सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, December 5, 2011

हडताल गर्नेलाई भिसा नदिइने

काठमाडौं , मंसिर २० -
 बन्द/हडतालजस्ता गतिविधिमा उत्रने संघसंस्था वा समूहका प्रतिनिधिहरूलाई भिसा उपलब्ध नगराउने र कूटनीतिक वृत्तका अन्य कार्यक्रममा सहयोग नगर्ने भनी युरोपेली संघसहितका मुलुकले पुनः सर्कुलर जारी गरेका छन् ।
काठमाडौंस्थित एक युरोपेली दूतावास अधिकारीका अनुसार बेलायती, नर्वेजियन, फिनिस, जर्मनसहितका दूतावासले आफ्ना सम्बद्ध निकायमा आन्तरिक सर्कुलर पठाएका हुन् ।
सर्कुलरमा तीन महिनाअघि जारी भएको 'कूटनीतिक नोट' स्मरण गराउँदै शान्तिपूर्ण आन्दोलनका अन्य आधार हुँदाहुँदै र जनजीवनलाई अहित पुग्ने गरी बन्द/हडतालजस्ता गतिविधिमा लाग्ने संघसंस्थाका प्रतिनिधिहरू निगरानीमा रहन सक्ने जनाइएको छ ।
युथफोर्सले सोमबार अपराह्न आफ्नो हडताल कार्यक्रम फिर्ता लिए पनि त्यसअघि नै अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो फेसबुक पेजमा लोकतान्त्रिक पद्धति स्वीकार्छु भन्ने दलका भ्रातृ संगठनले अपनाउने बन्द/हडतालको राजनीतिक शैलीको विरोध जनाएका थिए ।
आम नागरिकले हैरानी बेहोर्नुपर्ने प्रकृतिको हडताल कार्यक्रममा नलाग्न एमालेको युथ फोर्सलाई आग्रह गरिरहेका राजदूत डेलिसीले अपराह्न भने हडताल फिर्ता लिएकोमा युथफोर्सलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले युवा स्वरोजगार कोषका कामकारबाही तत्काल रोकेर अनियमितताबारे छानबिन गर्ने प्रतिबद्धता जनाएपछि एमाले युवा संघले मंगलबार गर्ने भनिएको उपत्यका बन्द फिर्ता लिएको छ ।

No comments:

Post a Comment