२८ पुस, काठमाडौं ।
लौ अब तत्कालको लागि कुरा मिल्यो भनेर अंकमाल गरेका माओवादी नेताहरु फेरि एकअर्कादेखि टाढिन थालेका छन् । शान्ति र संविधानका लागि जनपरिचालन गर्ने नयाँ साझा कार्यक्रमका साथ प्रचण्ड र वैद्यको प्रस्तावलाई एउटै बनाउने गरी पार्टीभित्रको विवाद तत्काल अन्त्य गर्ने सहमति भएको थियो । एउटै प्रस्ताव तयार गर्नको लागि नेताहरु गृहकार्यमा पनि जुटे ।
आइतबारदेखि लगातार औपचारिक तथा अनौपचारिक छलफल पनि भैरहयो । साझा कार्यक्रम बनाउने गृहकार्य भैरहँदा मंगलबार प्रचण्ड र बाबुराम पक्षधर नेताहरुबीच छलफल भयो । छलफलमा भट्टराई नेतृत्वकै सरकारलाई निरन्तरता दिने तथा वैद्य पक्षका नेताहरुलाई रोजेको मन्त्रालय दिएर सरकारमा पठाउने सहमति भयो । भट्टराई पक्षका केही नेताहरुले यसमा असन्तुष्टी जनाएपनि पार्टी विवाद मिलाउनु पर्ने भएकाले यसै गर्नुपर्नेमा सबैको जोड रहृयो । यति गरेपछि वैद्य पक्ष मान्ला भन्ने प्रचण्डको विश्वास थियो ।
तर भट्टराईले राजिनामा नै दिनुपर्ने वैद्य पक्षको अडानले फेरि कुरा बिगार्यो । ‘उहाँले राजिनामा त दिनैपर्छ’ वैद्य पक्षका नेता हरिभक्त कँडेलले भन्नुभयो -’हामीसितको कुराकानीमा पनि प्रचण्डले यस्तै अभिव्यक्ति दिनुभएको थियो, सोझै नभनेपनि सरकारको विकल्पको बारेमा उहाँले सहमति जनाउनुभएको हो ।’
बैद्य पक्षमै विभाजन
माओवादी स्रोतका अनुसार वैद्य पक्षभित्र विभाजन हुँदा समस्या निम्त्याएको हो । उपाध्यक्ष मोहन वैद्य किरण नयाँ प्रस्ताव बनाएर अघि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ । नेत्रविक्रम चन्द लगायतका नेताहरु आफ्नो समूहलाई छुट्टै अस्तित्व बनाएर लैजानुपर्ने पक्षमा छन् । रामबहादुर थापा बादलले मध्यमार्गी बाटो अपनाउँदै सकभर आफ्नो नेतृत्वका सरकार गठनको लागि पहल गर्नुपर्ने अडानमा हुनुहुन्छ । वैद्य पक्षभित्रै देखिएको यो विभाजनले मिल्नै लागेको कुरा पनि बिगि्रएको स्रोतको भनाई छ ।
बिहीबारको बैठक पनि अन्योलमा
आइतबारदेखि बस्ने भन्दै स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक बिहीबार पनि अन्योलमा परेको छ । ‘पार्टीका सल्लाहकार परिषदका महासचिव भक्तबहादुर श्रेष्ठको श्रद्धाञ्जलीका कारण बैठक अन्योलमा परेको छ’ नेता नारायण शर्मा पौडेलले भन्नुभयो । तर निउँ यो भएपनि विवाद बल्झेकै कारण बैठक अन्योलमा परेको बुझिएको छ । साझा कार्यक्रम तय गर्न भन्दै लगातार औपचारि तथा अनौपचारिक छलफल भएपनि कुरा मिल्न सकेको छैन । सहमतिको लागि बिहीबार पदाधिकारी बैठकको तयारी भएको नेताहरुले बताएका छन् ।
No comments:
Post a Comment