१५ माघ, काठमाडौं ।
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले जनसत्ताले गरेको जग्गासम्वन्धि कामलाई बैधानिकता दिने निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताउनु भएको छ ।

अदालतमा विचाराधिन रहेको विषयमा निर्णय फिर्ताको माग लिएर संसद अवरुद्ध गर्नु विधीको शासन विरोधी भएको भन्दै उहाँले अदालतको निर्णय माओवादीले मान्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’सरकारले निर्णय फिर्ता लिनु हुँदैन, अदालतले गर्ने फैसला हामी मान्छौं ।’
जनताको समस्या समाधान गर्न गरेको निर्णयलाई काग्रेसले राजनीतिक जामा पहिनाएर विवाद उत्पन्न गरेको भन्दै गजुरेलले जनसत्ताको कामलाई बैद्यानिकता दिदा जनसत्ता फेरि कुनै पनि हालतमा नब्यूतिने दावी गर्नुभयो । उहाँल स्वेच्छिक अवकासमा जाने लडाकूहरुलाई तत्कालै विदा गर्न पार्टी तयार रहेको भन्दै उहाँले एक दुई दिनमै विदा गर्ने बताउनु भयो ।
तमलोपा नेपालका अध्यक्ष एवं सिचाई मन्त्री महेन्द्र यादवले मधेसी मोर्चाबाट सरकारमा गएका सबै मन्त्रीको सहमतिमा निर्णय भएको भन्दै फिर्ता नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय मोर्चाको समर्थनमा भएको हो, विजय गच्छदार वा अरु कसैले बोल्दैमा केही हुँदैन ।’ रुकुम, रोल्पा र जाजरकोट सहित चार जिल्लाका किसानको समस्या समाधान गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै मन्त्री यादवले किसानहरुलाई मालपोत दस्तुर मिनाहा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले जनसत्ताको जग्गासम्वन्धि कामलाई वैधानिकता दिने निर्णय खारेज नभए काग्रेसले सरकार ढाल्ने चेतावनी दिनुभयो । केसीले भन्नुभयो-’निर्णय फिर्ता नभए संसद अवरुद्ध गर्ने मात्रै होईन सरकार नै ढाल्छौं ।’ सरकारको निर्णय लोकतन्त्र र विधीको शासन विरोधी भएकोले यसविरुद्ध सबै लोकतन्त्रबादी दलहरु एक ठाँउमा आउने उहाँको भनाई छ । सरकारको निर्णय सत्ता कब्जाको रणनीति अनुसार नै आएको भन्दै उहाँले सर्वसत्ताबादी शासन लागू गर्ने योजना कांग्रेसले असफल पार्ने बताउनु भयो । एमाले नेता रघुवीर महासेठले प्रधानमन्त्रीले आफ्नो सत्ता लम्ब्याउन र पार्टीलाई फुटबाट बचाउन जनसत्ताको कामलाई बैद्यानिकता दिने निर्णय गरेको बताउनु भयो ।
No comments:
Post a Comment