सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 9, 2012

वाईसीएललाई सम्मान, पैसा र संगठनमा भाग चाहिन्छः अध्यक्ष पुन


ganeshman punकाठमाडौ, माघ २६ - वाईसीएल अध्यक्ष गणेशमान पुनले आफूहरूले मुलुकका लागि गरेको योगदानका लागि सम्मान, पैसा र संगठनमा सम्मानजनक हैसियत चाहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष पुनले जनयुद्धमा अग्रमोर्चामा बसेर लडेका वाईसीएल कार्यकर्तालाई पनि अरू लडाकुले पाएको सरह सेवा सुविधा पाउनु पर्ने बताए ।
साक्षात्कारमा पार्टीले वाईसीएलको माग पूरा गर्ने गरी निर्णय गरिसकेको जानकारी दिँदै आफूहरूको माग सरकारसँग नभई पार्टीसँग भएको स्पष्ट पारे । यद्यपि उनले जनयुद्धमा अग्रमोर्चामा रहेर लडेकाले राज्यसँग पनि सेवा सुविधा माग्ने अधिकार भने रहेको बताए ।
उनले माओवादी ठूलो पार्टी भएकाले वाईसीएलका लागि दिने राहतको प्याकेज दिन गाह्रो नहुने दाबी गर्दै पार्टी कार्यकर्ताले बुझाउने लेबीबाटै पनि वाईसीएलको माग पूरा गर्न सकिने बताए ।
पुनले भने, वाईसीएलको आर्थिक माग पूरा गर्न माओवादी जस्तो ठूलो पार्टीका लागि त्यति ठूलो कुरा होइन । यो समस्याको विषय पनि होइन, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूको सहयोगबाटै पूरा गर्न सकिन्छ ।
उनले वाईसीएलका होलटाइमर कार्यकर्ताको तथ्याङ संकलन कार्य भइरहेको भन्दै पार्टीको लेबी उत्पादन मुलक कार्य र जनपरिचालबाट माग समस्या समाधान गर्न सकिने दाबी गरे ।
घाइते, अपाङ र सुत्केरीलाई राज्यले नै विशेष आर्थिक प्याकेज दिनुपर्ने भन्दै माओवादीका मिलिसियाले भने राहत माग्ने सम्भावना नरहेको बताए ।
साक्षात्कारमा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले वाईसीएललाई राहत प्याकेज दिने नाममा फेरि ब्यापारी, उद्योगीसहित नेपाली जनताले चन्दा आतंक खेप्नुपर्ने आशंका व्यक्त गर्दै राज्यकोषबाट रकम दिई कडा सडक आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, पार्टीले बेहोर्ने नाममा फेरि नेपाली जनता पीडित हुन्छन् ।
उनले माओवादीले वाईसीएलको नाममा विष बृक्ष रोपेकाले अहिले माओवादीका लागि घाडो बनेको भन्दै माओवादीले संविधानसभा निर्वाचन जित्न लडाकुलाई वाईसीएल बनाएकाले समस्या आएको बताए ।
बस्नेतले माओवादी लडाकुलाई मात्रै नभई युद्धबाट प्रभावित र मारिएका अन्य नेपाली जनताको विषयमा पनि सोच्नु पर्ने भन्दै माओवादीकै कारण नेपालमा अपराध सामान्य बन्दै गएको आरोप लगाए ।
नेपाल तरुण दलका अध्यक्ष उदय समशेर राणाले माओवादी पार्टीलाई पार्टीले पैसा दिए पनि त्यसको स्रोत पारदर्शी हुनु पर्ने भन्दै अन्यथा माओवादी र वाईसीएल विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले विगतमा लडाकुलाई वाईसीएल बनाएर नभएका मान्छेलाई शिविरमा राखेर माओवादीले अरुलाई झुक्याए पनि अहिले आएर उ आफै फसेको दाबी गरे ।
उनले शान्ति प्रक्रिया लम्ब्याएर माओवादीले अरबौं रुपैयाँ कुम्ल्याएको दाबी पनि गरे ।

No comments:

Post a Comment