२३ पुस, नुवाकोट ।
एकीकृत नेकपा माओवादी मोहन वैद्य समूहका सचिव चन्द्रप्रकाश गजुरेलले पार्टीभित्र अध्यक्ष प्रचण्ड अल्पमतमा परिसकेको दाबी गर्नुभएको छ ।
नुवाकोटको बट्टारमा क्रान्तिकारी पत्रकार सङ्घले आज बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरलले जारी केन्द्रीय समिति बैठकमा आफ्नै पक्षकाले समेत प्रचण्डको विपक्षमा मतदान गर्ने जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्ड पार्टी निर्णय र नीतिवीपरीत चलेको आरोप गजुरेलको थियो । पार्टीभित्रकै दक्षिणपन्थी नेताहरूले वैद्य समूहलाई शान्ति विरोधीका रुपमा चित्रित गर्ने षडयन्त्र गरिरहेको भन्दै उहाँले आफूहरु कुनै पनि हालतमा हतियार बोकेर जङ्गल नपस्ने स्पष्ट पार्नुभयो ।
जनयुद्धका ऐजेण्डा पार्टीको मूल नेतृत्वले लिलामी गर्न थालेकाले त्यसको रक्षाका लागि नयाँ जनआन्दोलन थाल्ने तयारीमा वैद्य पक्ष पुगेको गजुरलले भनाइ थियो । गजुरेलले सातबुँदे र चारबुँदे सहमति गरेर अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का उपाध्यक्ष बाबुराम भट्टराईले क्रान्तिप्रति बेइमानी गरेको आरोप लगाउनुभयो । दलहरुबीचको सहमतिबिना संविधान नबन्ने स्वीकार गरेका गजुरेलले पार्टी नेतृत्व सहमतिका नाममा आत्मसमर्पण गर्दै हिँडेको जिकिर गर्नुभयो ।
अर्को एक बेग्लै प्रसंगमा सचिव गजुरेलले वर्तमान सरकार इतिहासकै सबैभन्दा राष्ट्रघाती सावित भएको आरोप लगाउनुभयो । बाबुराम भट्टराई नेतृत्वकै सरकारले निरन्तरता पाइरहे पार्टीको अस्तित्व नै समाप्त हुने भएकाले आफ्नो समूह सरकारको विकल्पको खोजीमा रहेको गजुरेलको भनाइ छ । सचिव गजुरेल वैद्य समूहले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी हुन राजधानीबाट नुवाकोट पुग्नुभएको हो ।
No comments:
Post a Comment