सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 27, 2012

यस वर्ष लोडसेडिङ १४ घण्टाबाट बढ्दैनः उर्जामन्त्री


१३ माघ, काठमाडौं । उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष लोडसेडिङ दिनको १४ घण्टाभन्दा बढी नहुने दावी गर्नु भएको छ ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उर्जामन्त्री बोगटीले आइतबारबाट मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने जानकारी दिनुभयो ।
हेटौडा र दुहवीको थर्मल प्लान्ट संचालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाईनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्साङदी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी भइरहेको उहाँको भनाई छ । लोडसेडिङको आगामी दिनमा दैनिक ८ घण्टाभन्दा बढी लोडसेडिङ नहुने गरी आफूले १० बुँदे कार्ययोजना तयार पारेको भन्दै उहाँले आगामी मन्त्रिपरिषद बैठकबाट पारित गरेर कार्यान्वयनमा लैजाने बताउनु भयो । उहाँका अनुसार यसमा उत्पादकलाई सहुलियत दिने, ट्रान्समिसन लाइन निर्माण, चोरी र प्राविधिक चुहावट नियन्त्रण, स्टोरेज प्रोजेक्ट निर्माण लगायतका रहेका छन् ।
मन्त्री बोगटीले लोडसेडिङ अन्त्य गर्न भन्दै सरकारले डिजेल प्लान्ट स्थापनाको योजना ल्याएपनि कतैबाट सकारात्मक प्रतिक्रिया नआएकोले छाडेको बताउनु भयो ।
जलविद्युतको उत्पादनमा अहिले नै जोड नदिए आगामी वर्ष २१ घण्टासम्म लोडसेडिङ खेप्नु पर्ने भन्दै उहाँले सरकारले निर्माणाधिन रहेका करिब १३० मेघावाट विद्युत उत्पादन कार्यलाई सुविधा दिएर द्रुत रुपमा अगाडि बढाउने रणनीति लिएको बताउनु भयो । पश्चिम सेती आयोजना निर्माणका लागि चीनलाई पत्र पठाएको र केही दिनमा प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनु भयो ।

मन्त्री बोगटीले बुढी गण्डकीको सम्भाब्य अध्ययनका लागि टेण्डर आब्हान गर्ने तयारी भईरहेको त्यसैगरी माथिल्लो सेती, उत्तर गंगा र नरसिहघाट आयोजनाको पनि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment