सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, February 18, 2012

स्रष्टा ओछ्यान पर्दा वास्ता गर्दैन सरकार

६ फागुन, काठमाडौं । ‘भो सरकारको त कुरै नगरौं । उनीहरुलाई त कुर्सीकै दाउपेचमा लाग्नमै ठीक्क छ, हामीलाई कहाँ सम्झने फुर्सद हुन्छ’ बिरामी भएर ओछ्यानमा थलिएको बेला कवि केवलपुरे किसानले भनेको कुरा हो यो । सरकारबाट सहयोग आउला भन्ने एकरत्ति पनि आशा नगरेका कवि केवलपुरे किसान आफ्नै निजी खर्चबाट उपचार गराउँदा गराउँदै बितेर जानुभयो । बिरामी हुँदासम्म वास्ता नगरेका सरकार र दलका मान्छेहरु आर्यघाटमा आँशु चुहाउन मात्र पुगेका थिए । आफ्नो सृजना मार्फत देशको लागि महत्वपूर्ण योगदान दिएका केवलपुरे किसान जस्तै धेरै स्रष्टाको मरण यसैगरी भएको छ । केहीले सम्मान त पाएका छन्, तर उनीहरुले पुर्याएको योगदान भन्दा धेरै कम ।
चर्चित साहित्यकार दाहाल यज्ञनीधि एक दशकदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्छ । यसबीचमा उहाँले देश बिदेशका बिभिन्न ठाउँमा औषधि उपचार गराउनुभयो । अहिले ६ महिनादेखि घरमै ओछ्याउनमा हुनुहुन्छ । उपचारको क्रममा लाखौं रुपैंया खर्च भैसक्यो । एउटा साहित्यकारसित टन्न पैसा हुने कुरा भएन । त्यसैले प्रज्ञा प्रतिष्ठानमा रहेको साहित्यकार उपचार कोषमा उपचार खर्च बापत ५० हजार रुपैंया माग गर्नुभयो । तर प्रतिष्ठानले २५ हजार भन्दा दिन नसक्ने बतायो । त्यति पैसाले केही नहुने भएपनि उहाँले अस्वीकार गर्नुभयो । जेनतेन सरसापटी र साथीभाइको सहयोगले उहाँले उपचार गराइरहनुभएको छ ।

उहाँजस्तै कृष्णप्रसाद पराजुली, धर्मराज थापा, मनु बाज्रकी लगायतका स्रष्टाहरु पनि ओछ्यानमा छन् । तर सरकारबाट पाउनुपर्ने जति सहयोग पाउन सकेका छैनन् । ‘बिरामी परेका स्रष्टालाई उपचार गर्नको लागि भनेर प्रज्ञा प्रतिष्ठानमा कोष पनि छ, तर रकम वितरणमा कञ्जुस्याईं गरिन्छ’ युवा स्रष्टा प्रकाश सिलवालले भन्नुभयो । तर प्रतिष्ठानले भने बिरामी स्रष्टाको लागि राहत दिने काम भैरहेको जनाएको छ । ‘हामीले रकम दिइरहेका छौं’ प्रतिष्ठानका एकजना प्राज्ञले भने -’उपचार खर्चको लागि आएको निवेदनलाई छानबीन गरेर पैसा दिनको लागि एउटा समिति नै बनाएको छ । डाक्टर समेतको सहभागिता रहेको समितिले बिरामी स्रष्टाको लागि उचित रकम दिइरहेको छ ।’
स्रष्टाको मापदण्ड के ?
चर्चित साहित्यकार खगेन्द्र संग्रौलाको भनाईमा स्रष्टालाई सहयोग भन्ने कुरा विवादास्पद र जटिल विषय हो । ‘स्रष्टा कसलाई भन्ने ? सडकमा कुचो लगाउने पनि स्रष्टा हो, कलम चलाउने पनि स्रष्टा हो’ संग्रौलाले भन्नुभयो -’पहिलो कुरा स्रष्टाको मापदण्ड स्पष्ट हुनुपर्यो ।’ त्यसमाथि स्रष्टा र राज्य भनेको परस्पर बिरोधी कुरा भएकाले राज्यबाट सहयोग हुन्छ भनेर आफूहरुले कहिल्यै आशा नगरेको उहाँले बताउनुभयो । ‘सरकारले भक्ति खोज्छ तर स्रष्टाले आलोचना गर्छ’ संग्रौलाले भन्नुभयो -’भक्ति र आलोचनाबीच सधैं अन्तरबिरोध भैरहने भएकाले राज्यले त्यस्ता स्रष्टालाई सहयोग गर्न खोज्दैन ।’ तर राज्यको भक्ति र स्तुति गाउने स्रष्टाले भने सहयोग पाइरहेको उहाँले बताउनुभयो । ‘कसैले देशको लागि शीर ठाडो पार्दै पहिचान बनाउन मद्दत गरेको छ भने उसलाई सम्मान र सहयोग गर्नुपर्छ’ संग्रौलाले जोड दिनुभयो । तर महान काम गरेको छ भनेर छुट्याउने कसले भन्ने कुरा पनि विवादित हुने भएकाले यो विषय जटिल रहेको संग्रौलाले बताउनुभयो ।
संस्कृतिको पाटो सधैं ओझेलमा
‘संस्कृति मन्त्रालयलाई सरकारले सधैं कम बजेट छुट्याउने गर्छ, अनि कसरी गर्न सकिन्छ स्रष्टालाई सम्मान र सहयोग ?’ यो प्रश्न हो, पूर्व संस्कृतिमन्त्री खगेन्द्र प्रसाईंको । उहाँका अनुसार सरकाले सधैं संस्कृतिको पाटोलाई हेलां गर्ने गरेको छ । ‘बिदेशमा संस्कृतिको क्षेत्रमा जुन गरिन्छ त्यो यहाँ छैन’ प्रसाईंले भन्नुभयो -’आर्थिक अवस्था र पछौटेपनको कारणले पनि हुन सक्छ ।’ तर संस्कृति र स्रष्टा नै देश चिनाउने माध्यम भएकाले यस क्षेत्रलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment