सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 20, 2012

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण


५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरार्इमाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
उपाध्यक्षमाथि नै नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्योबेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।

No comments:

Post a Comment