सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 21, 2011

पुनःस्थापनामा लडाकुको किन गएन मन ?

५ मंसिर, काठमाडौं ।
 घरपरिवार र स्वतन्त्र जिन्दगी सबैथोक त्यागेर पार्टीमा होमिएका माओवादी लडाकुहरु अहिले धमाधम आफ्नो भविष्य रोज्दैछन् । शनिबारदेखि शुरु भएको लडाकु वर्गीकरण प्रकृयामा माओवादी लडाकुले समायोजन, पुनःस्थापना र स्वेच्छिक अवकाशमध्ये एक विकल्प रोज्न पाउँछन् । वर्गीकरण भैरहेका सातवटै शिविरमा धेरै लडाकुहरुले समायोजनको विकल्प रोजेका छन् । पुनस्र्थापना प्याकेजमा अहिलेसम्म कसैले रुची देखाएको छैन भने अपांग, घाइते, सुत्केरी, अरु अस्वस्थ र सेनामा रुची नभएकाहरुले चाहिं स्वेच्छिक अवकाश रोजेका छन् ।
वैद्य पक्षले समायोजनको विकल्प नरोज्न निर्देशन नै दिएको अवस्थामा समायोजनको विकल्प रोज्ने लडाकुको संख्या कम हुन्छ कि भन्ने आशंका गरिरहेको बेला लडाकुको आकर्षण यसमै बढी देखिएको छ । सहमति अनुसार समायोजन हुने लडाकुको संख्या ६ हजार ५ सय पुग्दैन भनेर बाहिर चर्चा चलिरहेको बेला यो आशंका चिर्नकै लागि माओवादी नेताहरुले नै समायोजन प्याकेज रोज्न हौस्याएको हुनसक्ने एकथरीको अनुमान छ । समायोजनमा गैसकेपछि पनि पछि विकल्प रोज्न सकिने भएकाले यसप्रति आकर्षण बढेको हुनसक्ने अर्काथरीको भनाई छ । ‘समायोजनमा पछि नसकिँदा छाडेर स्वेच्छिक अवकाश वा पुनस्र्थापना प्याकेज रोज्न सकिने भएकाले धेरैको आकर्षण बढेको हो’ दोस्रो डिभिजन सिन्धुली दुधौलीका डिभिजन कमाण्डर सुकबहादुर रोकाले भन्नुभयो ।
पुनस्र्थापनामा किन गएन मन ?
‘डोकाडाला बुन्न र सुंगुर बाख्रा पाल्न त हामीले जानेकै छौं नि । किन सिक्नुपर्यो ?’ पुनस्र्थापना प्याकेजमा भएको व्यस्थाप्रति पहिलो डिभिजन इलामको चुलाचुलीका एक लडाकुले गरेको व्यंग्य हो यो । पुनस्र्थापनामा जान चाहनेलाई ६ देखि ९ लाख रुपैंयासम्मको आकर्षक प्याकेज दिने सहमति भएपनि लडाकुहरु पुनस्र्थापना प्याकेज भरपर्दो नभएको भन्दै हच्किएका छन् । पहिले अयोग्य भनेर हेलाँहोचो गरेजस्तै पुनस्र्थापनालाई पनि यस्तै रुपमा लिईने हो की भन्ने उनीहरुको डर छ । ‘पहिले अप्रमाणित लडाकुका बेलाको अनुभवका कारण पनि पुनस्र्थापनामा कोही उत्साहित नभएका हुन्’ दोस्रो डिभिजनका कमाण्डर सुकबहादुर रोकाले भन्नुभयो ।

पुनस्र्थापना प्याकेजले भविष्य राम्रो छ भन्नेमा धेरै लडाकु विश्वस्त हुन सकेका छैनन् । ‘अनमिनको बहिर्गमनमा परेका लडाकु अहिलेसम्म बिचल्लीमा रहेकाले पुनस्र्थापना प्याकेज लिँदा पनि यस्तै हुन्छ की भन्ने धेरैलाई आशंका छ’ सातौं डिभिजनका कमाण्डर जीवन बुढाले भन्नुभयो । धेरै पुनस्र्थापना प्याकेज लिन कुर्न पर्ने भएकाले पनि यसमा आकर्षण हुन नसकेको सेना समायोजन विशेष समितिको अनुमान छ । ‘चार तहमा लिनुपर्ने र समय धेरै लाग्ने भएकाले यसमा आकर्षण नभएको हुन सक्छ’ सचिवालय सदस्य शम्भुराम सिंखडाले भन्नुभयो । माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल बलदेवका अनुसार पुनस्र्थापना प्याकेज सुनिश्चित नभएकाले लडाकुको आकर्षण नभएको हो । ‘स्वच्छिक र पुनस्र्थापना उस्तै उस्तै भयो । सीप सिकेर पनि काम गर्ने ठाउँ र वातावरण छैन भन्ने लडाकुलाई लाएको हुन सक्छ’ बलदेवले अनलाईन खबरसित भन्नुभयो ।
विशेष समितिले पारित गरेको पुनस्र्थापना प्याकेज चार तहमा वर्गीकरण गरिएको छ । औपचारिक अनौपचारिक शिक्षा, स्वेच्छिक रोजगार, कृषि, व्यवसाय लगायतलाई विकल्प सहित पुनस्र्थापना प्याकेजमा राखिएको छ । चार वर्षको प्याकेज अनुसार एक वर्षका लागि ६ लाख, दुई वर्षका लागि सातलाख, तीन वर्षका लागि आठ लाख र चार वर्षको लागि नौ लाख रुपैंयाको पुनस्र्थापना प्याकेज तय भएको छ । ‘लडाकुले आशंका गर्नु पर्दैन’ विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले भन्नुभयो -’लडाकुहरुले रोजेको पुनस्र्थापना प्याकेजमध्ये लडाकुहरुको व्यक्तिगत तथा प्याकेजमा लाग्ने खर्च कटाएर बाँकी रहने रकमको ३० प्रतिशत एकमुष्ठ रकम शिविर छाड्ने बेलामा लडाकुलाई दिइन्छ । बस्ने खाने खर्च समेत प्याकेजको कूल रकमबाट कटाइनेछ ।’
घर व्यवहार धान्ने सपना
लडाकु भएर शिविरमा बसेका कतिपय घरगृहस्थी चलाउने र सामान्य जीवन जीउने सुरमा छन् । प्रायः घाइते, अपांग र अरु अस्वस्थ लडाकुले स्वेच्छिक अवकाश रोजेका छन् । ‘कुममा चोट लागेको छ । त्यसैले जहान परिवार स्याहार्दै पार्टीको काम गर्ने हो ।’ इलामको चुलाचुलीमा रहेको पहिलो डिभिजनमा रहेकी ललिता शेर्पाले भन्नुभयो ।
तेस्रो डिभिजन चितवनको शक्तिखोरमा रहेका बाजुराका मानबहादुर क्षेत्री परिवारसित परामर्श पछि भविष्य रोज्ने सुरमा हुनुहुन्छ । उहाँले पनि स्वेच्छिक अवकाश रोज्नुभएको छ । कतिलाई घरपरिवारको चिन्ता छ । ‘लथालिंग अवस्थामा छोडेर आएको घर व्यवस्थित गर्ने जिम्मेवारी छ मेरो’ संखुवासभा घर भएका पहिलो डिभिजनका लडाकु लाक्पा शेर्पाले भन्नुभयो -’अहिलेसम्म ज्यान हत्केलामा राखेर लडियो, अब घरबारको चिन्ता पनि लागेको छ ।’ तर स्वेच्छिक अवकाशमा जानेहरुको पनि आफ्नै दुखेसो छ । घाइते, अपांग र अशक्तहरुको लागि उचित व्यवस्था नभएको भन्दै उनीहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
‘१२ गते नभ्याइन सक्छ’
दलहरुको सहमति अनुसार लडाकु पुनर्वर्गीकरणको काम यही सात गतेसम्म सकिनुपर्ने हो । तर शुरु हुन ढिलाई भएकाले १२ गतेसम्म वर्गीकरणको काम सक्ने अर्को तालिका बन्यो । तर यो तालिका अनुसार पनि काम सक्ने सम्भावना कम भएको छ । ‘सकेसम्म १२ गतेसम्म सक्ने योजना त हो तर केही दिन लम्बिन सक्छ’ माओवादी सेनाका डेपुटी कमाण्डर तथा प्रवक्ता बलदेवले अनलाईन खबरसित भन्नुभयो । आवश्यक तयारी नभएकाले पूर्व योजना अनुसार काम हुन नसक्ने उहाँको भनाई छ । तैपनि वर्गीकरण प्रकृयामा लडाकुको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment