६ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई चियाको कपको तुफानले उडाएको टिप्पणी गर्नु भएको छ ।
पत्रकार कणकमणि दिक्षितले आफू र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर शासकीय स्वरुपबारे उपसमितिमा भएको सहमतिको विपक्षमा उभिन आग्रह गरेको र माओवादीलाई पेल्न लागेको भन्ने समाचार चिया गफ भएको भन्दै उहाँले चियाको कपको तुफानले प्रचण्डलाई उडाएको बताउनु भयो । कांग्रेस, एमालेसहितका १० विपक्षी दलको शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो ‘प्रचण्ड भन्ने मान्छे यति धेरै कमजोर होलान्, चियाको कपको तुफानमा नै उड्ला प्रचण्ड भन्ने मलाई लागेको थिएन ।’
केही मान्छे कुनै होटलमा बसेर चार जना बसेर चियो खायो भन्दैमा प्रचण्डले ल हामीलाई त सिध्याउन लाग्यो भनेर हल्कापन देखाएको उहाँको भनाई छ । प्रचण्डले पाएको सूचना गलत भएको र त्यसका आधारमा निकालिएको निष्कर्ष झन गलत भएको भन्दै उहाँले भन्नुभयो ‘गलत सूचनाका आधारमा आफूहरूलाई सिध्याउन लागे भन्ने जुन निष्कर्ष प्रचण्डले निकाल्नुभयो, त्यो शतप्रतिशत गलत छ । यस्ता सूचनामा भर परेर पहिल्यैदेखि कहालिँदै, अत्तालिँदै भिरबाट हाम्फाल्दै जानेलाई रामराम भन्न सकिन्छ, अरु केही गर्न सकिँदैन ।’
उहाँले उपसमितिमा भएका सहमति उल्टाएर माओवादी शान्ति सम्झौताभन्दा पछाडि र्फकन खोजेको आरोप लगाउनु भयो । ‘माओवादीले संवैधानिक समितिमा भएका विवादमा पनि छलफल गर्न चाहेको छैन’ उहाँले भन्नुभयो-’शान्ति र संविधान धरापमा परेको आशंका छ। माओवादी शान्ति सम्झौताभन्दा पछाडि फर्किएको छ ।’
No comments:
Post a Comment