सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, February 18, 2012

राष्ट्रिय अखण्डता रहने संघीयता हुनुपर्छः राष्ट्रपति


६ फागुन, काभ्रे । राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा अखण्डता कायम रहने गरी संघीयतामा जानुपर्ने बताउनुभएको छ ।
काभ्रेको जनागालमा शनिबारबाट सुरु भएको काभ्रे महोत्सव उद्घाटन गर्नुहुँदै राष्ट्रपति यादवले सबै नेपालीको पहिलो पहिचान नेपाली हुनुमा नै रहेकाले यसलाई कसैले पनि बिर्सन नहुने बताउनुभयो । ‘सम्पूर्ण नेपाली बुद्ध जन्मेको देश, सगरमाथाको देशका जनता भनेर चिनिन चाहन्छन्’ उहाँले थप्नुभयो-’त्यसपछि मात्र हिमाली, पहाडी र मधेसीको पहिचानबाट चिनिन सकिन्छ ।’
राष्ट्रपति डा यादवले सबै जात, वर्ण, धर्म-संस्कृतिको पहिचान खुल्ने गरी बैज्ञानिकरुपले राज्यको पुनःसंरचना गरिनुपर्नेमा जोड दिनुभयो । दलहरुबीच कायम रहेको संघीयताको विवादप्रति असन्तुष्टि जनाउँदै उहाँले जातियता, पहिचानका आधारमा भन्दै देशको अखण्डतालाई आँच आउने काम नगर्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो-’शान्ति र संविधान निर्माण कार्य सम्पन्न गरेर मुलुकमा नियमित निर्वाचन, स्थायी सरकार गठन हुने क्रम सुरु भएमा मात्रै वैदेशिक लगानी बढ्न जान्छ र औद्योगिक विकासले मात्र समुन्नत नेपाल निर्माण गर्न सकिन्छ ।’

राजनीतिक दलका नेता र सरकारमा बसेका मन्त्रीहरुले नै बाहिर सहमति भाँड्नेखालका कुरा गर्दै हिँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपति यादवलेसबै कुराहरु संविधानसभाभित्रै बसेर छलफल गरी अगाडि बढ्न सुझाव समेत दिनुभयो । उहाँले सबै मिलेर शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यलाई पूर्णता दिन आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment