बागलुङ, मंसिर १९ -
प्रेमिकालाई धोका दिएर अर्को विवाह गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । भकुण्डे-९ का नारायण शर्माले म्याग्दीकी युवतीसँग प्रेम सम्बन्ध राखेर छिस्तीकी अर्की युवतीसँग विवाह गर्न लागेका थिए । प्रेमिकाको उजुरीले उनी पक्राउ परेका हुन् ।
प्रेमिकाले विवाह भइरहेको बागलुङ कालिका मन्दिरमा पुगेर आफ्नो ३ वर्षदेखिको प्रेम सम्बन्ध तोडेर विवाह गर्न नदिने भन्दै होहल्ला गरेपछि विवाह बिथोलिएको छ । जन्ती र दुलही पक्षबीच विवाद चर्केपछि प्रहरीले नियन्त्रणमा लिएर उनीहरूको विवाद समाधान प्रक्रिया थालेको छ । पक्राउ परेका शर्माबाट दुलही बनेर आएकी छिस्तीकी युवतीका आफन्तले २ लाख ५९ हजार १ सय रुपैयाँ क्षतिपूर्ति भराएका छन् । उनीहरूले विवाहको तयारी गर्दा लागेको खर्च भन्दै त्यति तिराएको बताएका छन् । शर्माले पूर्वप्रेमिकासँगै विवाह गर्ने आश्वासन दिएपछि विवाद केही समाधान भएको छ ।
म्याग्दीको घतानकी प्रेमिका शर्माको विवाह हुन लागेको थाहा पाएपछि शनिबार बागलुङ आएकी थिइन् । कक्षा ९ मा अध्ययन गर्ने ती युवती र शर्माले विवाह गर्ने वाचा गरेका थिए । तर, छलेर अर्कैसँग विवाह गर्न लागेको थाहा पाएर बागलुङ आएको बताइन् । 'विवाह मण्डपमै पुगेर फिल्मी शैलीमा नरोकेको भए उनको विवाह भइसक्ने थियो,' डीएसपी उमाप्रसाद चतुर्वेदीले भने, 'युवती सचेत भएकाले विवाह नसकिँदै आएर आफ्नो वास्तविकता बताउन सफल भइन् ।' बेहुला शर्मा नेपाली सेनामा मुस्ताङ जिल्लामा कार्यरत छन् । मण्डपमै बसेर पनि विवाह रोकिएको बागलुङमा यो पहिलो र नौलो घटना हो ।
No comments:
Post a Comment