सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 17, 2012

विस्तारित बैठकबारे के भन्छन् माओवादी कार्यकर्ता ?


२ साउन, काठमाडौं । बिघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ता यतिबेला सबै काम छाडेर विस्तारित बैठकमा व्यस्त छन् । मंगलवारदेखि शुरु भएको बैठकले पार्टीको भावी कार्यदिशा, कार्ययोजना र कार्यनीति पारित गर्नेछ । मुलुकमा राजनीतिक गतिरोध गहिरिँदै गएको र पार्टी फूटको पीडा कायमै रहेको बेला शुरु भएको विस्तारित बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
विस्तारित बैठकको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । गुटबन्दी गर्ने नेताहरुले नै गुटबन्दी अन्त्य गर्ने कुरा गर्दा कार्यकर्तामा केही उत्साह देखिएको छ । तर उनीहरुले यसलाई व्यवहारमा देखाउनुपर्ने बताएका छन् । विस्तारित बैठकबाट सदस्यहरुको अपेक्षा र सुझाव यस्ता छन् ः

 हिमाल शर्मा
पहिलो कुरा त अगाडि बढ्ने स्पष्ट कार्यदिशा ल्याउन सक्नुपर्छ । अलमलमा पार्ने, कहिले के, कहिले के भन्ने खालका कुरा आउनुहुन्न । स्पष्ट कार्यदिशा हुनुपर्छ । र अहिलेका उपलब्धी छन्, ती सबै उपलब्धीलाई अर्थात भएका उपलव्धीलाई उपलव्धी भन्न सक्नुपर्छ । कमजोरीहरुलाई प्रष्ट कमजोरी भनेर स्वीकार गर्न पनि सक्नुपर्छ । अर्को नेतृत्वको कुरा गर्दा कार्यकर्ता नेताजस्ता, नेता कार्यकर्ता जस्ता भएका छन् । त्यसकारण तुरुन्त महाधिवेशन गरेर निर्वाचित समिति हुनुपर्छ । त्यस समितिले युवाहरुको पनि प्रतिनिधित्व गराउने वातावरण बनाउनुपर्छ । अर्को कुरा जुन गुट उपगुट भन्ने छ, विचार निर्माणको कुरा मिलिसकेपछि अब यहाँ चाहिं गुट उपगुट गर्ने, समूह समूह गर्ने काम यस्तो गर्न हुँदैन । अध्यक्षले उद्घाटनको क्रममा यो कुरा राख्नुभएको छ । त्यो कुरा व्यवहारमा उतार्नुपर्छ र सबै गुटहरुलाई खारेज गरेर पार्टीलाई एकताबद्ध ढंगमा लिएर जाने कुरा हुन्छ । शिक्षालाई कसरी अगाडि बढाउने, युवाहरुको मुद्दा कसरी सम्बोधन गर्ने, कार्यकर्ता र बेरोजगारहरुको अवस्थालाई कस्तो सम्बोधन गर्ने, युवा शक्तिलाई कसरी देशभित्रै व्यवस्थापनको निर्णय लिने भन्ने कुरालाई स्पष्ट रुपमा कार्यदिशाको रुपमा ल्याउन सक्नुपर्छ । अलमल गर्ने, बीचमा दुईवटा कुरा गर्ने गरी जान हुँदैन । क्रान्तिकारी कार्यदिशा सहित अगाडि बढ्नुपर्छ ।
पार्टी किन फुट्यो भन्ने कुराको पनि जवाफ दिने कुराहरु आउँछ । अब एकताबद्ध भएर कसरी जान्छौं भन्ने कुरा प्रष्ट कि प्रष्ट रुपमा अगाडि ल्याउनुपर्छ ।
अञ्जना विशंखे
तात्कालिन कार्यदिशालाई लागू गरेर अगाडि बढ्नुपर्छ । तत्कालिन कार्यदिशा भनेको शान्ति र संविधान मार्फत अघि बढ्ने भन्ने हो । हामीले जनताको कार्यभारलाई पूरा गर्नको निम्ति अधिकतम प्रयत्न गर्नुपर्छ । जनयुद्ध र जनआन्दोलनबाट हामीले जुन आधार र अधिकारहरु तय गरेका थियौं, त्यसलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्छ । अहिले संविधानसभा बिघटन भएको छ, संसद बिघटन भएको छ । नयाँ चुनावले होस् या अरु कुनै प्रकृयाले होस्, जसरी भएपनि हामीले संविधानसभाबाट जनताका आधारभूत समस्यालाई जतिसक्दो चाँडो समेटेर हल गर्न सक्नुपर्छ । नयाँ ढंगले जनवादी कार्यभारहरुलाई आँशिक रुपमा भएपनि यसबाट पूरा गर्ने र नयाँ ढंगले अघि बढ्ने भन्ने कुरा हो अहिले । यस्तै पार्टीबाट जो साथीहरु छुट्टएिर जानुभएको छ, उहाँहरुको सन्दर्भमा हामीले प्रष्ट पार्नुपर्छ । जनता फुटको पक्षमा छैनन् । यस्तै पार्टीभित्र फुटको असले मात्रात्मक असर नगरेको र गुणात्मक असर पनि नपरेको कारणले अब नयाँ ढंगले पार्टीलाई डोहोर्याएर लैजानसक्नुपर्छ । त्यस्तै संगठनात्मक रुपमा माथिदेखि तलसम्म शुद्धीकरण र सुदृढीकरणलाई अगाडि बढाउनुपर्छ । सांगठनिक योजनालाई अगाडि बढाउने र विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै अब नयाँ ढंगले पार्टीलाई अगाडि लैजानुपर्छ ।
भीमप्रसाद गौतम
विस्तारित बैठकले पहिलो त विगतको समीक्षा गर्नुपर्छ । पार्टी फूट भएको अवस्था छ । पार्टी फूटको क्षतिपूर्ति पनि यो बैठकले गर्नुपर्ने हुन्छ । शान्ति प्रकृया ठीक ढंगले अगाडि नबढेको र संविधान नबनेको अवस्था छ । यस्तै पार्टीले खेल्नुपर्ने भूमिका पनि पूर्ण नभएको अवस्थामा यो बैठकमा यी सबै विषयमा छलफल गरेर यो बैठकलाई ऐतिहासिक बनाउनुपर्ने हुन्छ । आगामी कार्यक्रमको बारेमा हामीले भन्दै आएको शान्ति, संविधान र जनताको पक्षमा, जनताको हकअधिकारको लागि खेल्नुपर्ने भूमिकाको बारेमा कार्ययोजना सहित ठोस रुपमा अगाडि बढ्न सक्नुपर्छ ।
प्रभु शाह
शान्ति र संविधानको बाँकी रहेको जुन कार्यभार छ, त्यसलाई पूरा गर्ने हिसाबले अगाडि बढ्न सक्नुपर्छ । खासगरी पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, संविधानसभाबाट संविधान भन्ने विषय छलफलको केन्द्र हुन्छ । यसैमा केन्दि्रत रहेर हामी अगाडि बढ्नुपर्छ । अहिले पार्टी विभाजन भएको अवस्था छ । त्यसलाई सुदृढ गर्ने, सम्बन्धहरुलाई नयाँ बनाउने, नेपाली क्रान्तिलाई नयाँ ढंगले पूरा गर्ने दिशामा लाग्नुपर्छ ।
 विश्वभक्त दुलाल, आहुति
यो विस्तारित बैठकले नेपाली राजनीतिमा जुन गतिरोध उत्पन्न भएको छ, त्यो गतिरोधलाई समाधान गर्नका निम्ति र यो संक्रमणकाललाई अन्त्य गर्नका निम्ति शान्ति र संविधानको बाटोबाट नै अघि बढेर मात्रै नेपाली समाजको अहिलेको संक्रमणकाललाई अन्त्य गर्न सकिन्छ । अग्रगामी ढंगबाट संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ भन्ने कुरा नै अहिलेको मुख्य विषयवस्तु हो । यही कुरालाई यो विस्तारित बैठकले निष्कर्ष दिन्छ । अर्को पार्टीभित्रको अन्तरसंघर्षको कुरामा एकातिर चोइटिएर गएका साथीहरुको सैद्धान्तिक, राजनीतिक र सांगठनिक अवस्था के हो भनेर यसले निष्कर्ष निकाल्छ । अर्को अहिले पार्टीभित्र धेरै या थोरै रुपमा बाँकी रहेका गुट उपगुटका समस्याहरुलाई यसले हल गर्छ । गुटबन्दीलाई अन्त्य गर्ने र नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने दिशामा लैजान्छ ।

No comments:

Post a Comment