सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 26, 2012

वाईसीएल लडाकूले दर्जा निर्धारण अनुसार पैसा पाउने

१४ फागुन, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूले दर्जा अनुसार पैसा पाउने भएका छन् ।
माओवादी पदाधिकारीहरुको आइतबार बसेको बैठकले वाईसीएलमा रहेका लडाकूहरुको दर्जा निर्धारण गर्ने र आर्थिक प्याकेज दिने निर्णय गरेको हो । दर्जा निर्धारण गर्ने जिम्मा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ । बैठकपछि सचिव सिपि गजुरेलले भन्नुभयो-’वाइसिएललाई पार्टीले आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय भएको छ र त्यसका लागि उहाँहरुको पनि दर्जा निर्धारण गरिने छ ।’
शिविरका लडाकूअनुसार सेवा सुविधा र रकमको माग गरेपछि सजिलो गरी आर्थिक प्याकेज उपलब्ध गराउन वाईसीएलको पनि दर्जा निर्धारण गरिएको सचिव गजुरेलले जानकारी दिनुभयो ।
विप्लव र प्रभाकरले अध्ययन गरेर वाईसीएलका माग सम्बोधन गर्ने उपाय १८ गते बस्ने स्थायी समितिको बैठकमा पेश गर्ने पार्टी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कार्यालयले वाईसीएलमा रहेका लडाकूलाई प्रमाणपत्र पनि दिने छ ।
संविधानसभा निर्वाचन ताका लडाकूबाट वाईसीएलमा लगिएका लडाकूहरुले अवकासमा जाने लडाकू सरह सेवा सुविधा लगायतको माग राख्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरुले माग पूरा नभए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको घर घेर्ने चेतावनी दिएका छन् ।

गुप्ताको मुद्दालाई राजनीतिक रंग दिंदै मधेसी मोर्चा

१४ फागुन, काठमाण्डौ ।
 सत्तामा रहादा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्तालाई जेल पठाएपनि सत्ताधारी मधेसी मोर्चाले त्यसलाई राजनीतिक रंग दिन थालेको छ ।
गुप्ताले इजलासमै उपस्थीत भएर आफ्नो अपराध स्वीकारे पनि मधेसी मोर्चा भने गुप्तामाथि आरोप स्वीकार्न तयार छैन् । आइतवार सिंहदरवारमा बसेको मधेसी मोर्चाको वैठकले ‘सर्वोच्चको फैसला संघीयता लगायतका मधेसका मुद्धामा भइरहेको आन्दोलनलाई मत्थर पार्न भएको सिलसिलेबार प्रहार’ भनेको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भन्नुभयो-’गुप्तामाथि भएको फैसला मधेसमा भइरहेको आन्दोलनलाई मत्थर पार्न राज्यका निकायहरुबाट भइरहेको सिलसिलेवार प्रहार रहेको मोर्चाको निष्कर्ष छ ।’
मधेसी मोर्चाले गुप्ताको फैसलालाई उपराष्ट्रपतिको सपथ, मतदाता नामावली, नागरिकता वितरण, सेनामा मधेसीहरुको समूहगत भर्नाबारे सर्वोच्चले गरेको फैसलासाग जोडेको छ । मोर्चाले सर्वोच्चको फैसलालाई मधेस र मधेसी जनताको भावना विपरित भन्दै आएको छ ।
मधेसी मोर्चाले सर्वोच्चको फैसलालाई जनतामाझ पुर्‍याउन मधेसमा अभियान चलाउने निर्णय समेत गरेको छ । कर्णले भन्नुभयो-’सर्वोच्चको फैसला, चारबुादे सहमति कार्यान्वयन लगायतका विषयलाई लिएर हामी जनतामाझ जान्छौं ।’

चन्द्रबहादुर बिश्वकै होचा व्यक्ति भएको प्रमाणित (फोटोफिचर र भिडियो)

१४ फागुन, काठमाडौं ।
 ७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् ।
उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाण्डौं आइपुगेको थियो । टोलीले डाँगी संसारकै सबैभन्दा होचो र जिवितमा सबैभन्दा होचो व्यक्तिको प्रमाणपत्र दिएको छ ।
नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो । चन्द्रबहादुर जुनेरभन्दा ५.३ सेमी होचा छन् । उनको उचाई ५९.९ सेमी अर्थात २३.५ इन्च रहेको थियो । उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए ।
यो बुढ्यौलीमा बिश्व रेकर्ड कायम राख्न गिनिज बुकको सम्पर्कमा पुगेका चन्द्रले नयाँ रेकर्डबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको छ । प्रधानसम्पादक ग्लिन्डेले भने- गिनिज बुकको ५७ बर्षे इतिहासमा चन्द्र नै मापन गरिएका सवैभन्दा होचा ब्यक्ति हुन् ।’
चन्द्रको रहर के के ?
७२ बर्षको उमेरसम्म गुमनाम रहेका चन्द्रबहादुर गिनिज बुकले दिएको प्रमाणपत्रसँगै चर्चामा आएका छन् । प्रमाणपत्र पाएपछि चन्द्र संचारकर्मीमाझ निकै प्रफुलित देखिन्थे ।

सेनाको तीन पदमा राजनीतिक सहमति गर्ने माओवादी प्रस्ताव

१४ फागुन, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीले आफ्ना लडाकूका लागि माग गर्दै आएको बि्रगेडियर जर्नेलसहितका प्रमुख तीन पदमा राजनीतिक सहमति गर्न प्रस्ताव गरेको छ ।
प्रमुख तीन दलको आइतबार बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकू समायोजनपछि नेपाली सेनाको मातहतमा बन्ने महानिर्देशनालयको मुख्य तीन पद राजनीतिक सहमतिबाट टुङ्गो लगाउन प्रस्ताव गर्नु भएको हो । प्रचण्ड निकटका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले आनलाइनखबरसँग भन्नुभयो-’बि्रगेडियर जर्नेलसहितका तीन पदमा राजनीतिक सहमति गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’
कांग्रेस, एमाले र नेपाली सेनाले भने सेनाको स्थापित मापदण्ड अनुसार लडाकूलाई मेजरभन्दा माथिल्लो पद दिन नसकिने बताउँदै आएका छन् ।
अध्यक्ष प्रचण्डले समायोजनमा जाने लडाकूहरुका लागि नेपाली सेनाले प्रस्ताव गरेको ब्रजकोर्सको मापदण्ड पुनरावलोकन गर्नु पर्ने र घाइते तथा अपाङ लडाकूलाई थप सहायता दिनु पर्ने प्रस्ताव गर्नु भएको छ । प्रमुख तीन पद र बि्रजकोर्समा सहमति भए तत्काल समायोजन प्रक्रिया सुरु गर्न सकिने भन्दै प्रचण्डले समायोजन प्रक्रिया सुरु भएको २१ दिनभित्र लडाकूहरुको शिविर खाली गर्ने प्रस्ताव गर्नु भएको गजुरेलले वताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियाबारे बुँदागत रुपमा प्रस्ताव पेश गर्नु भएको थियो ।

Friday, February 24, 2012

खस-क्षेत्रीको पूर्वाञ्चल बन्द फिर्ता

१२ फागुन, झापा ।
 खस-क्षेत्रीलाई पनि आदावासी जनजातिमा सूचीकृत गरिनुपर्ने तथा खसान राज्य हुनुपर्ने लगायतका विभिन्न नौ सूत्रीय माग राखेर खस-क्षेत्री एकता समाजले आहृवान गरेको पूर्वाञ्चल बन्दको कार्यक्रम फिर्ता भएको छ ।
बन्द फिर्ता भएपछि पूर्वका १६ वटै जिल्लाको जनजीवन सामान्य भएको छ । झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका जिल्लामा बिहानैदेखि यातायतका साधन पूर्ववत अवस्थामा चलेका छन भने बजारपसल तथा शिक्षण संस्था पनि खुलेका छन् । समाजले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिने भन्दै बिहीबारदेखि तीन दिनसम्म पूर्वाञ्चल बन्दको घोषणा गरेको थियो ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बन्द फिर्ता लिन तथा वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै समाजलाइ बिहीबारै पत्राचार गरेको थियो । पत्रलाई सकारात्मक रुपमा लिँदै बन्दलगायतका आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको समाजले जनाएको छ ।

