सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, November 23, 2011

पेरिसडाँडाबाटै १० करोड बेपत्ता

काठमाडौं । एमाओवादीको आधिकारिक निकायबाट पार्टी अध्यक्ष प्रचण्डलाई आर्थिक अनियमितताको आरोप लागिसकेको थिएन। हुन त उपाध्यक्ष किरण र बाबुरामले प्रचण्डसँगको फरक मतमा पार्टीभित्र आर्थिक अराजकता र भ्रष्टाचार प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसमा नेतृत्व पंक्तिका कमरेडहरुको पनि कमजोरी रहेकोसम्म उल्लेख गरिन्थे। पार्टीको केन्द्रीय समिति, पोलिटव्युरो, स्थायी या पदाधिकारी कुनै निकायमा पनि प्रचण्डबाट आर्थिक अनियमितता भएको आरोप लगाइएको थिएन।
तर, एमाओवादीको यस्तै शक्तिशाली एउटा निकायबाट भने गम्भीर आरोप लगाइएको साँघु साप्ताहिकले छापेको छ। त्यो पनि जनताले निर्वाचित गरी पठाएका प्रतिनिधिहरु चोर औंला ठड्याएर अनियमितता पुष्टि गराउन लागिपरेका छन्। उनीहरुको त्यही चोर औंला अहिले तत्काल हिसाबकिताब सार्वजनिक गर्न भनिरहेका छन्। हुन त, विगत केही महिनादेखि यस्तो चर्चा सुनिन थालेको थियो। बाहिर चर्चा मात्र होइन बैठकमै कुरा उठाइएपछि भने प्रचण्डपक्षका लागि गम्भीर टाउको दुखाइको विषय बनेको छ। हुन पनि हजार या लाखको कुरा पनि होइन। र, आरोप एक दुई करोडको पनि होइन। १० करोड भन्दा बढी रुपैयाँ प्रचण्डले कुम्ल्याएको आरोप छ। प्रंसग, संसदीय दलको हो। एमाओवादीका २ सय ३८ जना सभासद्ले दलको कार्यालयमा मासिक १० हजार रुपैयाँ बुझाउँदै आएका थिए। २०६४ अर्थात् संविधानसभा निर्वाचनबाट निर्वाचित भइआएका सभासद्ले अहिलेसम्म मासिक १० हजार रुपैयाँ बुझाइरहेका छन्।
सभासद्ले संविधानसभाबाट पाउने मासिक तलब भत्ताबापतको एकमुष्ट रुपैयाँबाट पार्टीको नाममा मासिक १० हजार रुपैयाँ काटिने गरेको छ। पार्टीको संसदीय दलको नाममा खाता खोलिएको छ र एमाओवादीका सबै सभासद्को तलबभत्ता त्यही खातामा जम्मा हुन्छ। एकमुष्ट रुपमा उक्त खातामा आएको रकमबाट सभासद्ले १० हजारका रकमका दरले विगत साढे तीन वर्षदेखि तलबभत्ता बुझिरहेका थिए। तर,दलको कार्यालयको खातामा जम्मा गर्ने र उक्त रकम सहिद, बेपत्ता परिवार र घाइते, अपांगलाई राहतस्वरुप केही रकम मासिक रुपमा वितरण गर्ने योजना बनाइएको थियो। उक्त रकम न सहिद परिवार तथा घाइते र अपांगले नै पाए न त दलको खातामा नै पैसा भेटियो। मासिक रुपमा जम्मा भएको पैसा नयाँ बजार पुगेर खर्च भएको देखिएपछि सभासद् आक्रोशित बनेका हुन्। त्यसमा पनि एमाओवादीका किरण पक्षका सभासद् बढी आक्रोशित भएका हुन्।
बाबुराम पक्षका सभासद्ले पनि केही समय पहिला कुरा उठाएका भए पनि दलको बैठकमै विषय राख्न भने सकेका थिएनन्। तर, अहिले किरण पक्षका सभासद्ले भने बैठकमा कुरामात्रै राखेनन् जसरी पनि हिसाबकिताब सार्वजनिक गर्न दबाब दिइरहेका छन्। एमाओवादीका २ सय ३८ सभासद्बाट मासिक १० हजारका दरले २३ लाख ८० हजार रुपैयाँ जम्मा हुन्छ। संविधानसभा निर्वाचनयताका ४३ महिनामा १० करोड २३ लाख ४० हजार रुपैयाँ रुपैयाँ दलको खातामा जम्मा हुनुपर्ने थियो। तर अहिलेसम्म उक्त रकम प्रचण्डले व्यक्तिगत रुपमा खर्च गरेको सभासद्को आरोप छ। ‘विगतदेखि नै हामीले उक्त रकमको हिसाबकिताब मागिरहेका छौं र यो विषयलाई बैठकमा पनि राखेका छौं। सदुपयोग नहुने हो भने हाम्रो श्रमबाट काटिएको पैसा किन दिने भन्ने प्रश्न पनि साथीहरुबाट उठेको छ।’ संसदीय दलकी पूर्व सचेतक जयपुरी घर्तीले साँघु साप्ताहिकसँग भनिन्।

No comments:

Post a Comment