८ माघ, भक्तपुर ।
जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले यस वर्षको एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइका लागि आवश्यक तयारी पुरा गरेको छ । एसएलसी परीक्षा आगामी चैत ७ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
माघ १२ गतेदेखि केन्द्रमा कडा सुरक्षा व्यवस्था एवम् अति गोपनीयताका साथ प्रवेशिका अर्थात् एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ सुरु गरिने केन्द्रले जनाएको छ । केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयमा तीनवटा शैक्षिक सुरक्षण मुद्रणालय अर्थात् सेक्युरिटी प्रेसमा सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ गरिने जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीनवटा घेरा बनाएर सुरक्षाको व्यवस्था गने छन् ।
प्रश्नपत्र छपाइ अवधिभर छपाइमा संलग्न गोप्य शाखाका कर्मचारीलाई काम नसकिएसम्म घरजान नदिइने, परिवार तथा आफन्तसँंग सम्पर्क गर्न नदिइने र मोबाइल लान नदिइने व्यवस्था गरिएको केन्द्रले जनाएको छ । आवश्यक परे परीक्षा नसकिएसम्म प्रश्नपत्र छाप्ने, प्याकिङ गर्ने र ब्यान्डिङ गर्ने कर्मचारीलाई केन्द्रले प्रेसमै राख्न सकिने व्यवस्था समेत गर्ने छ ।
गोप्यताका लागि प्रश्नपत्र छपाइ हुने क्षेत्रमा १६ वटा सिसिटिभी जडान गरिएको छ । प्रश्नपत्र छपाइ अवधिभर परीक्षा नियन्त्रण कार्यालय र केन्द्रका प्रमुख व्यक्तित्व समेत सेक्युरिटी प्रेसमै रहेर निगरानी गर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस वर्ष पाँच लाखभन्दा बढी परीक्षार्थीका लागि करिब एक करोड थान प्रश्नपत्र छापिने भएको छ । २० देखि २५ दिनभित्र छपाइ सिध्याउने केन्द्रको लक्ष्य छ । विगतमा भारतमा प्रश्नपत्र छपाइ हुँदै आएकामा विदेशमा प्रश्नपत्र छपाइ गर्दा नेपालको करोडौं रकम बिदेसिने तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्दै आएपछि गत वर्षदेखि नेपालमा नै प्रश्नपत्र छपाइ सुरु भएको हो । रासस
No comments:
Post a Comment