सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 17, 2012

कसले गरेको होला भयानक गल्ती ?


२ साउन, काठमाडौं । मुलुकमा बढ्दो राजनीतिक संकट र पार्टी विभाजनको आलो घाऊ बाँकी नै रहेको अवस्थामा एकीकृत नेकपा माओवादी पार्टीको विस्तारित बैठकमा व्यस्त छ । महाधिवेशनपछिको ठूलो भेलाको रुपमा लिइने यो बैठकले राजनीतिक कार्यदिशा र कार्ययोजना टुंगो लगाउनेछ । शान्ति प्रकृयासँग जोडिएको महत्वपूर्ण पाटो र अहिलेसम्मको ठूलो दल भएको हैसियतले माओवादीको नयाँ कार्यदिशा र कार्यनीति तथा कार्ययोजनाले पार्टीको आन्तरिक जीवनसँगै समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्छ । त्यसैले शान्ति र संविधानको बाटो अनिश्चित भएको अवस्थामा शुरु भएको माओवादीको विस्तारित बैठकले सबैले महत्वका साथ हेरेका छन् ।

अरु राजनीतिक शक्तिले भन्दा पनि माओवादीका नेता कार्यकर्ताले आफ्नो विस्तारित बैठकबाट बढी अपेक्षा गर्नु स्वभाविक हो । पार्टी विभाजनको पीडामा रहेका एकथरी नेता कार्यकर्ता पार्टी एकता होस् भन्ने चाहनामा छन् । एकथरी निस्केर गएपनि अरु गुट, उपगुट कायमै रहेकोमा पनि नेताकार्यकर्ताको चिन्ता छ । पार्टीको गुटउपगुट अन्त्य गर्दै निस्केर गएकाहरुलाई पनि मूलधारमा फर्काउन सकोस् भन्ने उनीहरुको चाहना छ । पार्टी कार्यकर्ताको चाहना बुझेका शीर्ष नेताहरुले विस्तारित बैठकको उद्घाटन सत्रमा गुटउपगुटलाई अन्त्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । यसको शुरुवात नेतृत्वबाटै हुने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी गर्नेलाई नछाड्ने चेतावनी पनि दिनुभयो ।
शीर्ष नेताहरुले पार्टी एकताको पक्षमा पनि कुरा उठाएका छन् । तर छोडेर जानेहरुको चित्त बुझाउनेभन्दा चित्त दुखाउने कुरा बढी गरेकाले एकताको कुरा कुरामै सीमित हुने देखिएको छ ।
अर्कोको मात्रै गल्ती देख्ने आँखा
पार्टीको विस्तारित बैठकको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले वैद्य पक्षले पार्टी फुटाएर भयानक गल्ती गरेको भन्दै आक्रोश पोख्नुभयो । ‘उहाँहरुले भयानक र गम्भीर गल्ती गर्नुभएको छ’ प्रचण्डले भन्नुभयो -’जनचाहना तथा घाइते योद्धाको भावना विपरीत चालिएको गलत कदमको महसुस गर्न म आग्रह गर्छु ।’ प्रचण्डले माक्र्सवादलाई राम्रोसँग बुझ्न र प्रगोग गर्न नसकेको भन्दै वैद्य पक्षको आलोचना गर्नुभयो । यो आक्रोश र आलोचनाका बाबजुद उहाँलाई एकताको लागि आहृवान पनि गर्नुभयो । तर प्रचण्डको यो भनाई र आग्रहलाई वैद्य पक्षले त्यति चासो दिएको छैन ।
‘एकताको कुरा उहाँहरुले बाहिर देखाउने दाँत मात्र हो’ नेकपा-माओवादीकी नेतृ जयपुरी घर्तीले भन्नुभयो -’अहिलेसम्म भएका गल्ती कमजोरी महसुस नगर्दासम्म एकता हुन सक्दैन ।’ संविधान र सेना विघटन तथा राष्ट्रहित विपरीत भएका सम्झौतामा गल्ती महसुस नगर्दासम्म एकता हुन नसक्ने उहाँको भनाई छ । ‘तर यो गल्ती उहाँहरुले महसुस गर्नुहुन्छ जस्तो पनि मलाई लाग्दैन’ घर्तीले भन्नुभयो ।
प्रचण्डले भनेजस्तो आफूहरुले नभई संस्थापन पक्षले नै भयानक गल्ती गरेको उहाँले प्रतिकृया जनाउनुभयो । ‘त्यतिका मान्छे मारेर मुलुकलाई फेरि २०४७ सालको अवस्थामा फर्काएर उहाँले नै महाभूल गर्नुभएको छ’ अनलाईनखबरसँग कुरा गर्दै घर्तीले भन्नुभयो ।
विस्तारित बैठकलाई छुट्टएिर हिंडेको माओवादीले पनि नजिकबाट नियालेको छ । पार्टी एकताको ठोस प्रस्ताव आउला कि भन्ने केही नेताहरुको सोच पनि छ । तर उद्घाटन सत्रमा नेताहरुले एकताको कुरासँगै बिझाउने कुरा पनि गर्दा वैद्य पक्ष सन्तुष्ट हुन सकेको छैन ।

No comments:

Post a Comment