सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 9, 2012

घाइते लडाकुले भने, ँचेक बुझ्छौं तर घर जाँदैनौं’

संक्राम -दाङ, माघ २५ - 
माओवादी घाइते लडाकुहरूले स्वैच्छिक अवकाश अन्तर्गत चेक बुझे पनि बिदाइ भएर घर जान नसक्ने बताएका छन् । घरबास छिन्नभिन्न भइसकेको, सहारा दिने आफन्तहरू नभएको, नियमित औषधि सेवन गर्नुपर्ने समस्या भएको र शरीरका महत्त्वपूर्ण अंगहरूमा रड हाल्ने र निकाल्ने जस्ता कामहरू हुन नसकेको भन्दै उनीहरूले घर जान इन्कार गरेका हुन् ।

घाइते अपांगहरूको अवस्था अनुसार उचित व्यवस्थापन नभएसम्म शिविर नछोड्ने अडान उनीहरूले लिएका छन् । सुरुमा चेक पनि नबुझ्ने अडानमा रहेका लडाकुहरू उपचार खर्चका लागि भए पनि चेक बुझ्न तयार भएका हुन् । 'पहिले घरबास थियो, घरको अवस्था राम्रो थियो । अहिले सबै छिन्नभिन्न छ । दाइको पनि युद्धमै मृत्यु भयो, बुढा बा-आमा छन्,' रुकुम दुलीका बलबहादुर पुनले भने, 'मेरो एउटा खुट्टा छैन । 

नियमित औषधि खानुपर्छ । यो बेसहारा अवस्थामा कसरी बुढा बा-आमाको बोझ बन्न जानु ? बरु यहीँ नै ठीक छ ।'

माओवादी र राज्यले घाइते, अपांगलाई पनि अन्य लडाकुसरह बिदाइ गर्न खोजेर अपमान गरेको उनीहरूले बताएका छन् । 'बरु बुझेको अढाई लाख रुपैयाँ पनि आन्दोलन गरेरै सिध्याउँछौं तर यही अवस्थामा शिविर छोड्दैनौं,' गजुल-१ रोल्पाका राजकुमार कुँवरले भने, 'त्यसपछि पक्का सर्वहारा बन्नुपरे बनौंला । अहिले यो भाँचिएका हातखुट्टा लिएर कसरी जानु ? के गरेर खानु ? पार्टीले उपचार गरिदिने आशा पनि अब हराइसक्यो ।'

बुधबार संक्रामस्थित दीर्घस्मृति बि्रगेडमा चेक बुझ्दै गरेका अपांग लडाकुले सरकारले यही महिनासम्मको मात्र खाने खर्च दिए पनि आफूहरू घर नजाने बताए । 'हामीले बुझेको यो रकम अन्यसरहको अवकाश कार्यक्रम अन्तर्गतको भयो तर हामी अपांग भएबापत जीविका चलाउने उपाय खोइ ? अन्य लडाकुसरह शिविरबाट निकालेर हुन्छ ?' युद्धमा बायाँ खुट्टा गुमाएका कुँवरले भने, 'हामीले बगाएको रगतको अपमान हुँदै छ ।'

सरकारले दिएको २ लाख ५० हजार रुपैयाँले खुट्टाका रड निकाल्न र हाल्न पनि नपुग्ने रुकुम चुनबाङका रवि परियारले बताए । 'खुट्टामा अझै पनि गोली छन् । रड हाल्न जाँदा र आउँदा नै सबै रकम सकिन्छ अनि के खाएर बाँच्ने ?' उनले भने, 'कमाइ गर्ने, भविष्य बनाउने बेला हातखुट्टा 

युद्धमा गुमाइयो, अब यो अवस्थामा कसरी घर खोज्दै जाने ? घरमा गएर दुःख पाउनुभन्दा बरु शिविरभित्रै मर्नु बेस ।'

No comments:

Post a Comment