सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 3, 2012

आफ्नै महलमा बसेर राज्यबाट ‘घरभाडा’ लिन्छन नेताहरु

१९ पुस, काठमाडौं ।
 काठमाडौंमा आलिसान बंगलामा बस्दै आएका शीर्ष नेताहरुससहित अधिकांश सभासदहरुले राज्यबाट ‘घरभाडा’ लिइरहेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल, माले महासचिव सीपी मैनाली, माओवादी सभासद् अमिक शेरचन र नेमकिपा नारायणमान बिजुक्छे यस्ता मुख्य नेताहरु हुन जसले आफ्नै घरमा बसेर फेरि राज्यबाट घरभाडा लिइरहेका छन् ।
संसद सचिवालयको लेखा शाखाका अनुसार ९ जना सभासदले मात्र घर भाडा लिदैनन् । कुल ५ सय ९५ सभासद्मध्ये कतिपयको त काठमाण्डौंमा घर छैन, उनले सचिवालयबाट घरभाडाको खर्च लिनु स्वभाविक हो । तर, काठमाण्डौंमै आफ्नै घरमा वसिरहेका राजनीतिक दलका ठूला नेताहरुदेखि सभासदसम्म सवैले लाज पचाएरै मासिक ६ हजार ५ सय रुपैयाँ घरभाडा लिन्छन् । त्यतिमात्र हैन बाषिर्क करोडौं रुपैयाँको कारोवार गर्ने ब्यापारी सभासद्हरुले पनि घरभाडा लिइरहेका छन् । सभासद्को घरभाडामा मात्रै गएको चार बर्षमा करिव १९ करोड रुपैयाँ राज्यको पैसा खर्च भइसकेको छ ।

आफ्नै घरमा बसेर पनि किन घर भाडा लिने गर्नु भएको भन्ने प्रश्नमा एमाले अध्यक्ष खनालका स्वकीय स्वचिव निर्मल भट्टराईले भन्नुभयो-’घर त सिमेन्ट र इटको मात्र हुन्छ । त्यसलाई डेकोरेसन र मेन्टिनेन्स गर्नु पर्‍यो । त्यै भएर घरभाडा लिएको हो ।’ एमाले वरिष्ठ नेता नेपालका स्वकीय सचिव निर्मल पौडेलले भने यसबारे आफूलाई थाहा नभएको भन्दै भने- ‘खै उहाँले त नलिनुपर्ने हो ।’ कांग्रेस सभासद् नविन्द्रराज जोशीले भने संसद् सचिवालयबाट आएको घर भाडा वापतको रकम भाषा र संस्कृतिको विकासमा खर्चिएको बताउनु भयो । ‘संसद सचिवालयबाट लिन्छु तर, त्यसलाई भाषा र संस्कृतिको विकासमा खर्च गर्ने गरेको छु’ उहाँले भन्नुभयो-’हालै दुर्गालाल श्रेष्ठको पुस्तक निकाल्न सहयोग गरेँ ।’
जसले घर भाडा लिँदैनन्
आफ्नै घरमा बसेका कारण आफुलाई घरभाडाबापतको सरकारी रकम जरुरी नभएको भन्दै केही सभासद्ले भने घरभाडा लिंदैनन् । सचिवालयका अनुसार यसरी घरभाडा नलिने सभासदहरुमा नेपाली कांग्रेसका प्रकाशमान सिंह, रामशरण महत र दिवाकर गोल्छा, एमालेका रामनाथ ढकाल, विनोद चौधरी, माओवादीका इश्वरीप्रसाद दहाल, पद्म ज्योती, मालेका राजेन्द्र खेतान र मधेसी जनाधिकार फोरमका मधुसुदन अग्रवाल रहेका छन् ।
तलव नलिने पनि छन्
संसद सचिवालयका अनुसार कांग्रेस सभासद गगन थापाले संविधानसभाको म्याद थपिएपछि तलब सुविधा लिन छाड्नु भएको छ । तर, उहाँका स्वकीय सचिवले तलव भने लिने गर्नु हुन्छ । यसैगरी नेकपा संयुक्तका सभासद सुनिलबाबु पन्तले तलबभत्ता लिनु हुन्न । तर, उहाँको तलवभत्ताबाट मासिक १५ हजार उहाँको पार्टीले लिँदै आएको छ । यस्तै माओवादी सभासद् पद्म ज्योतीले आधा तलब लिनुहुन्छ भने बैठक भत्ता लिने गर्नु भएको छैन् । यस्तै राप्रपा नेपालका सभासदहरुले संविधानसभाको म्याद थपिएपछि बैठक भत्ता लिन छाडेको छ भने फोरम लोकतान्त्रिकका संजय साहले २ वर्षदेखि तलब भत्ता लिनु भएको छैन् । स्वतन्त्र सभासद् बिशेन्द्र पासवानले बिचमा केही महिना तलब नलिने भन्दै केही रकम सचिवालयमा फिर्ता गरेको भएपनि गएको जेठदेखि हल्ला नगरि तलब लिन थाल्नुभएको छ ।

No comments:

Post a Comment