सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 13, 2012

माओवादी संस्थापनबाटै ‘बिद्रोह’को चेतावनी

२८ पुस, काठमाडौं ।
 शासकीय स्वरुपबारे बिगतको सहमतिबाट पछि हटेर कांग्रेसले शान्ति र संबिधान पक्षधरलाई कमजोर बनाएको भन्दै माओवादी संस्थापन पक्षले आफु पनि बिद्रोहको लाइनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
कांग्रेसले २०४७ सालकै संबिधान ब्युँताउने षडयन्त्र गरेको भन्दै माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसो गरेमा बिद्रोह बाध्यकारी हुने चेतावनी दिएका छन् । प्रचण्डको भनाई उदृत गर्दै नयाँबजार स्रोतले भन्यो- ‘पार्टी विभाजन हुने अवस्था आउँदा समेत हामी शान्ति र संविधान पक्षमा उभियौं, अहिले आएर तपाईहरुले हाम्रो घाँटी समात्न खोजेको हो भने हामीपनि बिद्रोहमा जान बाध्य हुन्छौं ।’ प्रचण्डले परिवर्तनको सन्देश दिन नसक्ने र पुरानै संसदीय प्रणालीमा माओवादीलाई अल्झाउने योजना नबुन्न कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुले बुधबार प्रधानमन्त्री निवास बालुटारमा लामै छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री भट्टराईले कांग्रेससँगको सहमतिलाई प्राथमिकता दिंदै र जोखिम मोल्दै आफु शान्ति प्रकृया टुंगाउन खोजेपनि अहिले आएर कांग्रेस नेताहरु पछाडी फर्किएको भन्दै रोष प्रकट गरेका थिए । यस्तै बिहीवार बिहान पनि कांग्रेस नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई उहाँकै निवासमा भेटेका थिए । भेटमा माओवादी नेताहरुले कांग्रेस पछाडी फर्किएको भन्दै जंगिए पनि कांग्रेस नेताहरुले शान्ति प्रकृया, कब्जा जग्गा फिर्ता लगाएका सहमति पालना नगरेको भन्दै माओवादीसँग झोक्किएका थिए ।
कांग्रेस नेताहरुले माओवादीले नै विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै शान्ति प्रक्रिया अघि नबढेसम्म अन्य प्रक्रिया अघि नबढ्ने बताएका छन् । प्रचण्ड र भट्टराईसँगको भेटमा संलग्न कांग्रेस नेता अमरेशकुमार सिंहले अनलाइनखबरसँग भन्नुभयो-’हामीले माओवादीले शान्ति प्रक्रियासँग सम्वन्धित सहमति व्यवहारमै देखिने गरी कायर्सान्वयन गर्नुपर्‍यो, अन्यथा कुनै प्रक्रिया अघि नबढ्ने प्रष्ट पारेका छौं ।’
भेटमा कांग्रेस नेतारुले सहमतिअनुसार लडाकू समायोजन तथा पुनःस्थापना, बाईसीएलको अर्ध सैन्य संरचना भङ्ग, कब्जा सम्पत्ति फिर्ता लगायतका कुनै पनि सहमति कार्यान्वयन नभएको बताएका छन् । ‘उहाँहरु ‘हुन्छ हुन्छ’ भन्नुहुन्छ तर, कुनै पनि सहमति कार्यान्वयन भएको छैन’ सिंहले भन्नुभयो-’मंसिर मसान्तमा सक्ने भनिएको लडाकू समायोजन तथा पुनःस्थापना लगायतका कुनै पनि प्रक्रिया अघि बढेको छैन ।’
भेटमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईले केही दिनमा नै केन्द्रीय समिति बैठकले शान्ति र संविधानको पक्षमा निर्णय गर्ने र शान्ति प्रक्रिया अघि बढ्ने बताएका छन् । ‘भोलि केन्द्रीय समितिको बैठक सकिन्छ र पर्सीबाट शान्ति प्रक्रिया अघि बढ्छ भन्नु भएको छ’ कांग्रेस नेता सिंहले भन्नुभयो ।
माओवादी नेताहरुले बिगतका सहमति पालना गर्न आफुहरु तयार रहेको भन्दै शासकीय स्वरुप लगायत पहिले भइसकेका सहमतिबाट पछि नहट्न कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् । संसदबाटै प्रधानमन्त्री र राष्ट्रपति चुनिने पुरानै संसदीय ब्यबस्था स्वीकार्न आफुहरु कुनै हालतमा तयार नभएको भन्दै भट्टराई र प्रचण्डले संबिधान निर्माण र शान्ति प्रकृयाको प्रकृयालाई संगसंगै अगाडी बढाउनुपर्ने बताएका थिए ।

No comments:

Post a Comment