ ।
उनीहरुले प्रतिपक्षीदलहरुले जनसत्ताको निर्णयलाई बैधानिकता दिने सरकारको निर्णयको विरोध गर्नु राजनितिक वेइमानी वाहेक अरु केही नभएको वताएका छन् । उनीहरुले जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिन माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।  घोषित कार्यक्रम अनुसार भोली सोमवार उनीहरुले  प्रमुख राजनितिक दलका नेताहरुलाई जनसत्ताको निर्णयका वारेमा जानकारी गराउने भएका छन् । त्यस्तै माघ १७ गते एकैसाथ ७५ जिल्लावाट जिल्ला प्रशासण कार्यालयवाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने, १८ गते देशभर कोष सभा गर्ने, १९ गते मुलुकभर जनप्रदर्शन गर्ने लगायतका रहेका छन् ।

सूचना दिन बन्देज लगाउनु सरकारको कमजोरी : देउवा


१५ माघ, चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारले सूचना दिन बन्देज लगाउनु सरकारको कमजोरी भएको वताउनु भएको छ । चितवनको भरतपुर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता देउवाले यस्तो वताउनु भएको हो ।
सुरक्षामा खलल पुर्‍याउने र अन्तर्राष्ट्रिय सम्बन्ध बिथोल्ने खालका सूचना दिन बन्देज गर्नु सकारात्मक भए पनि अन्य सूचनामा बन्देज लगाउनु सरकारको कमजोरी रहेको उहाँको भनाइ थियो । केही दिनअघि मात्रै सरकारले विभिन्न सूचना गोप्य  राख्न मातहतका निकायलाई निर्देशन दिएको थियो ।
उहाँले अहिलेका ७५ वटै जिल्लालाई राज्य बनाउनुपर्ने आफ्नो अभिव्यक्ति निजी भएको भन्दै बनेको संरचना बिगार्न नहुने वताउनु भयो ।रासस

रक्तचन्दन तस्करीमा नयाँ-नयाँ तरिका

१५ माघ, काभ्रे ।
 तस्कर समूहले अवैध रक्तचन्दन तस्करीमा नयाँनयाँ तरिका अपनाउने गरेको रहस्य खुलेको छ ।
काभ्रे प्रहरीले मोटसाइकलमा राखेर बिक्रीका लागि चीनको खासातर्फ लैजाँदै गरेको रक्तचन्दन बरामद गरेपछि त्यस्तो रहस्य खुलेको हो । प्रहरीले काभ्रेको नालाबाट गएराति २६ दुईवटा मोटरसाइकलमा राखेर बिक्रीका लागि खासातर्फ लान लागिएको २ गोलिया रक्तचन्दल बरामद गरेको छ ।
बा, ३१ प ५५०१ र बा. २३ प ६४४४ नम्बरका दुईवटा मोटरसाइकलमा लुकाएर खासा लैजाँदै गरिएको दुई गोलिया रक्तचन्दन नियन्त्रणमा लिइएको काभ्रे प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो । बरामद गरिएको रक्तचन्दनको तौल २६ किलो ग्राम रहेको बताइएको छ । सिंहका अनुसार रक्त चन्दन ओसार्ने काममा संलग्न सिन्धुपाल्चोक गाति-९ का २४ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँका २२ वर्षीय कुमार श्रेष्ठ र भक्तपुर ठिमी-१३ का २३ वर्षीय विक्रम श्रेष्ठलाई पक्राउ गरिएको छ । यसअघि गाडी र एम्बुलेन्समा चन्दन फेला पर्ने गरेको थियो ।
उनीहरुलाई हिसारतमा राखेर थप अनुसन्धान अघि बढाइएको तथा बरामद रक्तचन्दन जिल्ला वन कार्यलयलाई जिम्मा दिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जनसत्ताको कामबारे अदालतको निर्णय मान्छौं: गजुरेल

१५ माघ, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले जनसत्ताले गरेको जग्गासम्वन्धि कामलाई बैधानिकता दिने निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको एक मात्र राम्रो निर्णय जनसत्ताको कारोवारलाई बैद्यानिकता दिने भएको भन्दै उहाँले भन्नुभयो-’सरकारले गरेको एउटा मात्र राम्रो निर्णय पनि फिर्ता लिए त यो सरकार निकम्मा भई हाल्छ नी ।’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा सचिव गजुरेलले जनसत्ताको कामलाई बैधानिकता दिने निर्णयका कारण सरकार नढल्ने दावी गर्नुभयो ।
अदालतमा विचाराधिन रहेको विषयमा निर्णय फिर्ताको माग लिएर संसद अवरुद्ध गर्नु विधीको शासन विरोधी भएको भन्दै उहाँले अदालतको निर्णय माओवादीले मान्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’सरकारले निर्णय फिर्ता लिनु हुँदैन, अदालतले गर्ने फैसला हामी मान्छौं ।’
जनताको समस्या समाधान गर्न गरेको निर्णयलाई काग्रेसले राजनीतिक जामा पहिनाएर विवाद उत्पन्न गरेको भन्दै गजुरेलले जनसत्ताको कामलाई बैद्यानिकता दिदा जनसत्ता फेरि कुनै पनि हालतमा नब्यूतिने दावी गर्नुभयो । उहाँल स्वेच्छिक अवकासमा जाने लडाकूहरुलाई तत्कालै विदा गर्न पार्टी तयार रहेको भन्दै उहाँले एक दुई दिनमै विदा गर्ने बताउनु भयो ।
तमलोपा नेपालका अध्यक्ष एवं सिचाई मन्त्री महेन्द्र यादवले मधेसी मोर्चाबाट सरकारमा गएका सबै मन्त्रीको सहमतिमा निर्णय भएको भन्दै फिर्ता नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय मोर्चाको समर्थनमा भएको हो, विजय गच्छदार वा अरु कसैले बोल्दैमा केही हुँदैन ।’ रुकुम, रोल्पा र जाजरकोट सहित चार जिल्लाका किसानको समस्या समाधान गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै मन्त्री यादवले किसानहरुलाई मालपोत दस्तुर मिनाहा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको विरोध गर्ने पत्रकार प्रहरी घेरामा

