सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, July 2, 2012

पेरिसडाँडा कब्जा गर्ने गजुरेलको चेतावनी


१८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीबाट अलग भएर बनेको नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्ने चेतावनी दिनुभभएको छ । प्रधानमन्त्रीलाई हटाउन संयुक्त मोर्चाबन्दी बनाएर आन्दोलनमा जानुको विकल्प नभएको उहाँको भनाई छ । सोमबार राजधानीमा रिपोर्टस् क्लवले गरेको कार्यक्रममा उहाँले सरकार ढाल्न काँग्रेस, एमालेलगायतको दलले शुरु गरेको आन्दोलनमा आफ्नो पार्टीले सहभागिता जनाउने पनि बताउनुभयो ।
‘बाबुरामले सितिमिति राजीनामा दिँदैनन्,’ गजुरेलले भन्नुभयो, ‘घेराबन्दीमा पारेर जनबलबाटै बर्खास्त गर्न सशक्त आन्दोलनको आवश्यकता छ ।’ प्रधानमन्त्रीलाई पदबाट हटाउन बालुवाटारभित्रै निरन्तर घेराबन्दीमा राख्नुपर्ने पनि उहाँले बताउनुभयो ।
आफू सत्तामा टिकिरहन प्रधानमन्त्रीले संविधानसभा बिघटन गरेको उहाँको आरोप छ । ‘संविधानसभा बिघटन गरी सत्ता लम्याउने प्रधानमन्त्रीलाई सडकबाटै बर्खास्त गर्न सबै राजनीतिक दल, नागरिक समाज र आम जनता सडकमा उत्रनुको विकल्प छैन’ गजुरेलले भन्नुभयो ।

गजुरेलले प्रधानमन्त्री भट्टराई विदेशीबाट संचालित भएको आरोप पनि लगाउनुभयो । ‘भट्टराई कहाँंबाट संचालित छन्, कसले कुन षड्यन्त्रबाट उनलाई टिकाईरहेको छ सबैलाई थाहा छ’ गजुरेलले भन्नुभयो ।
गजुरेलले सर्वोच्च अदालतको आइतबारको फैसला अनुसार पूर्ण बजेट ल्याउन बाटो खोलिदिएको ठान्नु भ्रम मात्र भएको टिप्पणी गर्नुभयो । अदालतले राजनीतिक विषयमा बोल्न नमिल्ने जिकिर गर्दै जर्बजस्ती पूर्ण बजेट ल्याउन खोजे घातक परिणाम भोग्नुपर्ने उहाँको चेतावनी छ । दलहरुसँगको सहमति र सहकार्य विना पूर्ण बजेट ल्याउन नमिल्ने र ल्याए सडकबाट प्रतिवाद गर्ने गजुरेलले बताउनुभयो ।
गजुरेलले संविधानसभा कुनै हालतमा बिउँतन नसक्ने भन्दै गोलमेच सभामा जानु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो । उहाँले भन्नुभयो -’संविधानसभा विउँताउन मिल्दैन, सर्वपक्षीय गोलमेच सभाबाटै मुलुकलाई निकास दिनुपर्छ र राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’
 पार्टी कार्यालयमा दावी
उपाध्यक्ष गजुरेलले केन्द्रीय कार्यालय पेरिसडाँडा लगायत देशभरका जिल्ला कार्यालय आफूहरुको समेत स्वामित्व रहेकाले कुनै हालतमा नछाड्ने बताउनुभयो । ‘पेरिसडाँडाको सम्पत्ति समेत बाँडफाँड हुनुपर्छ,’ गजुरेलले भन्नुभयो – ‘सहमतिमा नआए हामी कब्जा गर्छौं ।’
चितवन लगायतका ठाउँमा एमाओवादी कार्यकर्तासंग भिडन्त हुनुमा प्रचण्ड जिम्मेवार रहेको बताए । भिडन्त नियोजित रुपमा गराइएको आरोप लगाउँदै आगामी दिनमा आˆनो दलका नेता कार्यकर्तामाथि आक्रमण भए कडा प्रतिवाद गर्ने उहाँले चेतावनी पनि दिनुभयो । ‘हामी तल्लो स्तरमा उत्रिएर भिडन्त नहोस् भन्ने पक्षमा छौं, कोही आइलाग्छ भने चुप लागेर बस्दैनौं’ गजुरेलले भन्नुभयो ।
चितवन घटनामा प्रचण्डका भाई नारायण दाहाल र एमाओवादीका अर्का नेता चित्रबहादुर श्रेष्ठको प्रत्यक्ष निर्देशनमा गोली चलाइएको गजुरेलको आरोप छ । सबै हतियार प्रचण्डसँग भएको आरोप लगाउँदै उहाँले हतियार हुनेहरुबाटै चितवन गोलीकाण्ड मच्चाइएको भन्दै प्रचण्डको हात रहेको आरोप पनि लगाउनुभयो ।

No comments:

Post a Comment