सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 20, 2012

करिव १ हजार नेपालीले पाए जापानमा ‘बिद्यार्थी भिषा’

६ माघ, काठमाडौं । सन् २०११ मा नेपालबाट करिव एक हजार नेपाली बिद्यार्थीहरुले जापानमा जापानी भाषा अध्ययनका लागि भिषा प्राप्त गरेका छन् । जापानको अध्यागमन कार्यालयका अनुसार जनवरी, अपि्रल, जुलाई र अक्टुवर गरि चार शैक्षिक सत्रमा कुल ९ सय ३५ नेपाली बिद्यार्थीले जापानमा रहेर अध्ययन गर्ने अनुमति पाएका छन् ।
अघिल्ला बर्षहरुको तुलनामा भिषा पाउने संख्यामा खासै बदलाव नआएपनि यस बर्ष भिषा अस्वीकार हुनेहरुको संख्या भने निकै धेरै रह्यो । सन् २०११ मा १ हजार ६ सय ८७ नेपालीले जापान अध्ययनका लागि आबेदन गरेकोमा ९ सय ३५ जनाले मात्र भिषा पाएका हुन् । बाँकी ७ सय ५२ जनाको भिषा आबेदन जापानी अध्यागमन कार्यालयले अस्वीकार गरेको छ ।
जापानमा सुनामी आएपछि परम्परागत रुपमा बढि बिद्यार्थी आउने चीन, दक्षिण कोरिया र भियतनामका बिद्यार्थीको जापान आउने रुची कम देखिएपनि नेपालीहरुले भिषा पाउने दर भने बढ्न सकेन् । यो साल जनवरीमा ४२, अपि्रलमा ४ सय ९६, जुलाईमा १ सय ६८ र अक्टुबरमा २ सय २९ जनाले भिषा पाएका छन् । यसैगरि सन् २०१२ को जनवरी सेसनका लागि १ सय २२ जनाले आबेदन गरेकोमा १ सय ६ जनाले मात्र भिषा पाएका छन् ।

आर्कषण बढ्दो, सफलता घट्दो किन ?
कुल भिषा पाउने नेपालीको संख्या हेर्ने हो भने अघिल्लो बर्षको तुलनामा थोरैमात्र घटी देखिन्छ । सन् २०१० मा ९ सय ४३ नेपाली बिद्यार्थीले जापान अध्ययनका लागि भिषा पाएकोमा सन् २०११ मा ८ जना कमले भिषा पाएका छन् । तर आबेदनको संख्या हेर्ने हो भने सवैजसो सेसनमा अघिल्ला बर्षहरुको भन्दा करिव ४० प्रतिशत बढि देखिन्छ । भिसाका लागि सवैभन्दा खराव मानिएको सन् २०११ को अक्टुवर सेसनमा काठमाण्डौंमा संचालित कतिपय जापानी भाषा बिद्यालयलबाट गरिएको आबेदन त सून्य नै भयो । ६ महिनामा पनि बिद्यार्थी पठाउन नसकेपछि कतिपय बिद्यालय बन्दै पनि भए ।
आर्कषण बढ्नुको मुख्य कारण अघिल्ला बर्षहरुमा जस्तो युके र अष्ट्रेलियाले भिषा नदिनु पनि हो । पढाईभन्दा आर्कषक कमाईलाई प्राथमिकता दिने नेपाली बिद्यार्थीको ध्यान त्यसपछि स्वभाविकरुपमा जापानतर्फ मोडिएको बताउँछन् डाइसुकी एजुकेसनका प्रवन्ध निर्देशक अर्जुन खड्का ।
यसरी ह्वात्तै आबेदन बढेपछि जापानी अध्यागमनले कडाई गर्न थालेको बताउँछन् कुमारी जापानी भाषा बिद्यालयका पि्रन्सीपल टंक साउद । डकुमेन्टमा कडाई गर्न थालेपछि धेरै बिद्यार्थीको आबेदन अस्वीकृत भएको पाइएको छ । खासगरि जापानी अध्यागमनमा नेपाली कर्मचारी राखेर अध्यागमनले डकुमेन्टको आधिकारिकता जाँच्ने धेरैजसोमा त्यसको सत्यता चेक गर्न नेपालमै फोन गर्ने गर्ने गरेको बताउँछन् भाषा बिद्यालय संचालकहरु । बिद्यार्थीले लार्पवाहीपूर्वक सहकारीका नक्कली वैैंक ब्यालेन्स देखाउने गरेका कारण धेरै बिद्यार्थीको आबेदन अस्वीकृत भएको बताइएको छ ।
पछिल्लो दिनमा जापानी भाषामा बिद्यालयमा बिदेशी बिद्यार्थीको अभाव भएका कारण बिद्यालयहरुले नेपाली बिद्यार्थी ल्याउन जोड गरिरहेका छन् । नेपाली बिद्यार्थीले सही कागजात पेश गर्ने र भाषामा राम्रो दखल बनाउने हो भने जापानमा अहिले गएको भन्दा दोब्बर संख्यामा बिद्यार्थी जानसक्ने बताउँछन् भाषा बिद्यालय संचालकहरु ।
यसअघि सन् २००४ मा ३ सय १८, २००५ मा ६ सय ३६, २००६ मा ५ सय ९९, २००७ मा ४ सय ९५, २००८ मा ५१७, २००९ मा ८ सय ३९ र सन् २०१० मा ९ सय ४३ नेपाली बिद्यार्थी जापान पुगेका थिए ।

No comments:

Post a Comment