१५ माघ, काठमाडौं ।
 सरकारले सूचना लुकाउने प्रयास गरेको भन्दै प्रधानमन्त्री सहभागी कार्यक्रममा कालोपट्टी लगाएर उपस्थित भएका धनकुटका पत्रकारलाई प्रहरीले घेराबन्दीमा राखेको छ ।
धनकुटा महोत्सव तथा क्षेत्रीय औद्योगिक मेलाको उद्घाटन गर्न धनकुटा गएका प्रधानमन्त्री डा. बाबुराम भटट्राईको कार्यक्रममा कालोपट्टी बाँधेर रिपोर्टिङमा गएका पत्रकारलाई आयोजकले बाहिर निकालेको र अहिले प्रहरीले घेराबन्दी गरेर राखेको हो ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को गलत व्याख्या गरी १ सइ ४० बटा सूचना सूचना लुकाउने प्रयास गरेको भन्दै धनकुटाका पत्रकाहरु विरोधमा उभिएका थिए ।

अढाइ वर्षदेखि ट्वाइलेटमै

आखिर ट्वाइलेट भनेको दिसापिसाब गर्ने ठाउँ । दिसापिसाब गर्ने उद्धेश्य बाहेक मानिस खासै ट्वाइलेटमा छिर्दैन वा छिर्न चाहँदैन । पहिलेपहिले विद्यालयमा विद्यार्थीलाई सजायँ दिँदा ट्वाइलेटमा थुन्ने प्रचलन थियो ।
यसको अर्थ ट्वाइलेटमा थुन्नु भनेको निकै ठूलो सजायँ हो । तर चिनमा भने एक महिला आफुखुसी ट्वाइलेटमा बसिरहेकी छिन्, त्यो पनि लगातार साढे २ वर्षदेखि । उनी मरिगए पनि ट्वाइलेटबाट निस्कन मान्दिनन् ।
५८ वर्षकी मी यांग सन् २००९ को मार्च २५ देखि लगातार ट्वाइलेटभित्रै बसिरहेकी छिन् ।

उनलाई खानेकुरा ट्वाइलेट भित्रै लगिदिने गरिएको छ भने त्यहीँ नै सुत्ने गरेकी छिन् ।
आफुलाई कुनै इश्वरीय शक्तिले तानिरहेको उनी बताउँछिन् ।
उनका पति कैन आन ओंगले यो अढाइ वर्षमा मी ले जम्मा १८ पटक नुहाएको जानकारी दिए ।
आफु ट्वाइलेट बाट निस्किएमा अरुले ढुंगाले हान्ने र पानीले रुझाइदिने भएकाले आफु बाहिर ननिस्किएको उनले बताउने गरेकी छिन् ।
मी ले आफ्ना २७ वर्षे छोरासँग पनि बोल्न मान्दिनन् ।

Friday, January 27, 2012

प्रचण्ड नआएपछि संवैधानिक समिति बैठक निष्कर्षहीन

१३ माघ, काठमाडौँ ।
 माओवादी अध्यक्ष प्रचण्ड उपस्थित नभएपछि भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न जिम्मेवारी पाएको संवैधानिक समितिको शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा केहीबेर बसेको बैठकबाट बाहिरिने क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेताको अनुपस्थितिका कारण बैठक निष्कर्षविहीन भएको जानकारी दिनुभयो । नेता नेपालले माओवादी संविधान लेखन प्रक्रियामा जिम्मेवार नबनेको आरोप लगाउनुभयो । माओवादीकै कारण संविधान लेखनको काममा ढिलाइ भइरहेको नेपालको टिप्पणी छ । समितिअन्तर्गतको विवाद समाधान उपसमितिले सहमति जुटाएका विषयमा थप छलफल गरी अनुमोदन गर्ने बैठकको कार्यतालिका थियो ।

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले आफ्ना सबै उत्पादनहरुको प्राइभेसी सेटिङमा ठूलो परिवर्तन गर्न लागेको जानकारी गराएको छ । यसमा जीमेल, यु-ट्युब र गुगल सर्च समेत सामेल गरिएको छ । नयाँ प्राइभेसी सेटिङ आउँदो मार्च १ देखि लागु हुनेछ ।
गुगलले आफ्नो सन्देशमा भनेको छ ‘१ मार्च २०१२ देखि नयाँ गोपनीयता नीति तथा गुगल सेवाको शर्त लागु हुनेछ । यदि तपाइँले गुगलका उपयोग गर्न चाहनुहुन्छ भने नयाँ गोपनीयता नीति तथा सेवाको शर्तको अधिनमा रहनुपर्नेछ ।’ विश्वभरमा गरी गुगलका ३५ करोड प्रयोगकर्ता छन् ।

गुगलले आफ्ना सबै जीमेल उपभोक्ताहरुलाई पठाएको इमेलमा भनिएको छ, ‘हामी गुगलका ६० वटा विभिन्न गोपनियता नीतिलाई परिवर्तन गर्न जाँदैछौँ जसलाई एउटा यस्तो नीतिले विस्थापित गर्नेछ जुन छोटो र पढ्नसमेत सजिलो छ । हाम्रो नयाँ नीतिले अधिकांस उत्पादन र फिचरहरुलाई समेट्छ । जसलेे सम्पूर्ण गुगललाई एक निकै सरल तथा सहज बनाउने हाम्रो इच्छालाई दर्शाउनेछ । यो सामाग्री महत्वपूर्ण छ र यसका लागि हामीलेे अपडेट गरेको नयाँ गुगल गोपनियता नीति तथा सेवाको शर्त पढ्नका लागि केही समय दिनुहोस् ।’
कम्पनीले भनेको छ की यसले उपयोगकर्ताहरुको रुची बुझ्ने मद्धत मिल्नेछ । साथै उपयोगकर्ताहरुलाई पनि आफ्नो इच्छा अनुसारको विज्ञापन हेर्ने अवसर मिल्नेछ ।
तर केही उपभोक्तावादीहरुले भने गुगलले गर्न लागेको परिवर्तनको विरोध गरेका छन् । उपभोक्ताहरुसँग सम्बन्धित जानकारी कुनै वेबसाइटलाई दिने नीति गलत रहेको उनीहरुको भनाइ छ । जो कोही उपभोक्ता इन्टरनेटमा केही कुरा खोज्दा आफ्नो गोप्यता सुरक्षित राख्न चाहने तर गुगलको नयाँ सेटिङले प्रयोगकर्ताको गोप्यता भंग हुने केही प्रयोगकर्ताहरुको दाबी छ ।

भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमति हुँदैनः खनाल


१३ माघ, दाङ । एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने दाबी गर्नुभएको छ ।
अध्यक्ष खनालले अवरुद्ध शान्ति र संविधानको कामलाई अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सहमतीय सरकार गठनको बाटो खुला गर्न कारण प्रधानमन्त्रीले तत्काल पदबाट  राजीनामा दिनुपर्ने बताउनुभयो । प्रेस चौतारी दाङले आज बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले जारी राजनीतिक गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्रीको राजीनामा मात्र विकल्प भएको जिकिर गर्नुभयो ।
सरकार आफ्ना अभिभारा पूरा गर्न चुकिसक्दासमेत प्रधानमन्त्रीले अफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भन्दै हिँड्नु असुहाउँदो विषय भएको टिप्पणी गर्नुभयो । पार्टी कार्यक्रममा सहभागी हुन अध्यक्ष खनाल बिहीबार दाङ आउनुभएको हो ।

विपक्षीद्धारा लगाचार पाँचौ पटक संसद बैठक अवरुद्ध

१३ माघ, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेका जग्गादर्ता, अंशबण्डालगायतका कार्यलाई वैधानिकता दिने सरकारी निर्णयको विरोधमा प्रतिपक्षी दलहरुले लगातार पाँचौ पटक संसदको बैठक अवरुद्ध पारेका छन् ।
शुक्रबारको बैठकको प्रारम्भमा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सरकारले संविधान विपरीत माओवादी जनसरकारले गरेका जग्गादर्ता, अंशबण्डाका कारवाहीलाई वैधानिकता दिने निर्णय गरेको भन्दै फिर्ता लिन माग गर्नुभयो । उहाँले नेपाल भारत वा चीनसँग विलय हुनसक्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिलाई राष्ट्रियताविरुद्ध बोल्ने अधिकार नभएको धारणा राख्नुभयो ।
नेमकिपाका सुनिल प्रजापतिले प्रधानमन्त्रीले मुलुक चीन या भारतमा विलय हुन्छ भन्नु राष्ट्रघाती भएको बताउनुभयो । कांग्रेसका कमला पन्तले धेरै दिनदेखि संसद अवरुद्ध भइआएकाले देशमा प्रधानमन्त्री छन् कि छैनन् भन्नेमा शङ्का उब्जेको बताउनु भयो ।
एमालेका प्रदीप ज्ञवालीले पाँचौ पटकसम्म संसद अवरुद्ध हुँदा पनि सरकार गम्भीर नभएको र शान्ति प्रक्रिया तथा संविधान निर्माणमा सरकारको ध्यान नगएको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्रीको विवादास्पद निर्णयले सदन अवरुद्ध भई सहमतिको वातावरण खल्बलिएको बताउँदै बाह्रबुँदे सहमतिदेखि माओवादीले कहिल्यै नउठाएका विषयलाई अहिले कानुनी मान्यता दिन लागिपरेको आरोप लगाउनुभयो । उहाँले निर्णय फिर्ता नभएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने अडान राख्नुभयो ।

