५ माघ, धनकुटा ।
धनकुटाको राजारानी गाविस-६ मा गएराति भएको आगलागीबाट आठ महिनाको नाबालकसहित एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
हिलेबाट झण्डै ५५ किलोमिटर पूर्वमा पर्ने राजारानीस्थित बजारस्थित स्थानीय विनोद कटवालको घरमा आगलागी हुँदा उनीसहित श्रीमती अन्दाजी ३० वर्षीया राधा, जेठो छोरा १४ वर्षीय सुदन, माइलो १२ वर्षीय सुशील र ८ महिनाको कान्छो छोरा विराजको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल धनकुटा सदरमुकामबाट ५५ किलोमिटर पूर्वमा रहेको धनकुटा प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शरदकुमार तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार राति ९ बजेबाट सुरु भएको आगलागी धनकुटाबाट गएको प्रहरी, स्थानीयबासिन्दा र धरानबाट गएको बारुण यन्त्रको सहायतामा बिहान १ बजेतिर नियन्त्रणमा आएको थियो । तामाङले आगलागीको कारण स्पष्ट भइनसके पनि बिजुलीको करेन्ट सर्त भइै आगलागी भएको हुनसक्ने आशंका गरिएको बताउनुभयो । घटनास्थलमा शव संकलनको काम भइरहेको र अहिलेसम्म दुईवटा शव फेला परेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच आवश्यक राहत सामग्रीसहित घटनास्थलको अनुगमनमा लागि प्रमुख जिल्ला अधिकारी खड्गबहादुर चापागाइँलगायतको एक टोली सदरमुकामबाट घटनास्थलका लागि प्रस्थान गरेको छ । टोलीमा प्रहरी नायव उपरीक्षक तामाङ, सशस्त्र प्रहरीका नायव उपरीक्षक नरेन्द्र सेन, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत कृष्ण खनाल र नेपाली सेनाको सल्लेरीस्थित गणका गणपति झमानसिंह थापामगर र रेडक्रसका प्रतिनिधि सहभागी छन् ।
No comments:
Post a Comment