५० घण्टा किस गरेर विश्व किर्तिमान


थाइल्याण्डमा गएको भ्यालेन्टाइन डे को अवसरमा एक समलिंगी पुरुष जोडीले लगातार २ दिनभन्दा बढि समयसम्म चुम्बन गरेर विश्व किर्तिमान कायम गरेको छ । उक्त जोडिले ५० घण्टा भन्दा बढिसम्म लगातार किस गरेर गिनिज बुकमा नाम लेखाएको हो ।
आइतबार बिहान थाइल्याण्डको पटाया सामुदि्रक किनारामा सुरु भएको किसिङ म्याराथनमा उक्त जोडीले एकैठाउँमा बसेर लगातार ५० घण्टा २५ मिनेट १ सेकेण्डसम्म ओँठ जोडेको हो ।
प्रतियोगितामा भाग लिनेहरुले नली मार्फत नै मुखसम्म पूराएर खाना र पानी खानुपथ्र्यो तर खानको लागि दुइजनाले जोडिएका ओँठ छुटाउन पाइन्नथ्यो । उनीहरु ट्वाइलेट जाँदा पनि मुख जोडेको जोड्यै सँगै एउटै ट्वाइलेटमा जानुपथ्र्यो, त्यो पनि रेप|mीसँगै ।
पछिल्लो किर्तिमान राख्ने ३१ वर्षका नोन्तावात जारोगेनासोरनसिन र २८ वर्षका थानाकर्न सिट्टीम्थोंग हुन् । प्रतियोगितामा पहिलो भएर विश्वरेकर्ड समेत कायम गरेबापत उनीहरुलाई जनही १ लाख भाट पर्ने हिराको औँठी तथा २ लाख भाट नगद पुरस्कार प्रदान गरिएको छ ।

जन्तीबस दुर्घटनामा बेहुलासहित २२ घाइते

१२ फागुन, सिन्धुपाल्चोक ।
 सिन्धुपाल्चोकको बाँसबारी गाविस-९ धुन्चेमा शुक्रबार बिहान जन्तीबस दुर्घटना हुँदा त्यसमा सवार बेहुलासहित २२ जना घाइते भएका छन् ।
जन्ती सवार बा. २ ख २९३९ नम्बरको बस बाँसबारी सडक खण्डको धुन्चेमा अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि राजधानी ल्याइएको छ । अन्य घाइतेको स्थानीय मेलम्ची अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा बसेको छतमा बसेको अधिकांश यात्रु घाइते भएको बताइएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँधुरो सडकमा क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना भएको प्रहरले प्रारम्भिक अनुमान गरेको छ ।

नेपाल प्रहरीका असईद्वारा गोली हानी आत्महत्या

१२ फागुन, उदयपुर । 
उदयपुरमा नेपाल प्रहरीका एक सहायक निरीक्षकले आफैंले बोकेको पेस्तोलले गोली हानी आत्महत्या गरेका छन् ।
जिल्लाको उत्तरपूर्वी जालपा चिलाउने गाविस -५ मा रहेको अस्थायी प्रहरी पोष्ट सुकौराका प्रमुख सहायक निरीक्षक बलबहादुर राउतले बिहान करिब ६ बजेको समयमा प्रहरी पोष्टभित्रै गोली हानी आत्महत्या गरेका हुन् । घटनालगत्तै आत्महत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालय उदयपुरले आत्महत्या नभई हतियार सरसफाई गर्ने क्रममा अचानक पेस्तोल पडि्कएर उनको मृत्यु भएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र खड्काले आत्महत्या नभई हतियार सफा गर्ने क्रममा पड्किएको दाबी गर्नुभयो । ‘आत्महत्या हो कि भन्ने कुरा आएको थियो’, खड्काले अनलाइनखबरसँग भन्नुभयो, ‘तर, सफा गर्ने क्रममा अचानक पेस्तोल पड्किएर घटना भएको रहेछ ।’ राउतको पेटमा एक राउण्ड गोली लागेको बताइएको छ । खड्काका अनुसार राउतको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

प्रमुख तीन दलबाट विवादित विषय टुग्याउन जिम्मेवारी बाँडफाँट

१२ फागुन, काठमाडौँ ।
 शान्तिप्रक्रिया, संविधान लेखन र संयुक्त राष्ट्रिय सरकार गठनलगायतका विषयमा प्याकेजमा सहमति जुटाउने प्रयासमा रहेका प्रमुख तीन दलले विवाद समाधानका लागि जिम्मेवारी बाँडफाँट गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले शान्ति, संविधान र सत्य निरुपण तथा मेलमिलापलगायतका आयोग गठनका सम्बन्धमा बेग्लाबेग्लै प्रस्ताव ल्याउन तीनै दलका नेतालाई जिम्मेवारी दिएको हो । बैठकले माओवादी अध्यक्ष प्रचण्डलाई शान्तिप्रक्रिया र सेना समायोजन, नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई यसअघि सहमति भएअनुसारका सत्य निरुपण तथा मलमिलापलगायतका आयोग गठन र संविधान लेखनका विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको छ ।
एमाले नेता नेपाले भोलिको बैठकमा आ-आफ्नो जिम्मेवारीमा रहेका विषयमा प्रस्ताव पेस गर्ने बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । नेता नेपालले बैठक सकारात्मक भएको प्रतिक्रिया दिँदै एक साताभित्रमा विवादित सबै विषयमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले माओवादी विषेश समितिको निर्णय अनुसार लडाकुका आधार शिविर तत्काल खाली गर्ने विषयमा सकारात्मक देखिएको बताउनुभयो । यसअघि हिजो बसेको तीन दल बैठकले नेपाली सेनाले प्रस्ताव गरेको लडाकु समायोजनसम्बन्धी प्रस्ताव, संविधान लेखनका क्रममा देखिएका विवाद कम गर्ने तथा संयुक्त राष्ट्रिय सरकार गठनको विषयमा सहमति कायम गर्ने जिम्मेवारी शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

यही सरकारको नेतृत्वमा शान्ति र संविधानः मन्त्री पुन


१२ फागुन, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारकै नेतृत्वमा शान्ति र संधिवान लेखन प्रक्रियाले पूर्णता पाउने दाबी गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ रोल्पाले शुक्रबार लिवाङमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले दलहरुबीच यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल चलिरहेको बताउनुभयो । दलहरुबीच शान्तिप्रक्रिया, संविधान लेखन र राष्ट्रिय सहमतिलगायतका मुलभूत विषयमा समाधान खोज्ने प्रयासमा भइरहेका छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको मन्त्री पुनको भनाइ थियो । मन्त्री पुनले दलहरु सहमति नजिक पुगेको र केही दिनमै सहमति हुने बताउनुभयो ।
माओवादी स्थायीसमिति सदस्य र सेनासमायोजन विशेष समितिका सदस्यसमेत मन्त्री पुनले सेना समायोजनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । सञ्चारकर्मीको एक जिज्ञाशामा मन्त्री पुनले द्वन्द्वकालमा विस्थापित गाउँगँउाका बाणिज्य बैंकहरु पुनःसञ्चालनको तयारीमा अर्थ मन्त्रालय लागेको मन्त्री पुनले बताउनुभयो ।

विद्युत र्सट हुँदा ९ पसलमा आगलागी

१२ फागुन, दाङ ।
 दाङको तुलसीपुरमा विद्युत सर्ट हुँदा गएराति भएको आगलागीमा नौ वटा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
आगलागीबाट लाखौंको धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तलुसीपुरको मुख्य चोक बीपी बजारमा गएराति १० बजेको समयमा भएको आगलागीमा ती पसलमा क्षति पुगेको हो । आगलागी भएको दुई घण्टामा स्थानीय र प्रहरीले घोराही नगरपालिकाको बारुण यन्त्रको सहारामा आगो नियन्त्रणमा लिएका थिए । व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण आगलागी भएको आरोप लगाएका छन् ।
घटनाको विरोधमा तुलसीपुर उद्योग बाणिज्य संघको आहृवानमा व्यवसायीले बजार बन्द गराएका छन् । उनीहरुले विद्युत लाइन सर्ट नहुने गरी व्यवस्थित गर्न तथा तुलसीपुर नगरपालिकामा बारुण यन्त्रको व्यवस्था गर्न माग गरेका छन् ।

Thursday, February 23, 2012

गुरुङ समूहले देउवा क्याम्प छाड्यो


११ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कुलबहादुर गुरुङ नेतृत्वको समूहले वरिष्ठ नेता शेरबहादुर देउवाको क्याम्प छाडेको छ । पूर्व महामन्त्री समेत रहेका गुरुङसँगै गोविन्दराज जोशी, विनयध्वज चन्द, सुनिल भण्डारी र अम्बिका बस्नेतले देउवा क्याम्प छाडेका हुन् । गुरुङ समूहले क्याम छाडेसँगै देउवा पक्ष केही कमजोर हुने भएको छ ।
कांग्रेसको कट्टपन्थी समूह भनेर चिनिने गुरुङ समूहले १२ औं महाधिवेशनपछि वरिष्ठ नेता देउवालाई साथ दिँदै आएको थियो । ‘पछिल्लो समय हामीले एजेण्डाका आधारमा देउवालाई सर्मथन गरेका थियौं’ चन्दले अनलाइनखबरसँग भन्नुभयो-’अहिले हामी कसैको पक्षमा छैनौं ।’ आफूहरु पार्टी एकताको पक्षमा रहेको भन्दै चन्दले एजेण्डाका आधारमा जसलाई पनि समर्थन गर्ने बताउनुभयो ।
पार्टी संकटमा रहेको र वीपीले अघि सारेका बिचारहरु ओझेलमा परेको भन्दै गुरुङ समूहले पार्टी एकताको पक्षमा देश दौडाह गर्ने तयारी गरेको छ । चन्दले भन्नुभयो-’अब हामी गुरुङको नेतृत्वमा देश दौडाहमा जाँदैछौं । अन्तिम तयारी चलिरहेको छ ।’ देशका सबै जिल्लामा पुगेर पार्टी एकताको पक्षमा पहल गर्ने गुरुङ समूहको तयारी छ ।

मरेपछि पनि २ चोटी बिहे !!!

आखिर मान्छे जिउँदो रहँदा सम्म नै हो मोजमस्ती गर्ने र कीर्तिमान राख्ने । चाहना भयो भने १ सय वर्षको उमेर काटेपछि पनि मान्छेले बिहे गर्छ । तर यो दुनियाँमा यस्तो पनि हुँदोरहेछ जहाँ मरिसकेको मान्छेले पनि बिहे गर्छ, त्यो पनि दुइ-दुइ पटक ।
यस्तै भएको छ चीनमा । जहाँ एक महिलाले मरिसकेपछि पनि दुइजना सँग बिहे गरेकी छिन् । वास्तवमा चीनमा वर्षेनी हुने वसन्त पर्वको बेला मृतकहरुबीच परम्परागत बिहे गरिदिने चलन छ जसलाई यिन विवाह भनिन्छ । यो पालाको यिन विवाहमा एक युवतीको शवले दुइ जना पुरुषको शवसँग बिहे गर्ने अवसर पायो ।
dead.jpg (270×300)आफ्नो परिचय बताउन नचाहने उ थरको एक परिवारले आफ्नी छोरीको शव परम्परागत बिहेको निम्ति लिउ थरको परिवारलाई ३५ हजार युआनमा बेचेको थियो । लिउ थरको परिवारले उक्त युवतीको शव किनेर आफ्नो मृतक छोराको शवसँग बिहे गरिदियो र परम्परा अनुसार एकै चिहानमा गाडियो । ग्लोबल टाइम्समा छापिएको खबर अनुसार यसरी चिहानमा सँगै गाडिएको अर्को दिन नै कोही व्यक्ति आएर चिहान खोसि्रएर युवतीको शव चोरेर लगेछ । चिहान खोसि्रएको र त्यहाँबाट युवतीको शव निकालिएको देखेपछि मृतक केटाका परिवारले प्रहरीमा उजुरी गरेछ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले युवतीको लास चोर्ने ५ जनालाई पक्राउ गर्यो । पछि थाहा भयो की ति मानिसहरुले युवतीको शवलाई चोरेर ३० हजार युआनमा बेचिसकेका रहेछन् । आफ्नो मृतक छोराको बिहे गरिदिन युवतीको शव खोजिरहेको ली थरको एक परिवारले उक्त युवतीको शव किनेको रहेछ र बिहे सम्पन्न गरिसकेछ । प्रहरीले शव चोरी गर्नेमाथि कारवाहीको प्रक्रिया चलाएको छ । एकचोटी बिहे भैसकेको शव आफुलाई बेचेको भन्दै ली थरको परिवार चोरहरुप्रति आक्रोसित भएको खबर छ । परम्परा धान्न शवको पनि किनबेच हुने कस्तो अचम्म ।एजेन्सीको सहयोगमा

जन्ती वस दुर्घटना हुँदा तीनको मृत्यु

११ फागुन, दाङ । 
दाङको लमहीमा जन्ती वोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । देउखुरीको चैलाही-३, देउपुरवाट दुलही लिएर सोही गाविसको भैसकोर्मा र्फकदै गरेको ना ३ ख १५०८ नम्वरको वस लमहीको चौराहामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चैलाही-३ देउपुरका १९ वषिर्य विनोद चौधरी, चैलाही-७, भैसकोर्माका २० वषिर्य शिवनारायण चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । अन्य एकजनाको भने नाम र ठेगाना भने खुल्न सकेको छैन्। दुर्घटनामा दुलाह र दुलही भने सकुसल रहेका छन्।  दुर्घटनामापरि घाइते हुनेहरुमा चैलाही-७ भैसकोर्माका दोरण चौधरी, भैसकोर्माकै २१ वषिर्य सोमराज चौधरी, बाँके तिरीयाँ-४ का ३१ वषिर्य सत्रधन कुमाल, चैलाही-३ देउपुरका १४ वषिर्य सुमती चौधरी, चैलाही-७ भैसकोर्माका १६ वषिर्य समिर चौधरी, चैलाही-३ देउपुरका १८ वषिर्य सनजय चौधरी, भैसकोर्माका २५ वषिर्य दिनेश चौधरी घाईते भएका छन्।
क्षमता भन्दा वढी यात्रु वोकेको र बसको गति तिव्र भएकाले सन्तुलन गुमाई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लमहीका प्रमुख वेदप्रकास जोशीले जानकारी दिनु भयो ।

लडाकू समायोजन नभई अन्य प्रक्रिया अघि बढ्दैनः कांग्रेस-एमाले

११ फागुन, काठमाडौं । 
विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले लडाकू समायोजन र हतियार व्यवस्थापन नभएसम्म संविधान निर्माण प्रक्रिया बढ्न नसक्ने अडान लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेस र एमालेले सातबुँदे सहमति अनुसार शान्ति प्रक्रिया अघि बढ्न नसकेको भन्दै लडाकू समायोजन र हतियार व्यवस्थापन नभएसम्म संविधान निर्माण प्रक्रिया बढ्न नसक्ने बताएका छन् । ‘सातबुँदे सहमति अनुसार अहिले पनि शान्ति प्रक्रियाका कामहरु भएका छैनन’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भन्नुभयो-’पहिले शान्ति प्रक्रियाका काम गरौं, माओवादी पूर्ण रुपमा हतियार र लडाकूबाट अलग नभएसम्म अन्य प्रक्रियाले गति लिन सक्दैन ।’ बैठकमा कांग्रेस र एमालेले विशेष समितिमा छलफल नै नगरी अपाङ तथा घाइते लडाकूहरुलाई थप राहत दिने निर्णय मान्य नहुने बताएका छन् ।
माओवादीले भने शान्ति प्रक्रिया अघि बढिरहेको भन्दै शान्ति र संविधान निर्माण दुबैलाई सँगसँगै लैजानु पर्नेमा जोड दिएको छ । ‘शान्ति प्रक्रिया अघि बढिरहेको छ, यससँगै संविधान निर्माणलाई पनि लैजानु पर्छ भन्ने हाम्रो भनाई हो’-माओवादी नेता देव गुरुङले अनलाइनखबरसँग भन्नुभयो ।
बैठकमा सहमतीय सरकार गठनबारे छलफल भए पनि कुनै सहमति हुन सकेन । बैठकले शान्ति, संविधान र सरकारबारे प्याजेजमा सहमतिका लागि थप गृहकार्य गर्ने र छलफललाई निरन्तरता दिने जिम्मा तीन दलका प्रमुख तीन नेतालाई दिइएको छ ।