यस वर्ष लोडसेडिङ १४ घण्टाबाट बढ्दैनः उर्जामन्त्री


१३ माघ, काठमाडौं । उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष लोडसेडिङ दिनको १४ घण्टाभन्दा बढी नहुने दावी गर्नु भएको छ ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उर्जामन्त्री बोगटीले आइतबारबाट मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने जानकारी दिनुभयो ।
हेटौडा र दुहवीको थर्मल प्लान्ट संचालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाईनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्साङदी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी भइरहेको उहाँको भनाई छ । लोडसेडिङको आगामी दिनमा दैनिक ८ घण्टाभन्दा बढी लोडसेडिङ नहुने गरी आफूले १० बुँदे कार्ययोजना तयार पारेको भन्दै उहाँले आगामी मन्त्रिपरिषद बैठकबाट पारित गरेर कार्यान्वयनमा लैजाने बताउनु भयो । उहाँका अनुसार यसमा उत्पादकलाई सहुलियत दिने, ट्रान्समिसन लाइन निर्माण, चोरी र प्राविधिक चुहावट नियन्त्रण, स्टोरेज प्रोजेक्ट निर्माण लगायतका रहेका छन् ।
मन्त्री बोगटीले लोडसेडिङ अन्त्य गर्न भन्दै सरकारले डिजेल प्लान्ट स्थापनाको योजना ल्याएपनि कतैबाट सकारात्मक प्रतिक्रिया नआएकोले छाडेको बताउनु भयो ।
जलविद्युतको उत्पादनमा अहिले नै जोड नदिए आगामी वर्ष २१ घण्टासम्म लोडसेडिङ खेप्नु पर्ने भन्दै उहाँले सरकारले निर्माणाधिन रहेका करिब १३० मेघावाट विद्युत उत्पादन कार्यलाई सुविधा दिएर द्रुत रुपमा अगाडि बढाउने रणनीति लिएको बताउनु भयो । पश्चिम सेती आयोजना निर्माणका लागि चीनलाई पत्र पठाएको र केही दिनमा प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनु भयो ।

म्याद थपसम्वन्धि फैसला पुनरावलोकन गर्न सरकार फेरि सर्वोच्चमा

१३ माघ, काठमाडौं ।
 संविधानसभाको म्याद थपबारे सर्वोच्च अदातलको फेसलामाथि पुनरावलोकन गर्न अस्वीकार गर्ने अदालत प्रशासनको निर्णयविरुद्ध सरकारले इजलासमा निवेदन दिएको छ ।
सरकारका तर्फबाट महान्यायाधीबक्ता मुक्ति प्रधानले शुक्रबार निवेदन दिनु भएको हो । महान्यायाधीबक्ता प्रधानले अनलाइनखबरसँग भन्नुभयो-’सरकारको निवेदन दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णय कानुन सम्वत नभएकाले इजलासमा निवेदन दिएका हौं ।’ सरकारको निवेदन अब सिधै इजलासमा पेश हुनेछ । सर्वोच्चको इजलासले सर्वोच्च प्रशासनको दरपिठको निर्णयलाई सदर गरे संविधानसभाको म्याद थपसम्वन्धि फैसला पुनरावलोकन हुन सक्दैन ।
प्रधानन्यायाधीश खिलराज रेग्मीसहित सर्वोच्चका पाँच वरिष्ठ न्यायाधीशको इजलासले गत मंसिर ९ गते संविधानसभाको म्याद अन्तिम पटक बढीमा ६ महिना थप्ने मौका दिँदै उक्त समयमा पनि संविधान नबने संविधानसभा स्वत विघटन हुने फैसला सुनाएको थियो । साथै सर्वोच्चले आफ्नो फैसलामा जनमत संग्रह वा पुनः संविधानसभाको निर्वाचनमा जाने लगायतका विकल्पमा जान भनेको थियो ।
सर्वोच्चको फैसलाले संविधान संशोधन गर्ने संसदको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सरकार र संसदले पुरावलोकन गर्न दिएको निवेदन सर्वोच्च प्रशासनले पुस १२ गते दरपिठ गरिदिएको थियो । निवेदन अस्वीकृत गर्ने निर्णय चित्त नबुझे ३५ दिनभित्र इजलासमा जान पाइने व्यवस्था छ ।

