सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, February 22, 2012

गुप्तापछि अब पालो कसको ?

१० फागुन, काठमाडौं ।
 ९ वर्षअघि भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ ।
पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सर्बोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाएपछि अब यसअघि मुद्दा परेका अरु नेता र कर्मचारीको पनि पालो आउने भएको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार छिटै पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, गोबिन्दराज जोशी, पूर्व प्रहरी प्रमुखहरु मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल लगायतको फैसलाको तयारी हुँदैछ । २०५९ सालपछि मुद्दा परेका उनीहरुलाई प्रमाण नपुगेको भन्दै विशेष अदालतले गुप्तालाई जस्तै सफाई दिएको थियो ।
गुप्ताकै मुद्दामा जस्तै भ्रष्टाचार गरेको रकममा बढि मूल्याड्कन गर्नुका साथै म्याद गुज्रेको भन्दै उनीहरुलाई बिशेष अदालतले सफाई दिएको थियो । गुप्तालाई मात्रै हैन, गुप्ताको बिषयमा फैसला गर्ने न्यायाधीशलाई पनि कारवाही गर्न निर्देशन भएकाले त्यस्तै प्रकृतिका अन्य मुद्दामा पनि अदालतले गुप्ताकै जस्तो फैसला गर्ने सम्भावना बढि छ ।
‘जनदबाबका कारण अब भ्रष्टाचार गर्ने कोही पनि उन्मुक्ति हुने अवस्था छैन’ भ्रष्टाचारको विषयमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार हरिबहादुर थापाले भन्नुभयो । न्यायालय र न्यायाधीशहरुले यो कुरा राम्ररी बुझेकाले अब कसैले पनि छुटकारा नपाउने उहाँले बताउनुभयो । तर सबै वाग्ले र गुप्ता झैं जेल नै जान्छन् भन्ने पनि छैन । ‘अभियोग लागेका सबै भ्रष्टाचारी ठहरिन्छन् भन्ने छैन’ अर्का पत्रकार विकास भट्टराईले भन्नुभयो -’प्रमाण पुगेकाहरु त जेल गइहाल्छन्, तर सबैको प्रमाण पुग्छ भन्ने हुँदैन ।’

अब पालोमा को–को ?
कांग्रेस नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्का- २,३६,८७,६२४।
कांग्रेस नेता एवं पूर्व मन्त्री गोबिन्दराज जोशी- ३,९३,६२,५७८।
पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेल- १,६३,३६,१३०।
पूर्व प्रहरी प्रमुख मोतीलाल बोहरा- २,३८,२३,६२७।
कल्याण तिमिल्सिना- ६३,९१,०९८।
किरणकुमार गौतम- ६१,८६,८३०।
पद्मप्रसाद पोखरेल- १,५१,३८,८९८।
स्व. पूर्व प्रधानमन्त्री गिरिजाप्रसाल कोइरालाका स्वकिय सचिव गोकर्ण पौडेल- २,०६,३१०००।
चक्रबन्धु अर्याल-२,६०,८१,५६१।
‘अख्तियार ७८ प्रतिशत सफल’
भ्रष्टाचार सम्बन्धी अहिलेसम्म दायर भएका मुद्दामा ७८ प्रतिशत सफलता हात लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले अनलाईन खबरलाई दिनुभएको जानकारी अनुसार अख्तियारले २०५९ पछि विशेष अदालतमा दायर गरेका ९५७ मुद्दामध्ये ७९९ को फैसला भएको छ ।
जसमा ६३० वटा सफल र १६९ वटा असफल भएका छन् । अहिले पनि दर्जनौं मुद्दा पेश भएका र कुनै हुने क्रममा रहेको अख्तियारको भनाई छ । भ्रष्टाचार सम्बन्धी सर्बोच्चको फैसला सकारात्मक र स्वागतयोग्य भएको पौडेलले बताउनुभयो । ‘अख्तियारले ठूला ओहोदामा रहेकालाई मुद्दा लगाउँदैन र लगाईहालेमा पनि केही हुँदैन भन्ने जुन छाप थियो, त्यो अहिले मेटिएको छ’ पौडेलले भन्नुभयो-’यसबाट भ्रष्टाचार निवारण गर्ने अभियानमा उर्जा थपिएको छ ।

No comments:

Post a Comment