सरकार ढाल्न मधेसी मोर्चालाई फकाउँदै एमाले

११ फागुन, काठमाडौं ।
 नेकपा एमालेले वर्तमान सरकार ढाल्न प्रमुख सत्ता घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउन थालेको छ । मधेसी मोर्चाको समर्थन रहेसम्म वर्तमान सरकार नढल्ने र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा पनि नदिने भएपछि एमालेले मधेसी मोर्चाको सहयोग लिने प्रयास थालेको हो ।
एमाले नेता केपी शर्मा ओलीले बिहीबार मोर्चाका नेता एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल गर्नु भएको छ । ‘यो सरकारको औचित्य समाप्त भइसकेकोले सहमतीय सरकार गठनबारे छलफल भएको हो’ ओली निकटका एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’राष्ट्रिय सहमतिको सरकार गठन गर्न गच्छदार पनि सहमत हुनु भएको छ ।’
वर्तमान सरकार ढाल्न एमालेले मधेसी मोर्चालाई फकाएको हो भन्ने प्रश्नमा उहाँले यो सरकारलाई अब कसैले जोगाउन नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’यो सरकारले फागुनको दोस्रोदेखि तेस्रो साता कट्दैन । अब राष्ट्रिय सरकार बन्छ ।’

गुप्ताको पतनपछि उपेन्द्र कि गच्छदार हिरो ?

११ फागुन, काठमाडौं ।
 जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल जाँदा अरुलाई भन्दा बढी खुशी उपेन्द्र यादवलाई बनाएको छ । एकजना भ्रष्टाचारी जेल परे भनेर मात्रै उनलाई सन्तोष लागेको होइन ।
आफूलाई धोका दिंदै पार्टी फुटाएर गएको मान्छे बल्ल ठेगान लाग्यो भनेर उनलाई गद्गद् बनाएको हो । संविधानसभा चुनावमा मधेसको सबैभन्दा ठूलो शक्ति भएर उदाएको आफ्नो पार्टीलाई स्वाट्सुट्टै चोइटाएर ठुटो बनाएको बदला लिने उपयुक्त अवसर भएको छ यादवलाई अहिले ।
त्यसैले उनी माऊबिहीन भएर छटपटाईरहेका फोरम गणतान्त्रिकका नेता कार्यकर्तालाई फकाई फुलाई गरेर घर फर्काउने दाउमा छन् । आफ्नो गिरेको साखलाई फेरि पुरानै ठाउँमा ल्याउन सकिन्छ भन्ने उनको आशा पलाएको छ । बाबुराम भट्टराईलाई साथ दिनकै लागि पार्टी फुटाएर सिंहदरबार कुदेका जेपीले मधेसका सबैलाई उछिन्दै हालिमुहाली गर्न थालेको बदला लिने बेला पनि यही हो ।
मधेसी राजनीतिमा ढिलो आएर पनि रजाईं गर्न सफल भएका जेपीको त्यो खाली ठाउँमा उभ्याउन यादव मात्रै होइन, विजयकुमार गच्छदार पनि कान ठाडा पार्दैछन् । एकातिर उपेन्द्रको पार्टी सहभागी नभएको मधेसी मोर्चाले पनि दह्रो नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस हुने देखिन्छ । यस्तो अबस्थामा जेपीको स्थान कसले लिन्छ भनी मधेसी पार्टीका नेता कार्यकर्ता अड्कलवाजी गर्न थालेका छन् ।

Wednesday, February 22, 2012

सरीर बाहिर मुटु भएपनि……(फोटो फिचर सहित)

जब रायन माक्विर्स जन्मिँदा उनको मुटु सरीर बाहिरै थियो, डाक्टरहरुमा उनी बाँच्ने आशा थिएन । सरीरको मुटुजस्तो संवेदनशील अंग सरीर बाहिर भएका बच्चा कि त जन्मिनुअघि नै मर्छन्, कि त जन्मेको २-३ दिन भन्दा बढि बाँच्दैनन् भन्ने चिकित्साशास्त्रको ठम्याइ हो ।
अझ रायनको मुटु एक त सरीर बाहिर थियो भने अर्कोतिर खासै विकशित पनि भएको थिएन, त्यसैले उनी बाँच्ने आशा मार्नु स्वभाविकै थियो । हुनत रायन जन्मनुभन्दा अगाडि नै डाक्टरहरुले भिडियो एक्सरे मार्फत चेकजाँच गर्दा उनको मुटुमा कमजोरी देखेपछि उनकी आमालाई गर्भपतन गर्न सल्लाह दिएका थिए, तर आमाले मानिनन् र जस्तो भएपनि बच्चा पाउँछु भन्ने अड्डी कसिन् ।
अन्ततः रायन जन्मिए, बाह्य मुटुको साथमा । वासिंटनको नेसनल मेडिकल सेन्टरमा ३० जना शल्यचिकित्सकले शल्यक्रिया गरेर बच्चा त निकाले तर पेन्सिल्भानियामा बस्ने हेनरी र उनकी श्रीमतीलाई आफ्नो छोरा जन्मिएपनि बाँच्न भन्ने लागेको थिएन । किनकी त्यस्तो समस्या भएको बच्चा कोहीपनि नबाँचेको भनेर डाक्टरहरु भन्थे । आखिर भाग्यले बाँच्न लेखेको छ भने कस्को के लाग्छ र ? जन्मेको दुइ हप्तामा उनको अप्रेशन गरियो, जुन सफलतापूर्वक सम्पन्न भयो र उनको मुटु छातिभित्रको सही ठाउँमा राखियो । मुटुको आकारप्रकार, धड्कन लगायतका सबै कुरा मिलाउन उनी दुइ वर्षको हुन्जेलसम्म झण्डै १ दर्जनपटक अप्रेशन गरियो र अन्ततः उनी सामान्य बालक जस्तै बने ।
अहिले झण्डै ३ वर्ष पुगेका रायन पूर्ण रुपमा स्वस्थ छन् । धेरैपटक शल्यक्रिया गरिएको र मुटुमा बाह्य कोषिका समेत राखिएकाले उनले छातिको विशेष हेरचाह गर्नुपर्छ । तर अरु स्वास्थ्य सामान्य भएको उनका बुवा हेनरी बताउँछन् । रायनका दुइ जना दिदी छन् जसमध्ये नतालीको उमेर ७ वर्ष र एइन्स्लेको उमेर ५ वर्ष छ ।
एजेन्सीको सहयोगमा

फोरम गणतान्त्रिकले गुप्तालाई निलम्बन गर्ने

१० फागुन, काठमाडौँ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहरसहित जेल चलान गरेका पार्टी अध्यक्ष पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई निलम्बन गर्ने भएको छ ।
jp-gupta.jpg (169×169)सहअध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बुधबार बिहान शंखमूलस्थित पार्टी केन्द्रीय कार्यलयमा बसेको पदाधिकारीको आकस्मिक बैठकले गुप्तालाई निलम्बनको औपचारिक निर्णयका लागि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समितिले गुप्तालाई निलम्वन गरेपछि सह-अध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने बुझिएको छ । ‘सर्वोच्चले भ्रष्टाचार ठहर गरी जेल चलान गरिसकेकाले उहाँलाई अध्यक्ष पदमा राखिरहनुको औचित्य रहेन ।
सम्भावतः भोलि उहाँलाई पार्टीको सबै जिम्मेबारीबाट निलम्बनको निर्णय हुनेछ’, सहमहासचिव एकवाल अहमदले अनलाइनखबरसँग भन्नुभयो । फोरम गणतान्त्रिकले आफ्ना बैठकका लागि फोरम गणतान्त्रिकले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई राजधानी बोलाएको छ । आज साँझसम्ममा बाहिर रहेका केन्द्रीय सदस्यहरु राजधानी आइपुग्ने र बिहीबार केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ । गुप्ता जेल चलान भएलगत्तै पदाधिकारीहरुको अनौपचारिक छलफले आज पार्टी बैठक डाकेको थियो । बैठकले अध्यक्ष गुप्तामाथि लागेको भ्रष्टाचारको अभियोगका सम्बन्धमा पार्टीको आधिकारीक धारणाका साथै उनको अनुपश्थितिमा पार्टीको भावी रणनीति तय गर्ने विषयमा निर्णय लिने बताइएको छ । ‘राजधानी बाहिर रहेका सबै केन्द्रीय सदस्यहरुलाई काठमाडौँ बोलाएका छौँ’, नेता आत्मरामप्रसाद साहले अनलाइनखबरसँग भन्नुभयो’, आज साथीहरु आएपछि भोलि केन्द्रीय समितिको बैठक हुन्छ ।’

केही हप्तामा सेना समायोजन प्रक्रिया निष्कर्षमा पुग्छः प्रचण्ड

१० फागुन, पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही हप्तामा सेना समायोजन निष्कर्षमा पुग्ने दावी गर्नु भएको छ ।
अबकास रोजेका लडाकूहरुको विदाई सकिसकेको भन्दै उहाँले अब समायोजन प्रक्रिया सुरु हुने बताउनु भयो ।
१७ औ जनयुद्ध दिवस मनाउने क्रममा गत फागुन १ गते काठमाडौंमा दुर्घटनामा परि ज्यान गुमाएका प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकालको श्रद्धाञ्जली सभामा प्रचण्डले भन्नुभयो-’सेना समायोजन प्रक्रियाको पनि हामी अन्तमा छौं, अव केही हप्तामा नै निष्कर्ष निस्कन्छ ।’
माओवादी अध्यक्ष प्रचण्डले सविधान लेखन प्रक्रिया पनि छिट्टै निष्कर्षमा पुग्ने भन्दै ढुक्क हुन आग्रह समेत गर्नुभयो । अव वन्ने सविधान जनभावना अनुसारको हुने भन्दै उहाँले भन्नुभयो-’सविधान लेखन प्रक्रिया निष्कर्षमा पुग्ने वातावरण बन्छ ढुक्क हुनुहोस् ।’
उहाँले स्वर्गिय ढकालले लेखेका विभिन्न कृतिहरु प्रकाशन गर्न माओवादी पार्टीले सहयोग गर्ने र पोखराको शहीद स्मृति पार्कमा शहीदसम्बन्धी पुस्तकालय निर्माणको लागि पहल गर्ने आश्वासन दिनुभयो । ढकालका परिवारले शहीद पार्कमा शहिदसम्बन्धी पुस्तकालय बनाउने ढकालको सपना पुरा गर्न र उनीद्धारा लिखित केही कविताहरुलाई पोखरा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह गरेको थियो ।

गुप्तापछि अब पालो कसको ?

१० फागुन, काठमाडौं ।
 ९ वर्षअघि भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ ।
पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सर्बोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाएपछि अब यसअघि मुद्दा परेका अरु नेता र कर्मचारीको पनि पालो आउने भएको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार छिटै पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, गोबिन्दराज जोशी, पूर्व प्रहरी प्रमुखहरु मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल लगायतको फैसलाको तयारी हुँदैछ । २०५९ सालपछि मुद्दा परेका उनीहरुलाई प्रमाण नपुगेको भन्दै विशेष अदालतले गुप्तालाई जस्तै सफाई दिएको थियो ।
गुप्ताकै मुद्दामा जस्तै भ्रष्टाचार गरेको रकममा बढि मूल्याड्कन गर्नुका साथै म्याद गुज्रेको भन्दै उनीहरुलाई बिशेष अदालतले सफाई दिएको थियो । गुप्तालाई मात्रै हैन, गुप्ताको बिषयमा फैसला गर्ने न्यायाधीशलाई पनि कारवाही गर्न निर्देशन भएकाले त्यस्तै प्रकृतिका अन्य मुद्दामा पनि अदालतले गुप्ताकै जस्तो फैसला गर्ने सम्भावना बढि छ ।
‘जनदबाबका कारण अब भ्रष्टाचार गर्ने कोही पनि उन्मुक्ति हुने अवस्था छैन’ भ्रष्टाचारको विषयमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार हरिबहादुर थापाले भन्नुभयो । न्यायालय र न्यायाधीशहरुले यो कुरा राम्ररी बुझेकाले अब कसैले पनि छुटकारा नपाउने उहाँले बताउनुभयो । तर सबै वाग्ले र गुप्ता झैं जेल नै जान्छन् भन्ने पनि छैन । ‘अभियोग लागेका सबै भ्रष्टाचारी ठहरिन्छन् भन्ने छैन’ अर्का पत्रकार विकास भट्टराईले भन्नुभयो -’प्रमाण पुगेकाहरु त जेल गइहाल्छन्, तर सबैको प्रमाण पुग्छ भन्ने हुँदैन ।’

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर ? (फोटो फिचरसहित)

१० फागुन, काठमाडौं । चन्द्रबहादुर डाँगी आफू विश्वको होचो व्यक्ति भएको दावी गर्दै काठमाडौं आइपुगेका छन् । विभिन्न विषयमा विश्व किर्तिमानको प्रमाणपत्र दिने गिनिज वल्र्ड रेकर्डका पदाधिकारी यसैसाता काठमाडौं आउने भएपछि डाँगी बुधबार काठमाडौं आएका हुन् ।
डाँगीको उचाइ नाप्न गिनिजका अधिकारी नेपाल आउने निष्कर्षमा पुगेका गिनिज वल्र्ड रेकर्डको आधिकारिक वेबसाइटले पनि जनाएको छ । नेपालमा आएर डाँगीको स्वास्थ्य परिक्षण तथा उचाइको आधिकारिकताको विषयमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुसँग परामर्श थालिएको वेबसाइटमा उल्लेख छ ।
७२ वर्षका डाँगीको उचाई ५६ सेन्टिमिटर अर्थात २२ इन्च दाबी गरिएको छ । विश्वको सबैभन्दा होँचो व्यक्तिको रुपमा अहिले फिलिपिन्सका जर्नी बालाविङ रहेका छन् र उनको उचाइ २३.५ इन्च छ । महिलाको हकमा भने २४.७ इन्च अग्ली भारतकी ज्योती अम्गे सबैभन्दा होँची महिलाको रुपमा रहेकी छिन् ।

म बाधक होइन, साधक बन्छुः प्रधानमन्त्री

१० फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नभई साधक बन्ने बताउनुभएको छ ।
माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग बुधबार भएको भेटमा त्यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री भट्टराई उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो । ‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि आफ्नो स्पष्ट अडान राख्दै आएको छु’, भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पार्टीले सरकारमा पठाएर गएको हुँ’, फिर्ता बोलाएको खण्डमा जुनसुकै बेला राजीनामा दिन तयार छु ।’ तर, राष्ट्रिय सहमतिको सरकार गठन तथा शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म सरकार छोड्न नहुनेमा भट्टराईको जोड थियो । पार्टी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने वातावरण नभएसम्म राजीनामा दिनुको औचित्य नहुने प्रधानमन्त्रीले बताउनुभएको थियो ।
प्रधानमन्त्री भट्टराईले वैद्य पक्षले यथास्थितिमा सरकार छोड्न दबाब दिइरहेको भन्दै त्यसबारे अध्यक्ष प्रचण्डसँग स्पष्टता माग गर्नुभएको थियो । जवाफमा प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण तयार नुहँदासम्म सरकारबाट बाहिरिने कुरामा आफ्नो असहमति रहेको तर, राष्ट्रिय सहमतिको वातावरण बनेको अवस्थामा भने पार्टी बाधक बन्न नहुने बताउनुभएको स्रोतले जानकारी दिएको छ । लाजिम्पाट स्रोतका अनुसार अध्यक्ष प्रचण्डले वाइसीएलमा रहेका पूर्वलडाकुलाई राहत दिने विषयमा सोच्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले राज्यकोषबाट वाइसीएललाई रकम दिन नसकिने स्पष्ट गर्दै उनीहरुलाई सामुहिक श्रममा लगाउनुपर्ने बताउनुभएको थियो । त्यसका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने भट्टराईको भनाइ थियो ।

Saturday, February 18, 2012

दैलेखमा बैद्य पक्षले प्रधानमन्त्रीको पुत्ला जलाए

६ फागुन, दैलेख ।
 सत्तारुढ एकीकृत नेकपा माओवादीको मोहन बैद्य किरण पक्षले दैलेखमा आफ्नै पार्टीका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला जलाएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने वन भारतीय कम्पनी जीएमआरलाई दिएको विरोधमा बैद्य पक्षीय कार्यकर्ताले सदरमुकाममा भट्टराईको पुत्ला जनाएका हुन् ।
पुत्ला दहनपछि माओवादी केन्द्रीय सदस्य एवं भेरी कर्णाली राज्य समितिका सहइन्चार्ज हर्कबहादुर शाहीले जीएमआरलाई वन दिने निर्णय राष्ट्रघाती भएको बताउनु भयो । भट्टराई आफ्नै पार्टीका नेता भएपनि भारतपरस्त र विस्तारबादको दलाल भएको उहाँको अरोप छ ।
माओवादी कार्यकर्ताको समूहले गत जेठ ८ गते आयोजना स्थल पाल्तडामा रहेको जीएमआरको कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । त्यसपछि सुरक्षाको कारण देखाउँदै जीएमआरले आयोजनाको सम्पूर्ण काम स्थगित गरेको थियो । सरकारले सेनाको सुरक्षा दिने बताएपनि काम सुरु हुन सकेको छैन ।

देउवाले भने-तेलको मूल्य तिर्न नसक्नेले प्रान्त कसरी बनाउने ?


६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संघीयतामा गए देश तहसनहस हुने बताउनुभएको छ ।
प्रेस युनियनले शनिबार लमजुङको बेशीशहरमा गरेको कार्यक्रममा उहाँले अहिले भइरहेको संरचनालाई नै बैज्ञानिक बनाउन सकिने बताउनुभयो । ‘मुख्यमन्त्री चाहिएको भए जिल्ला विकास समिति छँदैछ, जिबिस सभापतिलाई चयन गरेर मुख्य मन्त्री बनाए भैगो नि’ देउवाले भन्नुभयो ।
भारतलाई पेट्रोलियम पदार्थको मूल्य दिन नसक्ने नेपालले प्रान्त बनाउन नसक्ने पनि देउवाले बताउनुभयो । ‘तेलको मूल्य तिर्न नसकेर देशको अवस्था यस्तो भएको छ, अनि तेलको मूल्य तिर्न नसक्नेले कसरी प्रान्त बनाउन सक्छ ?’ देउवाले प्रश्न गर्नुभयो-’कहाँबाट आउँछ पैसा, हावाबाट त आउँदैन होला ?’
कांग्रेस वरिष्ठ नेता देउवाले शान्ति प्रक्रियाको मुख्य बाधक माओवादी रहेको बताउँदै उसको सेना र हतियार नै शान्ति प्रक्रियाका मुख्य बाधक बनेको आरोप लगाउनुभयो ।

माओवादीको जनयुद्ध पैसा कमाउने युद्ध मात्रः ओली


६ फागुन, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले जनयुद्धका नाममा गरेको १० वर्षे युद्ध पैसा कमाउने युद्ध मात्र भएको आरोप लगाउनु भएको छ ।
चप्पल लगाएर जंगल गएका माओवादी नेताहरु महल बनाउन शहर आएको उहाँको भनाई छ । एमाले स्याङ्जा क्षेत्र नं.-१ को क्षेत्रीय अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता ओलीले माओवादी नेताहरुहरु रकम कुम्ल्याउने खेलमा रहेको बताउनु भयो ।
उहाँले पैसाका पछाडी लागेर माओवादी नेताहरुले जनयुद्ध र लडाकूको अपमान गरेको बताउनु भयो । युद्धका समयमा कब्जा गरिएका घर जग्गा गरिब दिन दुःखीहरुलाई बाँडेको भनेर माओवादीले झुक्काउने काम गरेको नेता ओलीले बताउनु भयो । कब्जा गरिएका जग्गा माओवादी नेताहरु गरिबलाई अधियामा लगाएर कमाइ खाएको उहाँको भनाई छ ।
नेता ओलीले सरकारमा बसेर बिद्रोह गर्छु भन्ने माओवादीहरु कुनै पनि हालमा जंगल जान नसक्ने दावी गर्नुभयो ।
उहाँले राष्ट्र र राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिने मन्त्री तथा नेताहरुलाइ जनताले थप्पड लगाई दिने चेतावनी दिनभुयो ।

राष्ट्रिय अखण्डता रहने संघीयता हुनुपर्छः राष्ट्रपति


६ फागुन, काभ्रे । राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा अखण्डता कायम रहने गरी संघीयतामा जानुपर्ने बताउनुभएको छ ।
काभ्रेको जनागालमा शनिबारबाट सुरु भएको काभ्रे महोत्सव उद्घाटन गर्नुहुँदै राष्ट्रपति यादवले सबै नेपालीको पहिलो पहिचान नेपाली हुनुमा नै रहेकाले यसलाई कसैले पनि बिर्सन नहुने बताउनुभयो । ‘सम्पूर्ण नेपाली बुद्ध जन्मेको देश, सगरमाथाको देशका जनता भनेर चिनिन चाहन्छन्’ उहाँले थप्नुभयो-’त्यसपछि मात्र हिमाली, पहाडी र मधेसीको पहिचानबाट चिनिन सकिन्छ ।’
राष्ट्रपति डा यादवले सबै जात, वर्ण, धर्म-संस्कृतिको पहिचान खुल्ने गरी बैज्ञानिकरुपले राज्यको पुनःसंरचना गरिनुपर्नेमा जोड दिनुभयो । दलहरुबीच कायम रहेको संघीयताको विवादप्रति असन्तुष्टि जनाउँदै उहाँले जातियता, पहिचानका आधारमा भन्दै देशको अखण्डतालाई आँच आउने काम नगर्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो-’शान्ति र संविधान निर्माण कार्य सम्पन्न गरेर मुलुकमा नियमित निर्वाचन, स्थायी सरकार गठन हुने क्रम सुरु भएमा मात्रै वैदेशिक लगानी बढ्न जान्छ र औद्योगिक विकासले मात्र समुन्नत नेपाल निर्माण गर्न सकिन्छ ।’

स्रष्टा ओछ्यान पर्दा वास्ता गर्दैन सरकार

६ फागुन, काठमाडौं । ‘भो सरकारको त कुरै नगरौं । उनीहरुलाई त कुर्सीकै दाउपेचमा लाग्नमै ठीक्क छ, हामीलाई कहाँ सम्झने फुर्सद हुन्छ’ बिरामी भएर ओछ्यानमा थलिएको बेला कवि केवलपुरे किसानले भनेको कुरा हो यो । सरकारबाट सहयोग आउला भन्ने एकरत्ति पनि आशा नगरेका कवि केवलपुरे किसान आफ्नै निजी खर्चबाट उपचार गराउँदा गराउँदै बितेर जानुभयो । बिरामी हुँदासम्म वास्ता नगरेका सरकार र दलका मान्छेहरु आर्यघाटमा आँशु चुहाउन मात्र पुगेका थिए । आफ्नो सृजना मार्फत देशको लागि महत्वपूर्ण योगदान दिएका केवलपुरे किसान जस्तै धेरै स्रष्टाको मरण यसैगरी भएको छ । केहीले सम्मान त पाएका छन्, तर उनीहरुले पुर्याएको योगदान भन्दा धेरै कम ।
चर्चित साहित्यकार दाहाल यज्ञनीधि एक दशकदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्छ । यसबीचमा उहाँले देश बिदेशका बिभिन्न ठाउँमा औषधि उपचार गराउनुभयो । अहिले ६ महिनादेखि घरमै ओछ्याउनमा हुनुहुन्छ । उपचारको क्रममा लाखौं रुपैंया खर्च भैसक्यो । एउटा साहित्यकारसित टन्न पैसा हुने कुरा भएन । त्यसैले प्रज्ञा प्रतिष्ठानमा रहेको साहित्यकार उपचार कोषमा उपचार खर्च बापत ५० हजार रुपैंया माग गर्नुभयो । तर प्रतिष्ठानले २५ हजार भन्दा दिन नसक्ने बतायो । त्यति पैसाले केही नहुने भएपनि उहाँले अस्वीकार गर्नुभयो । जेनतेन सरसापटी र साथीभाइको सहयोगले उहाँले उपचार गराइरहनुभएको छ ।

लडाकूलाई अधिकतम सेनानी पद मात्रः नेपाली सेना


६ फागुन, काठमाडौं । नेपाली सेनाले माओवादी लडाकूलाई समूहगत समायोजन गर्न नसकिने र अधिकतम सेनानी अर्थात मेजर पद दिने प्रष्ट पारेको छ ।
सेनाले अघि सारेको समायोजन सम्वन्धी प्रस्ताव विवादमा परेपछि सैनिक जनसम्पर्क निर्देशनालयले शनिबार विज्ञप्ती जारी गरि व्यक्तिगत रुपमा स्थापित मापदण्डहरु पुरा गर्नेलाई मात्र समायोजन गर्ने बताएको हो । विज्ञप्तीमा भनिएको छ-’लडाकू समायोजन सामुहिक वा युनिट गत रुपमा नभई व्यक्तिगत रुपमा स्थापित मापदण्डहरु पुरा गर्नेलाई मात्र छनौट गरी समायोजन गरिने स्पष्ट गराईन्छ ।’
सेनाले सातबुँदे सहमति विपरित नयाँ प्रस्ताव बुझाएको भन्ने आरोप अस्वीकार गरेको छ । सात बुँदे सम्झौतामा उल्लेख भए अनुरुप नै सकल दर्जाको वित्तृविकासमा असर नपर्ने गरी बैवाहिक स्थिती, शिक्षा र उमेर बाहेक अन्य सबै सेनाको स्थापित माप दण्ड बमोजिम नै विशेष समितिद्वारा सिफारिस लडाकुहरुलाई बढीमा ६ हजार ५ सयसम्म समायोजन गरिने सेनाले बताएको छ ।

Friday, February 17, 2012

जिब्रोको कस्तो कला !!!

मान्छेका क्षमता पनि बेग्लाबेग्लै हुन्छन् । भनिन्छ इश्वरले मान्छेलाई एउटा न एउटा क्षमता दिएकै हुन्छ । कतिपयमा भने एउटै व्यक्तिमा अनेक क्षमता हुन्छन् ।
चर्चित फिल्म ह्यारी पोर्टरका हिरो समेत रहेका बेलायती अभिनेता ड्यानियल रेडक्लिफको बेजोडका अभिनय क्षमता त सबैले देखेकै हो । उनमा इश्वरले अर्को क्षमता पनि दिएका रहेछन् । त्यो क्षमता पनि निकै आश्चर्यलाग्दो रहेछ । उनले आफ्नो जिब्रोलाई विभिन्न आकारप्रकारमा ढाल्न सक्छन् ।
एक स्पेनिस टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा उनले आफ्नो जिब्रे कला प्रस्तुत गरे । २२ वर्षे यी नायकले जिब्रोलाई विभिन्न ३ अनौठा रुपमा प्रस्तुत गरे ।
आफ्नो नयाँ मूभी द वुमन इन ब्लाकको प्रोमोसनका लागि स्पेन पुगेका डानियलको जिब्रोको कला देखेर धेरै दंग परे । लाइभ टेलिभिजन शो मा उनले कला देखाइरहँदा दर्शक दीर्घा अचम्म मानिरहेका थिए । कार्यक्रम सकिएपछि उनले फ्यानहरुलाई अटोग्राफ दिन भुलेनन् ।

कस्तो बिहे ? दुलाहा-दुलही नांगै !!!


विवाहमा राम्रा राम्रा लुगा र गहना लाउने चलन छ । दुलहीले त मुख समेत देखाउन नहुने संस्कार छ हामीकहाँ ।
तर संसारमा यस्ता दुलाहा दुलही पनि हुँदा रहेछन् जसले लुगै नलगाइकन सर्वांग नांगो भएर बिहे गर्छन् । त्यो पनि सामुहिक रुपमा ।
हो, सन् २००३ को फेब्रुअरी १४ मा जमैकाको हेडोनिस्म रिसोर्टमा आयोजित एक समारोहमा २९ जोडिले नग्न भएर विवाह गरेका थिए । उक्त न्यूड सामुहिक विवाहले विश्वमा सबैभन्दा वृहत नग्न विवाहको रेकर्ड समेत कायम गरेको छ ।
उक्त विवाह समारोह होटल परिसरको सामुदि्रक किनारमा झण्डै १ घण्टासम्म चलेको थियो ।
फ्लोरिडाका युनिभर्सल लाइफ चर्च का पादरी फ्रैंक सर्वेसियोले उक्त नांगो विवाह समारोह सम्पन्न गराएका थिए ।
हेरौँ उक्त विवाह समारोहका केही झलक

प्रधानमन्त्री भट्टराईलाई पटनामा भब्य स्वागत (फोटो फिचरसहित)

५ फागुन, पटना । बिहार स्थापनाको एक सय बर्ष पुरा भएको अबसरमा बिहाबारको राजधानी पटनामा भएको ‘ग्लोबल समिट अन चेन्जिड बिहार २०१२’ को  नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्नु भएको छ । आइपुग्नुभएको छ ।
नेपाली सेनाको बिमानबाट पटना बिमानस्थल आइपुग्नुभएका प्रधानमन्त्री भट्टराईलाई बिहारका मुख्यमन्त्री नितिशकुमारले स्वागत गर्नुभयो । भट्टराईसहित नेपाली टोलीलाई स्वागत गर्न बिहार मन्त्रिपरिषद्का सवै सदस्य बिमानस्थल पुगेका थिए । बिमानस्थलमा बिहार प्रहरीले प्रधानमन्त्रीको सम्मानमा सलामी अपर्ण गरेको थियो ।
बिमानस्थलबाट उहांलाई कारगेडसहित राजभवन लगिएको थियो । त्यहां प्रधानमन्त्री डा. भट्टराई र बिहारका राज्यपाल देबानन्द कुवंरवीच भेटवार्ता भएको छ । यसलगत्तै मुख्यमन्त्री निवासमा प्रधानमन्त्री र मुख्यमन्त्री नितिशकुमारलाई वीच दुईपक्षीय भेटवार्ता भएको छ ।
सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका प्रधानमन्त्री भट्टराईले आजै अपरान्ह ३ बजे एसके मेमोरियल हलमा सम्मेलनको उदघाटन गर्नु भएको छ । प्रधानमन्त्रीको स्वागतका लागि पटना चोकचोकमा स्वागत बोर्डहरु लगाइएको छ भने सुरक्षामा कडाई गरिएको छ ।
पछिल्ला बर्षहरुमा बिहारमा भइरहेका परिवर्तनको समिक्षा गर्न र आगामी बिकाश रणनीति तय गर्न सम्मेलनको आयोजना गरिएको हो । तीन दिने सम्मेलनको उद्घाटन सत्रमा बिहारका मुख्यमन्त्री नितिशकुमार, उपमुख्यमन्त्री सुशिलकुमार मोदी, भारतीय रिजर्भ वैँकका गर्भनर डी शुभराव, भारतको योजना आयोगका उपाध्यक्ष मोन्टेक सिंह अहुलिया लगायतले सम्बोधन गर्नु भएको छ ।

बिधेयक पारित गर्न खोजे संसद चल्न दिन्नौं: गजुरेल


५ फागुन, काठमाडौं । एकीकृत नेकपा माओबादीका सचिव सीपी गजुरेलले सरकारले पेश गरेको मनी लउण्डरिङसम्वन्धी तीन वटा बिधेयक अनुमोदनका लागि पेश गरे सदन चल्नन दिने चेतावनी दिनु भएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मोहन बैद्य किरण पक्षीय नेता नेता गजुरेलले सम्पति सुद्धिकरण र सुपुर्दगी जस्ता बिधेयक राष्ट्रघाति भएको दावी गर्नुभयो । ‘सम्पति सुद्धिकरण र सुपुर्दगी जस्ता बिधेयक यदि सरकारले सदनमा पेश गरेमा हामी नैं संसद चल्न दिदैनौं’ उहाँले भन्नुभयो-’त्यो बिधेयक पेश भएमा सदन बहिस्कार गरेर भाग्दैनौं, त्यसलाई असफल बनाइदिन्छौं ।’
सरकारले विधेयक पेश गरेको दिन बैद्य पक्षीय केही सभासदले संसद बैठक बहिस्कार गरेका थिए । सरकारले ल्याएको बिधेयक संसदले पारित गरेमा भारतीय सुरक्षाकर्मीले नेपाल सरकारको अनुमति नै नलिई जुन सुकैलाई पनि संगठित अपराधको गरेको आशंकामा गिरफ्तार गर्न सक्ने उहाँको आशंका छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रिय सहमतिको हुन नसक्ने भन्दै माओवादी सचिव गजुरेलले तत्काल पदबाट राजिनामा दिन माग गर्नुभयो ।