किर्गितानमा कैदीहरुले आफ्नो ओठ सिलाए

जेलमा गरिने व्यवहार तथा रहनसहनको विरोधमा आन्दोलनरत किर्गितानका एक हजा। कैदीभन्दा बढीले आफ्नो ओठ सिलाएर विरोध गरेका छ्न । गत साता मात्र दंगा पुलिससँग भएको झडपमा एक व्यक्तिको मृत्यु भएको थियो भने दजनौ घाइते भएका थिए ।
त्यसलगतै दजर्नौ कैदी भोकहडतालमा उत्रिएका थिए । यो आन्दोलन अन्य जेलमा पनि फैलिएको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुका अनुसार करीब १३ सय कैदीले आफ्नो ओठ सिलाएका छन् भने ७ हजारभन्दा बढी भोकहडतालमा उत्रिएका छन् ।
अधिकारीहरुले भोकहडतालमा बसेकाहरुलाई जबरजस्ती खाना खुवाउन खोजेपछि कैदीहरुले ओठ सिलाएको बताइएको छ ।
उनीरुले पेय पदार्थ मात्र पिउन सक्ने गरी मुख सिलाएका हुन् । अधिकारीहरुले भने अपराधिक गिरोहले योजनावद्ध रुपमा यस्तो आन्दोलन गराएको बताएका छन् ।

बेहुलीले पेन्टी लगाउनैपर्ने कानुन

विवाहको अवसरमा बेहुलीहरुले पेन्टी नलगाउने चलन बढेपछि त्यसलाई रोक्न ब्राजिलको एक दक्षिणी सहरमा कानुन बन्ने भएको छ । दक्षिण पूर्वी भिला भेल्हा सहरका मेयरले विवाह समारोहमा बेहुलीहरुले पेन्टी लगाउनैपर्ने कानुन ल्याउन लागेका हुन् ।
त्यस क्षेत्रमा विवाहको बेला बेहुलीले सरीरको तल्लो भाग नांगै राखेमा वा कट्टु नलगाएमा वैवाहिक सम्बन्ध राम्रो हुन्छ भन्ने मान्यता छ । त्यसैले बेहुलीहरुले विवाह समारोहमा सरीरको तल्लो भागमा कुनैपनि कपडा लगाउँदैनन् र माथिल्लो छोटो वस्त्रले नै बल्लतल्ल तल्ला अंगहरु ढाक्ने प्रयत्न गर्छन् ।
सरीरको तल्लो भाग ढाक्न कुनैपनि कपडा नलगाउँदा कहिलेकाहीँ विवाह समारोहमा बेहुलीका ढाक्नैपर्ने अंगहरु सबैले देख्ने र त्यसले ठूलो विकृति समेत फैलाउन थालेको स्थानीय चर्चहरुले गुनासो गरेपनि मेयरले कम्तिमा पेन्टी भएपनि लगाउनै पर्ने कानुन प्रस्ताव गरेका हुन् ।
ब्राजिलियन रिपब्लीकन पार्टीका तर्फबाट मेयर बनेका ओजियास जीजीले भनेका छन्, कुनैपनि व्यक्तिलाई आफ्नो इच्छा अनुसारको पहिरनमा विवाह गर्ने स्वतन्त्रता रहेको भएपनि धार्मिक स्थलमा जाँदा नियम मान्नुपर्छ र आफुखुसी गर्न पाइँदैन ।

Thursday, January 26, 2012

विद्यार्थीको बन्दले जनकपुर प्रभावित

१२ माघ, जनकपुर ।
 प्रहरी दमनको विरोधमा विद्यार्थीहरुले गरेको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण जनकपुरबाट बाहिरिने तथा भित्रिने निजी र सार्वजनिक सवारीका साधन चलेका छैनन् भने बजार-पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै हिजो भएको प्रदशर्नका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा विद्यार्थीले बन्द आहृवान गरेका हुन् । प्रहरीको लाठी चार्जबाट आधादर्जन विद्यार्थी घाइते भएका थिए ।
विद्यार्थीले बिहानैदेखि जनकपुरका चोकचोकमा जम्मा भएर टायर बाल्नुका साथै प्रदर्शन गरिरहेका छन् । आन्तरिक राजश्व विभागअन्तर्गतको ग्राहक सेवा कार्यालय जनकपुरबाट महोत्तरीको बर्दिबासमा सार्ने निर्णयको विरोधमा यसअघि व्यापारीले गरेको बन्दबाट आहात भएका सर्वसाधारण विद्यार्थीको बन्दले थप मारमा परेका छन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छः विजुक्छे

१२ माघ, भक्तपुर ।
 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने बताउनुभएको छ ।
भक्तपुरमा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा विजुक्छेले वर्तमान सरकारले देश र जनताको अहितमा काम गरेकाले विपक्षी दलहरु मिलेर अविश्वास प्रस्ताव ल्याउनु पर्ने बताउनुभयो । प्रधानमन्त्री आफैंले जनचाहना बुझेर राजीनामा दिए राम्रो हुने भन्दै विजुक्छेले त्यसो हुन नसके संसदमा अविश्वासको प्रस्ताव ल्याएर सरकार गिराउनु पर्नेमा जोड दिनुभयो । अविश्वासको प्रस्ताव ल्याउनका लागि कांग्रेस र एमालेले हिम्मत गर्नुपर्ने विजुक्छेको भनाइ थियो ।
शान्ति, संविधान, महंगी नियन्त्रण तथा जनताको जिउधनको सुरक्षा गर्न नसकेकाले सरकारको औचित्य समाप्त भएको विजुक्छेले आरोप लगाउनुभयो । जनयुद्धका बेला माओवादी जनसत्ताले गरेको घरजग्गासम्बन्धी लिखतलाई मन्त्रिपरिषदबाट वैधता दिएर प्रधामन्त्री भट्टराईले केटाकेटी पन प्रस्तुत गरेको आरोप लगाउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती

