सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 8, 2012

माओवादीमा दुवै प्रतिबेदन पारित नगर्ने

२४ पुस, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीको संस्थापन र बैद्य पक्ष अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरणका दुबै प्रतिवेदनलाई पारित नगरि जनपरिचालनका कार्यक्रममा मात्र एक भएर जान दुवै पक्ष सहमति नजिक पुगेका छन् ।
अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा आइतबार प्रचण्ड, बैद्य सहितका शीर्ष नेताहरुबीच भएको छलफलमा मध्यमार्गी प्रस्तावमा दुबै राजनीतिक प्रस्तावलाई रेकर्डका रुपमा राखेर जनपरिचालनका कार्यक्रम लिएर जाने बिषयमा नेताहरुवीच छलफल भएको छ ।
संस्थापन र बैद्य पक्षले अर्को अर्कोको प्रतिवेदनलाई स्वीकार नगर्ने भएकाले मध्यमार्गीबाट खोजिएको प्रचण्ड पक्षीय नेता हरिबोल गजुरेलले बताउनुभयो । ‘हाम्रो जोड त अध्यक्षको प्रस्ताव पारित गरौं भन्ने हो । तर, अहिले कुनै पनि प्रताव पारित हुने अवस्था छैन’ उहाँले भन्नुभयो-’दुबै प्रस्तावलाई रेकर्डका रुपमा केन्द्रीय समितिमा यथावत राख्ने र कार्ययोजना र कार्यक्रममा एक भएर जाने मध्यमार्गी प्रस्तावमा सकारात्मक छलफल भइरहेको छ ।’
जनविद्रोहमा जाने प्रस्ताव गरेको बैद्य पक्षले पनि मध्यमार्गी प्रस्तावमा सहमति जुट्ने सम्भावना रहेको स्वीकार गरेको छ । ‘अध्यक्षको प्रस्तावलाई स्वीकार गरेर अघि बढ्ने भन्ने त कुनै सम्भावना छैन’ बैद्य पक्षीय नेता हरिभक्त कँडेलले भन्नुभयो-’तर, नयाँ ढंगबाट अघि बढ्न सकिन्छ भन्ने हाम्रो पनि निष्कर्ष हो ।’

आफूहरु तत्काल पार्टी विभाजनको पक्षमा नरहेको भन्दै कँडेलले कार्ययोजना र कार्यक्रममा एक भएर जाने मोर्चाका रुपमा पार्टीलाई अघि बढाउन सकिने बताउनु भयो । ‘अहिले त हामी संयुक्त मोर्चाका रुपमा पनि छैनौं-कँडेलले भन्नुभयो- ‘तर, कार्ययोजना र कार्यक्रममा एक भएर संयुक्त मोर्चाका रुपमा अघि बढाउन सकिन्छ ।’
स्रोतका अनुसार तत्कालका लागि शान्ति र संविधानमा केन्द्रीत हुने र त्यसविरुद्ध षड्यन्त्र भए त्यसलाई चिर्न संघर्षका कार्यक्रमहरु थाल्न संस्थापन र बैद्य पक्ष सहमत देखिएको छ । ‘किरणजीहरु पनि शान्ति र संविधानकै पक्षमा देखिनु भएको छ । तर, आत्मसमपर्ण गर्न हुँदैन भन्ने उहाँहरुको जोड छ’ गजुरेलले भन्नुभयो-’हामीले पनि आत्मसमर्पण गर्ने भनेका छौनौं । त्यसैले शान्ति र संविधानमा केन्द्रीत हुने र त्यसविरुद्धको भड्यन्त्र चिर्न संघर्ष थाल्ने कार्ययोजना बनाउँछौं ।’
नयाँ बजारको छलफललगतै संस्थापन र बैद्य पक्ष आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्डले उपाध्यक्षद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरु छलफल गर्दै हुनुहुन्छ भने बैद्य पक्ष आन्तरिक छलफलमा जुटेको छ ।

No comments:

Post a Comment