२४ पुस, काठमाडौं ।
सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्माले लडाकूहरु अहिले पनि माओवादीकै चेन आफ कमाण्डमा चलिरहेको बताउनु भएको छ ।
संसदको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा शर्माले लडाकूहरु पार्टीको चेनअफ कमाण्डमा चलेकै कारणे विशेष समिति र सचिवालयका निर्णय लागू गर्न समस्या परेको बताउनुभयो । राष्ट्रसंघीय नेपाल मिसन अन्मिनले यकिन तथ्यांक नदिएका कारण लडाकूको संख्याबारे समस्या परेको बताउनुभयो । उहाँले सुरुमा दर्ता भएका मध्ये २४ सय ३२ जना लडाकू पछिल्लो समय शिविरमा नरहेको र उनीहरुको नामबाट कुनै पनि रकम दुरुपयोग नभएको बताउनुभयो ।
व्यक्ति-व्यक्तिलाई रकम दिएको र त्यसको प्रमाण तथा भर्पाई सुरक्षित रहेकाले रकम दुरुपयोग नभएको उहाँको दावी छ । सचिवालय संयोजक शर्माले लडाकूहरुको शिविरमा कोही पनि भारतीय नागरिक नभएका समेत स्पष्ट पार्नुभयो ।
चिवालय संयोजक शर्मासँगको छलफलपछि लेखा समितिले शिविरमा अनुपस्थित भएका लडाकूको तथ्यांक तीन दिनभित्रमा पेश गर्न शान्ति मन्त्रालयलाई निर्देशन दिएको छ । शिविरमा नभएका लडाकूको नाममा पैसन लगेर माओवादीले संस्थागत भ्रष्टाचार गरेको भन्दै सभासदहरुले आवाज उठाएपछि लेखाले छानवीन थालेको छ ।
ढाँटे संयोजकले
शान्तिमन्त्री पहाडी र सचिवालय संयोजक शर्माले जनसेनामा भारतीय नागरिक नभएको बताएपनि माओवादी लडाकू कमाण्डरहरुले त्यस्ता ६ जनालाई स्वेच्छिक अबकाशको रकम उपलब्ध गराउन माग गरिरहेका छन् । अनमिनले प्रमाणिकरण गरेको सूचीमा समेत ६ जना भारत ठेगाना उल्लेख गरेका नागरिकहरु भेटिएका छन् । जसमध्ये एकजनाले समायोजन र अन्यले स्वेच्छिक अबकाश रोजेको बताइएको छ ।
बिशेष समिति सचिवालयले लडाकूको रकम खातामै हालिदिने भएकाले नागरिकता नभएका त्यस्ता भारतीय मुलका जनसेनालाई कसरी रकम दिने भन्ने अन्यौल भएको छ । बिशेष समितिले नागरिकता बिनैपनि जनसेनाको खाता खोल्न तीनवटा सरकारी वैंकलाई आग्रह गरेको छ ।
हाल कम्पनी कमाण्डर रहेका भारतको दार्जलिङका अमर सुब्बा, सिक्कीमकी चन्दा लिम्बु, मोतिहारी बिहारका भोला चौधरी र मोतिहारीकै पन्नालाल चौधरी हाल जनसेनामा कार्यरत छन् ।
भरतमा अंग्रेज हटाउने आन्दोलनमा नेपालीको र नेपालमा राणाशासन हटाउने आन्दोलनमा भारतीय जनताको सहयोग र सहभागिता हुने गरेको इतिहास रहेको भन्दै माओवादीले त्यस्ता भारतीय नागरिकलाई स्वेच्छिक अबकाश दिन माग गरिरहेको छ । यद्यपि राजनीतिक तहमा भने भारतीय नागरिक पनि नेपाली जनसेनामा रहेको कुरा स्वीकार गरिएको छैन् ।
पहिले पनि थिए
माओवादी नेताहरुकाअनुसार जनयुद्धमा आधा दर्जन बढी भारतीय र एक जना बंगलादेशी नागरिक जनमुक्ति सेनामा थिए । बंगलादेशी नागरिक सतोदल हल्दार -पिटर) स्वास्थ्यकर्मी थिए । उनी हाल जनमुक्ति सेनामा छैनन् । झापामा क्लिनिक खोलेका र नेपाली केटी बिहे गरेका हल्दारमाथि ससुराली पट्टटिबाट ठूलो हेपाइ भएपछि कपिलवस्तु पुगेर जनयुद्धमा सामेल भएका थिए । पछि उनी जनयुद्धमा सामेल भए जुम्ला हुँदै गण्डक अभियानमा पनि सामेल भए । उनी हाल फेरि स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन् तर जनमुक्ति सेनामा छैनन् ।
दार्जिलिङका युवा धनराज गुरुङ म्याग्दीको बेनी आक्रमणमा मारिए । कतिपय भारतीय कम्युनिष्ट पार्टीका लडाकूहरु नेपालमै आएर युद्धमा सहभागी भएको समेत नेताहरु बताउँछन् ।
No comments:
Post a Comment