सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 31, 2012

वर्ष घोषणा : हल्ला ठूलो, कार्यान्वयन सुस्त

१७ माघ, काठमाडौं ।
 नेपाल पर्यटन वर्ष सकिन नपाउँदै लुम्बिनी भ्रमण वर्षले चर्चा पायो, यसबारे धेरैले थाहा नपाउँदै फेरि सहकारी वर्ष शुरु भयो । सरकारका अनुसार लुम्बिनी भ्रमण वर्ष चाहिं राष्ट्रिय अभियान हो भने सहकारी वर्ष चाहिं संयुक्त राष्ट्रसंघको आहृवानमा भएको हो । लुम्बिनी भ्रमण वर्षभरी गौतमबुद्ध र लुम्बिनीबारे अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार पुर्याउने योजना छ । सहकारी वर्षभरी चाहिं सहकारीको महत्वबारे प्रचारप्रसार र आवश्यक ऐन कानुन निर्माण गर्ने तयारी छ । तर घोषणा र तयारी अनुसार काम भने देखिन सकेको छैन । पर्यटन वर्षमा जस्तै लुम्बिनी भ्रमण वर्ष र सहकारी वर्षमा पनि अन्तिम अवस्थामा मात्रै काम देखिने संकेत देखिन थालेको छ ।
उद्घघाटनमा मात्रै अल्झिएको लुम्बिनी भ्रमण वर्ष
पुस ३० गते राष्ट्रपति डाक्टर रामवरण यादवले औपचारिक शुरुवात गरेयता लुम्बिनी भ्रमण वर्षको लागि अरु केही काम अघि बढ्न सकेका छैनन् । लुम्बिनी भ्रमण वर्षमा गौतम बुद्धको शान्तिको सन्देश विश्वभर प्रवाह गरी लुम्बिनीलाई संसारकै बुद्धमार्गीको पवित्र स्थलका रुपमा चिनाउने उदेश्य छ । यसअवधिमा देशविदेशमा व्यापक प्रचारप्रसार गर्ने उल्लेख छ । तर प्रचण्ड सहितको टोली अलि पहिले नै अमेरिका पुगेर फर्केपछि अरु काम अघि बढ्न सकेको छैन । त्योबेला राष्ट्रसंघ महासचिवले लुम्बिनी भ्रमण वर्षको बारेमा निकै चासो राखेको भनिएपनि त्यसपछि केही नै भएको छैन । लुम्बिनी भ्रमण वर्ष सफल पार्न अहिलेदेखि नै आवश्यक संघसंस्थालाई जिम्मेवारी दिनुपर्ने पर्यटन व्यवसायीको माग छ ।

तर अहिलेसम्म त्यस्ता संघसंस्था तय भैसकेका छैनन् । ‘छिटै काम हुन्छ, कतिपय काम शुरु भैसकेका छन्’ पर्यटन बोर्डका योगेन्द्रमान शाक्यले भन्नुभयो -’पर्यटन वर्षको निरन्तरताकै रुपमा पनि लुम्बिनी भ्रमण वर्षलाई लिनुपर्छ ।’ पर्यटनबाट रोजगारी बढाएर गरिबी निवारण र आर्थिक समृद्धि हासिल गर्न सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ टुरिज्म भिजन अवधारणा पनि अघि सारिएको छ ।
सहकारीमा व्यापक सुधारको लक्ष्य
२०४८ सालपछि तीव्र रुपमा फस्टाएको सहकारी क्षेत्रको सुधारको लागि सरकारले तयारी गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई विश्व सहकारी वर्ष मनाउने निर्णय गरे अनुसार नेपालमा पनि माघ १३ गतेदेखि सहकारी वर्षको शुरुवात भएको हो । वर्षभरी सहकारीको नीतिगत सुधार र यसको महत्वबारे प्रचारप्रसार गरिने सहकारी विभागले जनाएको छ । ‘यस अवधिमा छुट्टै वचत तथा ऋण ऐन, सहकारी ऐन निर्माण लगायतका कार्यक्रम पनि हुनेछन्’ विभागका रजिष्टार सुदर्शन ढकालले बताउनुभयो ।
नेपालमा २०१३ सालमा चितवनको बखानपुरमा पहिलो सहकारी स्थापना भएपनि २०४८ सालमा सहकारी ऐन आएपछि मात्र औपचारिक रुपमा सहकारीको विकास भएको हो । अहिले देशभर २३ हजारभन्दा बढी सहकारी खुलेका छन् । सहकारीको संख्या बढेसँगै यसले विकृति फैलाएको आरोप पनि बढिरहेको छ ।

No comments:

Post a Comment