चितवनलाई कुनै हालतमा टुक्राउन दिन्नः प्रचण्ड


५ फागुन, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लालाई कुनै हालतमा पनि टुक्राउन नदिने बताउनुभएको छ ।
पश्चिम चितवनको पटिहानीमा शुक्रबारदेखि सुरु भएको पटिहानी पर्यटन महोत्सव-२०६८ को उदघाटन गर्दै प्रचण्डले राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमा चितवनलाई चार प्रदेशमा विभाजन गरिए पनि आफूले चितवन टुक्रन नदिने बताउनुभयो । यसअघि जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुले उहाँलाई जिल्ला टुक्रन लागेको भन्दै टुक्रन नदिन ज्ञापनपत्रसमेत बुझाएका थिए ।
उहांँले शान्ति र संविधान टुङ्गोमा पुर्‍याउन माओवादी कटिबद्ध रहेको भन्दै लडाकूहरुको स्वेच्छिक अवकाश सकिएको र राजनीतिक सहमतिअनुसार १५/२० दिनभित्रमा सेना समायोजन कार्य टुङ्गिने र त्यसपछि संविधान निर्माणको कार्यलाई तीव्रता दिने बताउनुभयो ।
जनताले चाहेजस्तो संविधान बनाउनु अहिलेको मुख्य जिम्मेबारी रहेको भन्दै उहाँले सबै दलहरु एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका नेता डा रामशरण महत र एमाले नेता भरतमोहन अधिकारीले चितवन टुक्रन नदिन चितवनबासीले खेलेको भूमिकाको सराहना गर्दै टुक्रन नदिन गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो । रासस

९३ वर्षमा पनि महाकाव्य लेख्न व्यस्त छन् राष्ट्रकवि

५ फागुन, काठमाडौं । उमेरले ९३ वर्ष टेकिसक्यो । यो उमेर हुँदा धेरैले राम्ररी कान सुन्दैनन्, आँखा देख्दैनन् । न स्मरण शक्ति राम्रो हुन्छ, न लर्याङतर्याङ गरेर काम गर्ने जाँगर ।
तर, राष्ट्रकवि माधव घिमिरेलाई ९३ वर्षको मान्छे भन्न नै सुहाउँदैन । उहाँ अहिले पनि उत्तिकै कान सुन्नुहुन्छ । चश्मा त पहिलेदेखि नै लगाउने मान्छे, आँखाले उसैगरी काम गरिरहेको छ । बिहान साढे ६ बजे उठिसक्नुहुन्छ, राति सुत्दा साढे १०/११ बज्छ ।
बुढ्यौली भएर आराम गर्नुपर्ने उमेरमा के गर्दै हुनुहुन्छ त राष्ट्रकवि ? ‘पहिलेदेखि लेखिरहेको महाकाव्य बीट मार्ने काममा व्यस्त छु हिजोआज’ अनलाइनखबरसित कुराकानी गर्दै राष्ट्रकवि घिमिरेले भन्नुभयो-’मलाई राष्ट्रले सम्मान दिएको छ, म पनि राष्ट्रलाई केही दिँदैछु ।’ राष्ट्रकवि घिमिरेले झण्डै तीन वर्षदेखि महर्षी योगी अरविन्दसँग मिल्दोजुल्दो विषयवस्तुमा आधारित ऋतंभरा महाकाव्य लेख्न थाल्नुभएको हो । ‘अब अर्को वर्षसम्म सक्ने योजना छ’ घिमिरेले भन्नुभयो ।
त्यसैले उहाँलाई हिजोआज बाहिरफेर हिंड्ने फुर्सद छैन । ‘दिनभरी काव्य लेखनमै समय बित्छ’ घिमिरेले भन्नुभयो -’फुर्सद मिलाएर पत्रिका पनि पढ्ने गर्छु घरमै बसेर ।’
बुढ्यौली उमेरमा लेखपढ गर्ने काम पनि चानचुने कुरा होइन । बुढो हुँदा स्मरणशक्ति कमजोर हुन्छ भनिन्छ, तर कसरी लेखिरहनुभएको छ त राष्ट्रकवि ? ‘पहिले जस्तो त किन हुन्थ्यो र, तैपनि स्मरणशक्ति त्यति कमजोर भैसकेको छैन’ घिमिरेले भन्नुभयो । युवा छँदा भावनामा लेख्ने गरेको र अहिले गम्भीर भएर लेख्ने गरेको उहाँले सुनाउनुभयो । ‘युवामा जोशले लेखिन्थ्यो, अहिले लेख्दा केही गम्भीर हुन्छु’ उहाँले भन्नुभयो ।
उमेरले सय पुग्न लागेपनि उहाँमा अझै जाँगर छ । शरीर चाउरिएपनि फुर्तिलो नै छ । ‘मुख त बार्नुपर्छ, गिलो खानेकुरा खाने गर्छु’ घिमिरेले भन्नुभयो ।

नेपालीको आँखामा विहारको विकास रोल मोडलः प्रधानमन्त्री

५ फागुन, पटना 
। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको विहार राज्यको विकास, आर्थिक उन्नति र सामाजिक समावेशीकारण नेपालीको आँखामा रोल मोडेल भएको बताउनु भएको छ ।
पटनामा जारी ‘परिवर्तनमयी बिहारको विकासको लागि साझेदारी’ विषयक विश्व सम्मेलनको शुक्रबार उद्घाटन गदै प्रधानमन्त्री भट्टराईले विहारको विकासले नेपालीमा पनि इशर्याभाव जगाएको बताउनु भयो । ‘बिहार भ्रमणमा आउने धेरै नेपालीहरूले फर्केर मलाई बताउने गर्छन कसरी बिहारले नागरिक सुरक्षालाई मजबूत बनाएको छ र भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिलाई तिब्रता दिएकोछ. धेरै नेपालीको आँखामा बिहार अहिले विकास, आर्थिक उन्नति र सामाजिक समावेशीकारणको रोल मोडेल भएको छ’ भट्टराईले भन्नुभयो-’यो छोटो अवधिमा जे जति हाशिल गर्नु भयो त्यसले हामीमा पनि इर्श्याभाव जगाएको छ ।’
अहिले तिब्र आर्थिक वृद्धि हासिल गर्ने बाटोमा अगाडी बढ्न खोजिरहेको नेपालले बिहारबाट धेरै कुरा सिक्नु पर्ने भन्दै उहाँले सहकार्यमा जोड दिनु भयो । प्रधानमन्त्री भट्टराईले नेपाल भारत र खासगरी सीमावर्ती भारतीय राज्यहरूसँग बलियो आर्थिक सम्बन्ध कायम गर्न तयार रहेको बताउनु भयो । ‘नेपालको प्रचुर जलविद्युत क्षमता परस्पर हितका निमित्त उपयोग गर्न सकिन्छ. पशुपतिनाथ, लुम्बिनी र जनकपुर नेपालका महान धार्मिक पर्यटकीय क्षेत्र हुन् । दुवै क्षेत्रमा संयुक्त लगानीका उपक्रमहरू खडा गर्ने प्रचुर सम्भावना छ’ उहाँले भन्नुभयो-’दुवै देशका नेतृत्वमा समरुदारी, सद्भावना र दूरदृष्टिको खाँचो छ. आउनुहोस् यो बुद्ध र अशोकाको भूमिका हामीले मानवहितका लागि सहकार्य गरौं र एक्काईसौं शव्दिको नेतृत्व गरौं ।’