सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 26, 2012

वाईसीएल लडाकूले दर्जा निर्धारण अनुसार पैसा पाउने

१४ फागुन, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूले दर्जा अनुसार पैसा पाउने भएका छन् ।
माओवादी पदाधिकारीहरुको आइतबार बसेको बैठकले वाईसीएलमा रहेका लडाकूहरुको दर्जा निर्धारण गर्ने र आर्थिक प्याकेज दिने निर्णय गरेको हो । दर्जा निर्धारण गर्ने जिम्मा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ । बैठकपछि सचिव सिपि गजुरेलले भन्नुभयो-’वाइसिएललाई पार्टीले आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय भएको छ र त्यसका लागि उहाँहरुको पनि दर्जा निर्धारण गरिने छ ।’
शिविरका लडाकूअनुसार सेवा सुविधा र रकमको माग गरेपछि सजिलो गरी आर्थिक प्याकेज उपलब्ध गराउन वाईसीएलको पनि दर्जा निर्धारण गरिएको सचिव गजुरेलले जानकारी दिनुभयो ।
विप्लव र प्रभाकरले अध्ययन गरेर वाईसीएलका माग सम्बोधन गर्ने उपाय १८ गते बस्ने स्थायी समितिको बैठकमा पेश गर्ने पार्टी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कार्यालयले वाईसीएलमा रहेका लडाकूलाई प्रमाणपत्र पनि दिने छ ।
संविधानसभा निर्वाचन ताका लडाकूबाट वाईसीएलमा लगिएका लडाकूहरुले अवकासमा जाने लडाकू सरह सेवा सुविधा लगायतको माग राख्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरुले माग पूरा नभए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको घर घेर्ने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment