सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, February 22, 2012

म बाधक होइन, साधक बन्छुः प्रधानमन्त्री

१० फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नभई साधक बन्ने बताउनुभएको छ ।
माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग बुधबार भएको भेटमा त्यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री भट्टराई उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो । ‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि आफ्नो स्पष्ट अडान राख्दै आएको छु’, भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पार्टीले सरकारमा पठाएर गएको हुँ’, फिर्ता बोलाएको खण्डमा जुनसुकै बेला राजीनामा दिन तयार छु ।’ तर, राष्ट्रिय सहमतिको सरकार गठन तथा शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म सरकार छोड्न नहुनेमा भट्टराईको जोड थियो । पार्टी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने वातावरण नभएसम्म राजीनामा दिनुको औचित्य नहुने प्रधानमन्त्रीले बताउनुभएको थियो ।
प्रधानमन्त्री भट्टराईले वैद्य पक्षले यथास्थितिमा सरकार छोड्न दबाब दिइरहेको भन्दै त्यसबारे अध्यक्ष प्रचण्डसँग स्पष्टता माग गर्नुभएको थियो । जवाफमा प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण तयार नुहँदासम्म सरकारबाट बाहिरिने कुरामा आफ्नो असहमति रहेको तर, राष्ट्रिय सहमतिको वातावरण बनेको अवस्थामा भने पार्टी बाधक बन्न नहुने बताउनुभएको स्रोतले जानकारी दिएको छ । लाजिम्पाट स्रोतका अनुसार अध्यक्ष प्रचण्डले वाइसीएलमा रहेका पूर्वलडाकुलाई राहत दिने विषयमा सोच्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले राज्यकोषबाट वाइसीएललाई रकम दिन नसकिने स्पष्ट गर्दै उनीहरुलाई सामुहिक श्रममा लगाउनुपर्ने बताउनुभएको थियो । त्यसका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने भट्टराईको भनाइ थियो ।

No comments:

Post a Comment