दाङ , पुस २४
- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको गोबरडिहा १ टाँडामा शनिबार विहान ट्रक र जीप ठोक्किदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिसहनिया ४ निवासी जयमंगल गुप्ता रहेका छन् ।
उनलाई नेपालगञ्ज नर्सिङ होममा उपचार गरी थप उपचारका लागि भारतको लखनऊ लैजादै गर्दा राती मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले बताउनुभएको छ । गुप्तासहित दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
सरिया लिएर बिरगञ्जबाट कैलाली जाँदै गरेको ना ३ ख ६०९२ नम्बरको ट्रक र लमहीबाट कपिलबस्तुको कृष्णनगर जाँदै गरेको ना १ ज १३४९ नम्बरको जीप शनिबार विहान साढे ८ बजे ठोक्किदा चालकसहित १० जनाको मृत्यु भएको थियो । ६ जनाको घटनास्थलमै, एक जनाको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा र तीन जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो ।
मृतकहरुमा आमा छोरा पनि रहेका छन् । चैलाही २ लमहीकी भगवती केसी र उनका छोरा निर्जल केसीको मृत्यु भएको छ । यसैगरी चैलाही ९ का इशान अधिकारीको मृत्यु भएको छ भने उनकी आमा हिरा अधिकारी घाइते भएकी छिन् ।
दुर्घटनापछि ट्रक चालक गजुर ६ रोल्पाका विश्वदिप परियारलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । मृतकहरुको शोकमा देउखुरी उद्योग बाणिज्य संघले आइतवार देउखुरी उपत्यका बन्द गरेको छ । यसैगरी राप्ती टेम्पो टेक्सी तथा मिनि बस व्यवसायी समितिले आज दिउँसो १२ देखि २ बजेसम्म शोकमा यातायात बन्द गर्ने निर्णय गरेको छ ।
No comments:
Post a Comment