१२ माघ, काठमाडौँ । 
चौतर्फी दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कटौती गरेको छ ।
बिहीबारदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ८५, डिजेल र मट्टतिेल प्रतिलिटरमा ४/४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले नयाँ मूल्य लागू गर्न आयल निगमलाई निर्देशन दिइएको बताउनु भयो ।
सरकारको यो निर्णयसँगै अब खाना पकाउने ग्याँसको मुल्य प्रति सिलिण्डर १५ सयबाट घटेर १ हजार ४ सय १५, पेट्रोलको मूल्य प्रतिलिटर १ सय १५ रुपैयाँबाट १ सय १२ तथा डिजेल र मट्टतिेलको मूल्य प्रतिलिटर ८५ बाट घटेर ८१ कायम भएको छ ।
आयल निगमले एक साताअघि खाना पकाउने एलपी ग्याँसमा प्रति शिलिण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १० तथा मट्टतिेल र डिजेलमा प्रतिलिटर ९/९ रुपैयाँका मूल्यवृद्धि वृद्धि गरेको थियो । मूल्यबृद्धिको निर्णय खारेजको माग गर्दै सत्तारुढसहितका दलका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
मन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चाप न्यून आय भएका विपन्न वर्ग र विद्यार्थीलाई पर्न नदिन राहत सुविधा उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी एक महिनाभित्र लागु गरिने बताउनुभयो । यस्तै एलपी ग्यासमा घरायसी उपभोक्ता र व्यापारिक प्रयोजनका लागि छुट्टाछुट्टै तौल र रङका सिलिन्डर प्रयोगमा ल्याउने तथा छुट्टाछुट्टै मूल्य आगामी दुई महिनाभित्र कायम गरिने बताउनु भयो ।

विपक्षीद्वारा पुनः संसद् बैठक अवरुद्ध


१२ माघ, काठमाडौँ । माओवादी सशस्त्र युद्धका बेला जनसत्ताले गरेका घरजग्गा किनबेच, अंशबण्डा तथा बकसपत्रलाई मान्यता दिने सरकारी निर्णय खारेजीको माग गर्दै प्रतिपक्षी दलका सभासदले बिहीबार चौथोपटक पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् ।
काँग्रेस-एमालेलगायतका विपक्षी दलका सभासदले बैठक सुरु भएलगत्तै जनसत्ताको लिखतलाई वैधता दिने निर्णय खारेज नभएसम्म बैठक चल्न नदिने बताएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले भोलिसम्मका लागि बैठक स्थगन गर्नुभएको हो । बैठक शुक्रबार अपराहृन १ बजेका लागि बोलाइएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताको आज बिहान बसेको बैठक निष्कर्षविहीन भएपछि काँग्रेस र एमालेका नेताहरुले संसदको अवरोध जारी राखिने बताएका थिए । बैठकमा जनसत्ताको निर्णय फिर्ता लिन विषयमा सहमति जुट्न सकेको थिएन ।

मूल्यबृद्धि पूर्ण रुपमा फिर्ता नभएसम्म विद्यार्थीले आन्दोलन नरोक्ने

१२ माघ, काठमाडौं ।
 १३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि पूर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । सत्तारुढ माओवादीसम्वद्ध अखिल क्रान्तिकारीसहित १३ विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले बैठकले सरकारले केही घटाएको मूल्य स्वीकार्य नभएको निष्कर्ष निकाल्दै वार्ता र आन्दोलनलाई एकसाथै लैजाने निर्णय गरेको हो ।
आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ८५, डिजेल र मट्टतिेल प्रतिलिटरमा ४/४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।
बैठकले भोलिबाट शहरहरुमा सरकारी गाडी गुड्न नदिनेसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार भोलि देशभरका क्यापस अगाडी प्रदर्शन गरिनेछ भने भोलिबाट अनिश्चितकासम्म शहरहरुमा सरकारी गाडी गुड्न नदिने क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले जानकारी दिनुभयो ।
यस्तै पर्सी देशभरी नै अन्तरक्रिया गर्ने र साँझ सिट्टी जुलुस निकाल्ने र १५ गते देशभरी नै विरोध सभा गर्ने छ । सरकार र विद्यार्थीहरुबीच वार्ता केहीबेरमा हुँदैछ ।

