२५ पुस, काठमाडौं ।
बिहान केहीबेर घाम लागेपनि दिउँसो भएपछि काठमाडौं सहित देशैभरको मौसममा एक्कासी परिवर्तन देखिएको छ । अहिले आकाश पुरै बादलले ढाकेको छ भने पानी पनि परिरहेको छ ।
‘पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको हो’ मौसमविद इन्द्रविक्रम सिंहले भन्नुभयो -’यसको प्रभाव देशैभरी परेको छ ।’ मौसमको यो प्रभाव केही दिनसम्म रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मौसम बदली भएसँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको । उच्च पहाडी र हिमाली क्षेत्रमा गएरातिदेखि नै हिमपात शुरु भएको हो । सोमबार त झन् हिमपातको क्रम हृवात्तै बढेको छ ।
सुदूरपश्चिमका पहाडी क्षेत्रमा हिमपातले यातायात नै अवरुद्ध भएको छ । काठमाडौं आसपासका डाँडामा समेत हिउँ पर्न थालेपछि युवायुवतीको ध्यान चाहिं त्यतातिर आकर्षित भएको छ ।
बाजुरालगायत सुदूरपश्चिमका हिमाली जिल्लामा लामो समयपछि वर्षात्सँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । अधिकांश हिमाली क्षेत्रमा शनिबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको हो ।
हिमपातका कारण बाजुरामा दुर्गम गाविसबाट सदरमुकाम आउने जनता बीच बाटामा अलपत्र परेका छन् । हुम्ला, मुगु र बाजुराका जनता अछामको साँफेबगरबाट भएर बाजुरा हुँदै घर जान नपाउँदा दुःखित छन् ।
यता, लामो समयदेखि पानी नपरी कृषि बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि किसान खुसी भएका छन् । अन्न बाली राम्रो हुने उनीहरुको आशा छ ।
No comments:
Post a Comment