सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 17, 2012

गुट-उपगुट अन्त्य गर्ने माओवादी शीर्ष नेताहरुको उद्घोष


२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले पार्टीभित्रका सबै गुट तथा उपगुट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गुट-उपगुटले अन्ततः पार्टीलाई कमजोर बनाएको भन्दै नेताहरुले निर्मम रुपमा त्यसका विरुद्ध शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पार्टीको सातौं विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको गुट तथा उपगुट अन्त्य गर्ने अभियान आजैदेखि सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘सातौँ विस्तारित बैठकबाटै गुट अन्त्य भएर पार्टी नयाँ आधारमा एकताबद्ध भएर जानेछ, त्यो अभियान पार्टी नेतृत्व हुनाको नाताले अध्यक्षबाटै सुरु हुनेछ ।’
विगतमा आफूले उदार भएर पार्टीभित्र देखिएका विचार समूहलाई छुट दिँदा पार्टी विभाजनसम्म पुगेकाले आगामी दिनमा त्यस्तो छुट नदिइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’कम्युनिस्ट पार्टीको प्रमुख नीतिका रुपमा रहेको जनवादी केन्द्रीयतालाई कडाइका साथ लागु गरिन्छ, कोही कसैलाई छुट दिइँदैन ।’
प्रचण्डले पार्टी फुटको औचित्य पुष्टि गर्न नयाँ पार्टी निर्माण गर्नुभएको मोहन वैद्यलाई चुनौती दिनुभयो । उहाँले भन्नुभयो- ‘शान्ति र संविधान निर्माणको प्रक्रिया पूरा नभएको सन्दर्भमा वैद्यजीहरुले पार्टी फुटाएर भयानक कमजोरी गर्नुभएको छ, त्यसको औचित्य इतिहासले कुनै पनि अवस्थामा पुष्टि गर्ने छैन ।’ विचार र कार्यदिशामा कुनै फरक नभए पनि पार्टी फुटाएर नेपाली जनता, सहिद तथा घाइते योद्धाको भावना र चाहनामाथि गम्भीर धोका दिएको वैद्य पक्ष अन्ततः बाध्य भएर पार्टी एकतामा आउने र इतिहासले बाध्य पार्ने उहाँको भनाई थियो ।
शान्ति र नयाँ संविधान निर्माण गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागे पनि संसद्वादी शक्तिका कारण पूरा हुन नसकेको भन्दै उहाँले संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-’केही संसद्वादी दल १२ बुँदे सहमतिभन्दा अगाडिको अवस्थामा मुलुकलाई लैजान चाहेका छन्, त्यस्तो पश्चगमन आफ्नो पार्टीलाई स्वीकार्य छैन, नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।’
उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले चालु बैठकबाट पार्टीभित्रका गुट उपगुटको अन्त्य गरिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो-’पार्टीभित्रका गुट उपगुटको खारेजी यो बैठकबाट गरिनेछ, यो नै यो बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धि हुनेछ ।’ उहाँले दसवर्षे जनयुद्धको क्रममा अहिलेभन्दा भीषण अन्तरसङ्घर्ष भए पनि पार्टीलाई नफुटाई यहाँसम्म ल्याइएको स्मरण गर्नुभयो । उहाँले पार्टी अध्यक्षको वरिपरि रहेको नेतृत्वको समूह कुनै पनि हालतमा नफुट्ने र अझ एकताबद्ध भएर जानेमा कार्यकर्ता पङ्क्तिलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

शान्ति र संविधानको बाटाबाटै क्रान्तिलाई पूर्णता दिनेमा पार्टी शीर्ष नेताका बीच मतैक्य रहेको भन्दै भट्टराईले आफूहरुलाई जतिसुकै उत्तेजित पारे पनि शान्ति र संविधानको बाटोबाट विचलित नहुने बताउनुभयो ।
अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आजैदेखि पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो-’आजैको मितिदेखि गुटबन्दीको अन्त्य गरिनेछ, गुटबन्दी क्रान्तिकारी पार्टीका लागि विषवृक्ष हो ।’ पार्टी अध्यक्षले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनले क्रान्तिमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनता, क्रान्तिको दिशा र पार्टी निर्माणको प्रश्न अहिलेको महत्वपूर्ण विषय भएको बताउनुभयो ।
पार्टी सातौं विस्तारित बैठक आयोजक समितिका संयोजक कृष्णबहादुर महराले पार्टीलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनका लागि बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-’सातौँ विस्तारित बैठक नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा महत्वपूर्ण कोसेढुङ्गा हुनेछ, यसले पार्टीभित्र देखिएको फुटबाट परेको समस्यालाई समेत हल गर्नेछ ।’ मंगलबारबाट सुरु भएको विस्तारित बैठकमा देशभरका पाँच हजारभन्दा बढी राज्य समितिस्तरका कार्यकर्ताको सहभागिता छ ।

No comments:

Post a Comment