सद्भावना पार्टी फेरि फुट्यो, संविधानसभामा दलको संख्या ३३

१२ माघ, काठमाडौं । 
स्वास्थ्यमन्त्री राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी फेरि फुटेको छ । ५ सभासद रहेको सद्भावनाका रामनरेश राय र गौरी महतो कोइरीले राष्ट्रिय सद्भावना पार्टी गठन गर्नु भएको हो । यससँगै संविधानसभामा दलको संख्या ३३ पुगेको छ ।
सभासदद्धयले बिहीबार नै सभामुख सुवासचन्द्र नेम्वाङलाई नयाँ पार्टी गठन गरेको जानकारी गराएका छन् । रामनरेश दलको नेता बन्नु भएको छ भने गौरी प्रमुख सचेतक हुनुहुन्छ ।
यसअघि हालै मात्र चार सभासद अनिल झाले संघीय सद्भावना पार्टी गठन गर्नु भएको थियो । संविधानसभाको निर्वाचनपछि ९ सिट रहेको सद्भानामा अब अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष रल्मणलाल कर्ण र सभासद राजसरोज यादव मात्र बाँकी छन् ।

महिलाको १० हजार कट्टु चोर्ने पक्राउ

पैसा महंगा सामान जस्ता बहुमुल्य बस्तु चोरी हुने गरेको त सुनेकै हो । तर, थाइल्याण्डको प्रहरीले एउटा अनौठो प्रकृतिको चोर पक्राउ गरेको छ । महिलाको कट्टु-अण्डरवेयर) चोरेकोमा प्रहरीका फन्दामा परेका हुन् ।
प्रहरीले ती चोरबाट महिलाले लगाउने दश हजारभन्दा बढी कट्टु बरामद गरेको छ । ती चोरले करिब एक हजार कट्टु आˆनो कारमा राखिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
थाइल्याण्डका एकजना ४८ वषर्ीय चोरको घरमा पनि खान तलास गरेको र त्यहाँबाट दश हजारभन्दा बढी कट्टु बरामद गरेको प्रहरीले जनाएको छ ।बैङ्ककको एक घरमा उनलाई कट्टु चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बैङ्कको एक घरमा उनले कट्टु सुकाएको स्थानमा गई चोर्ने क्रममा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् ।
स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिले उनको १८ वर्षको उमेरदेखि नै महिलाका कट्टु सङ्कलन गर्ने काम गर्दै आएका थिए । उनले ती सबैजसो कट्टुहरू धोएर सुकाएको स्थानमै गएर चोर्ने गरेको पनि बताएका छन् ।आफूले ती सुँघ्नका लागि मात्र ती कट्टु चोर्ने गरेको उनले बताएका छन् । मैले अरु केही नभई सुँघ्नका लागि मात्र ती कट्टु चोर्ने गर्छु र मैले गाडी हाँकिरहको बेला पनि त्यसको गन्ध लिने गर्दछु- उनले भने ।
उनले ती कट्टुको गन्ध सबैजसो समयमा लिने गर्दछन् मानौं कि गाडी चलाउने बेलामा पनि प्रहरी मेजर जनरल सरोज प्रोमचारोनले भने । ती पक्राउ परेका चोरलाई हालका लागि कट्टु चोरका रूपमा भन्दापनि व्यक्तिको निजी सम्पत्ति चोरेको आरोपमा मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको पनि उनले जानकारी दिए । -एजेन्सीको सहयोगमा

पिसाब मिसाएको खाना मालिकलाई टक्राएपछि….”

घरमा काम गर्ने कामदार रिसायो भने कहिलेकाहीँ ठूलै गडबडी हुँदो रहेछ । मान्छे न हो, आखिर रिस उठेपछि नैतिकता, धर्म तथा भविष्यमा पर्ने नराम्रो असरको हेक्का नराखी नराम्रो काम गरिहाल्छ । त्यो नराम्रो कामले अरुलाई असर त गर्छ नै, कुराको पोल खुलेपछि गलत गर्ने मान्छे पनि फन्दामा पर्छ । यस्तै घटना घटेको छ साउदी अरेबियामा ।
एक जना घरेलु कामदार महिलाले आफ्नै पिसाब मिसाएर घरमालिकका परिवारलाई खाना टक्राइन् । खानाबाट बेग्लै गन्ध आएपछि घरका परिवारले खाना पकाउने ती महिलासँग किन खानामा यस्तो गन्ध ? भनेर सोधे । महिलाले गन्धको कारण थाहा नपाएजस्तो गरिन् । त्यसपछि कुनै मसलाको गन्ध होला भनेर परिवारले खाना खाए ।
कामदार महिला मालिकको परिवारले आफ्नो पिसाब खाएकोमा मख्ख थिइन् । तर उनको त्यो खुसी धेरैबेर टिकेन । खाना खाएपनि घरमालिकलाई गन्धप्रति शंका उत्पन्न भयो । आखिर गन्धको के को रहेछ ? भनेर पत्ता लगाएरै छाड्ने प्रतिज्ञा गरेर उनले खानाको नमुना लिएर प्रयोगशालामा गए । प्रयोगशालामा गएर परिक्षण गर्दा पत्ता लाग्यो की खानामा त पिसाब मिसाइएको रहेछ । घर आएर महिलालाई केरकार गर्दा उनले खानामा पिसाब मिसाएको कुरा स्विकारिन् । केहिदिन अघि घर मालिक्नीले नराम्रो व्यवहार गरेका कारण आफुलाई रिस उठेर त्यसो गरेको ती महिलाले बताइन् । उत्तरी अरार सहरमा घटेको यो घटनामा संलग्न ती महिलालाई घरमालिक पुरुषले प्रहरीसमक्ष बुझाएका छन् । मालिकका परिवारलाई पिसाब मिसाएर खुवाउने ती महिला वैदेशिक रोजगारकीका क्रममा साउदी अरेबियामा रहँदै आएको साउदी अरेबियाको कबार नामको पत्रिकाले जनाएको छ । तर उनी कुन देशकी नागरिक हुन् भन्ने बारेमा भने खुलाइएको छैन ।

अफगान महिलाले एकै पटक ६ बच्चा जन्माइन

अफगानिस्तानका २४ वर्षीया सारा पछिल्लो दिन स्थानीय टेलिभिजन र रेडियोमा छाएकी छिन् । केही दिन अघि मात्र आमा बनेकी हुन् । तर, उनी चर्चामा आउनुको कारण भने उनले जन्माएको सन्तानको संख्या हो ।
उनले छ बटा बच्चालाई जन्म दिएकी छिन् । बल्ख जिल्लाको ग्रामिण भेगमा बस्दै आएकी सारा २३ जनवरीमा मोन्जोर शरीफको एक अस्पतालमा पुगेका थिइन । जब डाक्टरले जाँच गरे, त्यसबेला थाहा भयो कि उनको पेटमा छ बटा बच्चा छ ।
बल्ख प्रान्तका स्वास्थ निर्देशक मीरवैस राबेसका अनुसार साराले तीन छोरा र तीन छोरीलाई जन्म दिएकी छिन् ।
उनीको तौल भने कम छ । एकको तौल त ७ सय ग्राम मात्र छ । सबै बच्चाको स्वास्थ्य भने ठिक रहेको राबेसले बताउनु भएको छ । एक स्थानीयले बीबीसीसँग भनेका छन्-’सारा निकै बहादुर महिला हुन् । उनले छ बटा बच्चा बोकेर कसरी गर्भाबस्था काटी । सरकारले उनलाई सहयोग गर्नुपर्छ ।’
अफगानिस्तानमा एकै पटकमा एक भन्दा बढी बच्चाको कमै मात्र जन्म हुने गरेको छ । शिशु मृत्यु दरमा भने अफगानिस्तान अग्रस्थानमा छ ।

Wednesday, January 25, 2012

सरकार पूर्णरुपमा विफलः पाण्डे

११ माघ, चितवन ।
 एमाले पोलिट्ब्युरो सदस्य सुरेन्द्र पाण्डेले शान्ति र संविधानको अभिभारा पूरा गर्न नसकेकाले वर्तमान सरकार पूरै विफल भइसकेको दाबी गर्नुभएको छ ।
प्रेस चौचारी नेपालले चितवनको भरतपुरमा आज गरेको पत्रकार भेटघाटमा पाण्डलेले सरकार असफल भइसकेकाले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गर्नुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पाण्डलेले सरकार आर्थिक लक्ष्यमा पनि असफल भएको टिप्णी गर्नुभयो । भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले सर्वसाधारण जनतालाई आहात दिएको पाण्डेको भनाइ छ ।
उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमा भाउ बढे पनि जनताको जीजनस्तरलाई हेरेर सरकारले सस्तोमा उपलव्ध गराउनुपर्ने बताउनुभयो । अर्को एक प्रसंगमा नेता पाण्डेले माओवादी नेतृत्वको वर्तमान सरकारले जनयुद्धकालमा स्थानीय जनसत्ताले गरेका जग्गापास लगायतका निर्णयलाई मान्यता दिएकामा आपत्ति जनाउनुभयो ।

विद्यार्थीद्वारा मूल्यवृद्धि फिर्ताको माग गर्दै उपत्यका बन्द(फोटो फिचरसहित)

११ माघ, काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका १३ विद्यार्थी संगठनले पूर्वघोषित संघर्षका कार्यक्रमअनुसार आज उपत्यका बन्दको आहृवान गरेका छन् ।
सरकारले मूल्य समायेाजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा मंगलबार समिति गठन गरे पनि विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै मूल्यवृद्धि फिर्ताको माग कायमै राखेर बन्द आहृवान गरेका हुन् । बन्दका कारण उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । उपत्काबाट बाहिरिने तथा भित्रिने कुनै पनि यातायातका साधन चलेका छैनन् भने बजार-पसल र शिक्षणसंस्था ठप्प छन् ।
बन्दकर्ताले विभिन्न क्याम्पस अगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, बारुण यन्त्र, प्रेस, विवाह तथा दूध ढुवानीका सवारी साधन सञ्चालनमा भने अवरोध नपुर्‍याइने बन्दकर्ताले जनाएका छन् । सरकारले सुरक्षालाई मध्यनजर गर्दै राजधानीका सडक, कूटनीतिक नियोग तथा उच्चपदस्थ सरकारी अधिकारीहरुका निवास अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । विद्यार्थी संगठनहरुले आजको बन्दपछि पनि सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी निर्णयबाट पछि नहटे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी छन् ।