२५ पुस, काठमाडौं ।
एकीकृत नेकपा माओवादीको संस्थापन र बैद्य पक्ष शान्ति प्रक्रिया, संविधान निर्माण र जनपरिचालनका कार्यक्रममा मात्र एक भएर जान सहमत भएका छन् । यससँगै उत्कर्षमा पुगेको माओवादीको विवाद तत्कालका लागि समाधान भएको छ ।
अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा सोमबार प्रचण्ड, बैद्य सहितका शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरणका दुबै प्रतिवेदनलाई छलफलमा लैजाने र शान्ति प्रक्रिया, संविधान निर्माण र जनसंघर्षमा ए भएर जाने सहमति भएको छ ।
प्रचण्ड पक्षीय नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग बताउनुभयो-’शान्ति र संविधानको पक्षमा एक भएर जाने र त्यसमा षड्यन्त्र भए जनसंघर्षमा जाने भन्ने सहमति भएको छ ।’
संविधान निर्माणबाट कांग्रेस पछि हटेको भन्दै बैठकले शान्ति र संविधान निर्माण प्रक्रिया संकटमा परेको ठहर गरेको छ । बैठकले शान्ति र संविधानमा पार्टीको धारणा प्रष्ट रुपमा राख्दै तत्काल जनसंघर्षका कार्यक्रम थाल्ने सहमति भएको छ । बैठकले जनपरिचालनका कार्यक्रम तयार गरी केन्द्रीय समितिको बैठकमा पेश गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको नेता गजुरेलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment