सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 24, 2012

कांग्रेस-एमालेले भोली माओवादीसँग निर्णायक वार्ता गर्ने

९ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले विद्यमान राजनीतिक गतिरोध अन्त्यको साँचो सत्तारूढ एकीकृत नेकपा माओवादीसँग रहेको बताएका छन् ।
एमाले मुख्यालय बल्खुमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले माओवादी गतिरोध अन्त्यभन्दा पनि सत्ता लम्याउन मात्र केन्द्रीत भएको भन्दै भोली बुधबार निर्णायक वार्ता गर्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक भोली ११ बजे बोलाइएको छ । बैठकमा राजनीतिक गतिरोध अन्त्य, सहमतीय सरकार गठन, निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
तीन दलको बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामालाई सर्तका रुपमा अघि सार्ने सहमति गरेका छन् । ‘सहमतिको वातावरण बनाउन कुर्सी त छाड्नुपर्छ’ सिंहले भन्नुभयो-’संविधानसभाको कार्यकाल बाँकी छँदै एकलौटी अर्को निर्वाचन घोषणा गर्ने सरकारलाई कुर्सीमा बस्ने नैतिक र संवैधानिक अधिकार छैन ।’
दुर्इ दलबीच सरकार बन्ने पक्का भएपछि मात्र उम्मेदबार घोषणा गर्ने सहमति भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो-’सरकार बन्ने पक्का भएपछि मात्र राष्टपतिलाई हाम्रो उम्मेदबार यो हो भन्छौं ।’यसअघि एमालेले तत्काल उम्मेदबार घोषणा गर्न नत्र आफ्नो दललार्इ जिम्मेबारी दिन माग गर्दै आएको थियो ।
माओवादीले भने निर्वाचन, शान्ति प्रक्रियाका प्राविधिक विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । लाकू समायोजनका प्रविधिक विषयमा कांग्रेस र एमालेले लचकता नअपनाए शिविरमा रहेको हतियार सरकारलाई नबुझाई संग्राहलय बनाएर राख्ने र सबै लडाकूलाई स्वेच्छिक अबकासमा पठाउने माओवादीको निर्णय छ । लडाकूहरुको उमेरमा विवाद देखिएपछि पछिल्लो समय लडाकू समायोजन प्रक्रिया अवरुद्ध भएको छ ।
संविधानसभा र संसद दुबैको काम गर्ने निकायको नयाँ निर्वाचनमा जान सहमत दलहरुबीच संविधानसभा कि संसदको भन्नेमा विवाद छ । माओवादीले संविधानसभा र कांग्रेस र एमालेले संसदको भन्दै आएका छन् ।

No comments:

Post a Comment