२७ पुस, काठमाडौं ।
नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहको दुई सय ५० बर्षपघिको भूमिकामाथि यतिखेर दुई कित्तमा बहस भइरहेको छ । एकथरिले उनलाई राष्ट्रिय एकताका प्रतिक मान्नुपर्ने र उनको जन्मदिनलाई नेपाल दिवसका रुपमा मनाउनुपर्ने माग गरिरहेका छन भने अर्कोथरिले पृथ्वीनारायणले एकीकरणका नाममा नेपालका जनजाती र उनीहरुको भाषासंस्कृतिमाथि दमन गरेको भन्दै उनलाई दमनकारी र क्रुर शासकमात्र ठान्छन् ।
महत्वपूर्ण थियो भनेर पढेका, जाँचमा त्यही लेखेर पास भएका र जानेका नेताहरु अहिले देश चलाउने ठाउँमा पुगेका छन् । ६, ७ वर्षअघिसम्म पनि पृथ्वीनारायण शाहको गुणगान गाएर नथाक्ने तिनै नेता र केही अरु सामाजिक व्यक्तित्व अहिले उनको नाम पनि सुन्न चाहँदैनन् । अनि जनआन्दोलनको बेला राजाको शालिक तोडफोड गर्ने दलकै अर्काथरी नेताहरु अहिले पृथ्वीनारायण शाहको गुनगान गाएर थाक्दैनन् । पृथ्वीनारायणलाई एकताको प्रतीक मान्नुपर्छ भन्नेहरुको लाइनमा राजावादी मात्रै होइनन, अरु धेरै पनि थपिएका छन् ।
राजाको शासन ढालेर सत्तामा पुग्ने बित्तिकै नेताहरुको आँखाले पुराना राजाहरुलाई ‘राजा’ को रुपमा मात्रै देख्यो र उनीहरुको योगदानलाई भुले भन्ने जनगुनासो बढ्न थालेको छ । साँच्चै पृथ्वीनारायणलाई त मान्नुपर्छ भन्नेमा केहीलाई महसुस पनि भएको छ । यही भएर होला पोहोरसाल माधवकुमार नेपाल नेतृत्वको सरकारले एकता दिवसलाई निरन्तरता दिनेबारे छलफल पनि चलायो । फेरि विवाद हुने डरले त्यो प्रयास त्यत्तिकै सेलायो । ‘पृथ्वीनारायण शाहलाई साम्राज्यवादीको पगरी गुथाएर हिंस्रक शासकको उपाधि दिइँदैछ, वास्तवमा यो इतिहास बंग्याउने काम हो’ इतिहासका जानकार रमेश उप्रेतीको भनाई छ ।
पृथ्वीनारायण एकताको प्रतीक हुन् ?
ऊबेला बाइसे, चौबीसे राज्यमा छरिएको मुलुकलाई गोलबन्द गर्ने काम पृथ्वीनारायणले नै गरेका हुन् । अहिले संघीयताको चर्चा चलिरहेको बेला पृथ्वीनारायणको त्यो काम संघीयता बिरोधी थियो भन्नेहरु पनि छन् । तर उनले त्यसो नगरेका भए मुलुक अहिलेको अवस्थामा नहुने र विदेशीको भैसक्नेथियो भन्नेहरु पनि छन् । ‘राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई भुल्न सकिन्न’ पृथ्वी जयन्ती नागरिक समितिका संयोजक मोदनाथ प्रश्रतिले भन्नुभयो -’उनलाई एकताको रुपमा मान्नुपर्छ ।’ तर नागरिक समाजका मल्ल के सुन्दर यो मान्न तयार हुनुहुन्न । ‘उनी शासक मात्र हुन्, एकताको प्रतीक होइनन्’ उहाँले भन्नुभयो -’शासकले राज्य विस्तार गर्नु ठूलो कुरा होइन, अरु शासकले जे गर्थे उनले पनि त्यही गरेका हुन् । यही कारण उनलाई एकताको प्रतीक मान्न सकिँदैन ।’
जनमत थपिँदै
दोस्रो जनआन्दोलन पछि सिहंदरवारको मूल ढोका अघिको पृथ्वीनारायण शाहको शालिकमा तोडफोड मात्र भएन, त्यो झिकेर फाल्नुपर्ने सम्मका माग उठे । चाहिनेभन्दा बढी लोकतान्त्रिक देखाउन त्यतिबेला सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने चलन हटायो । २०६३ सालदेखि सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने चलन हटाएपनि जनस्तरबाट मनाउने क्रम चलिरहेको छ । दिवस मनाउनेहरुलाई शुरुमा धेरैले लोकतन्त्रबिरोधी र राजावादीको रुपमा चिने । राप्रपा नेपाल जस्ता राजावादीहरुले मात्रै मनाउने हो यो भनेरे धेरैले वास्ता पनि गरेनन् । तर एमाले नेता मोदनाथ प्रश्रति लगायतका चर्चित व्यक्तित्वहरुले समेत एकता दिवस मनाउनुपर्छ भन्न थालेपछि यसको समर्थन बढ्न थालेको छ । पृथ्वी नारायण शाहको नाम राष्ट्रिय एकता र अखण्डतासित जोडिएकोले उनलाई भुल्न नहुने धेरैको तर्क छ । अरु राजाहरुले गरेको गल्ती हेरेर पृथ्वी नारायण शाहको अवमूल्यन र ईतिहासप्रति बेईमानी त भैरहेको छैन् भनेर प्रश्न उठाउनेहरु पनि धेरै छन् । ‘राष्ट्रिय एकताको प्रतीककै रुपमा पृथ्वीनारायण शाहलाई लिनुपर्छ’ नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले बताउनुभयो ।
No comments:
Post a Comment