सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, December 5, 2011

मदिरा सेवन गर्ने ३५९ प्रहरी नियन्त्रणमा

काठमाडौं, मंसिर २० - 
प्रहरीले मदिरा सेवन गर्ने चालकमाथि कारबाही थालेको तीन दिनमा ३ सय ५९ जनालाई नियन्त्रणमा लिएको छ । त्यसमध्ये ११ जना महिला छन् । उनीहरूलाई एक रात नियन्त्रणमा राखी एक हजार जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका डिएसपी विश्वराज पोखरेलका अनुसार शुक्रबार १ सय ६८, शनिबार १ सय ५० र आइतबार ४१ जनामाथि कारबाही गरिएको हो । मदिरा सेवन गर्ने चालकबाट उपत्यकाको सडकमा बढी दुर्घटना हुने गरेको देखिएको नियन्त्रणका लागि कारबाही थालेको उनले बताए ।
उपत्यकामा भदौदेखि मंसिर १९ गतेसम्म भएका १ हजार ७ सय २५ दुर्घटनामध्ये ५२ जनाको मृत्यु भएको छ । ९ सय ५० जना साधारण घाइते र १ सय ५६ जना गम्भीर घाइते भएका छन् । त्यस्तै मंसिरमा मात्रै १२ जना मृत्यु भइसकेको छ । 
सवारी जाँचको क्रममा मदिराको गन्ध आए नियन्त्रणमा लिएर मेडिकल परीक्षण गरी एक रात हिरासतमा राख्ने गरेको उनले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआजी गणेशराज राईले नियन्त्रणमा लिएको भोलिपल्ट मदिरा सेवनबाट हुन सक्ने घटनाको प्रशिक्षण दिएर छाड्ने बताए । ट्राफिकले यातायात व्यवस्था कार्यालयलाई मोबाइल कोटबाट कारबाही गर्न जिम्मा लगाउने गरेको छ । यसरी कारबाही गर्दा १ हजार जरिवाना पर्छ । पैसा तिरेपछि पनि त्यत्तिकै छुटन पाउँदैनन् । आफन्तलाई बोलाएर जिम्मा लगाउने गरेको छ ।

काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले पहिलो पटक एक रात राखेर छाडिए पनि दोस्रो पटक भेटिए सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाउने बताए । 'लाइसेन्स नम्बर र नाम रेडर्कमा छ,' उनले भने- 'दोस्रो पटक हुनेबित्तिकै सार्वजनिक मुद्दा चलाउँछौं ।'
मुलुककै फराकिलो ६ लेनमा अन्य स्थानमा भन्दा बढी कडाइ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए । चेकिङका लागि चोकचोकमा प्रहरी खटिने गरेको उनले बताए । दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आठदेखि राति १२ बजेसम्म परिसर तथा मातहत प्रहरी इकाइहरूबाट राजमार्गमा चल्ने सवारी साधन चेक गरेर १८ जना नियन्त्रणमा लिएको परिसरले जनाएको छ । त्यस्तै परिसरका अनुसार सवारी साधन चेकजाँचको क्रममा ४ सय लिटर अवैध घरेलु मदिरा बरामद गरी आन्तरिक राजस्व कार्यालय पठाइएको छ ।
 'मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा उसलाई मात्रै क्षति हुँदैन । अरूलाई पनि गराउँछ,' पोखरेलले भने, 'सेवन गर्नु गम्भीर कसुर हो । यसबाट गम्भीर दुर्घटना र अपराध हुनसक्छ ।' मदिरा सेवन गर्नु अपराध भएपछि राख्ने ठाउँ अभावकै कारणले थुनुवा कक्षमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।
मदिरा सेवन गरेर चलाउन नपाउने सूचना नदिई प्रहरीले नियन्त्रणमा लिएको भन्दै पक्राउ पर्नेहरूले आपत्ती जनाउने गरेका छन् । 'मदिरा सेवन गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिनु ठीक हो, नियमित पनि हुनुपर्छ,' प्रहरी नियन्त्रणमा परेका एक कर्मचारीले भने, 'समात्नुअघि सूचना दिएको भए राम्रो हुन्थ्यो  ।'

No comments:

Post a Comment