सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, December 19, 2011

काँग्रेसको बन्दले देश ठप्प (फोटो फिचरसहित)

४ पुस, काठमाडौँ ।
 कारागार आक्रमणमा घाइते पार्टीनिटक नेपाल तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको मृत्युको विरोधमा नेपाली काँग्रेसले आहृवान गरेको बन्दका कारण राजधानीलगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार-पसल शिक्षणसंस्था र कलकारखाना बिहानैदेखि ठप्प छन् । राजधानी र बाहिरका मुख्य सहर तथा सदरमुकामहरुमा काँग्रेस कार्यकर्ताले टायर बालेर सडक अवरुद्ध गरेका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, शव बाहन, बारुणयन्त्र, दूध  ढुवानी तथा सञ्चारमाध्यमका गाडी सञ्चालनमा भने बन्दकर्ताले अवरोध पुर्‍याएका छैनन् । काँग्रेसले मृतक पौडेललाई सहिद घोषणा, उनीसहित उनका साथीहरुमाथि लागेको व्यक्ति हत्याको अभियोग फिर्ता र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर आज एक दिनका लागि बन्द आहृवान गरेको हो ।
सरकारले यसअघि काँग्रेसको मागअनुसार सरकारले तीन सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुका साथै मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरे पनि कांग्रेसले त्यसैका आधारमा नमान्ने भन्दै बन्दलगायत आन्दोनका कार्यक्रम जारी राख्ने निर्णय हिजोको पदाधिकारी बैठकले गरेको थियो ।
काङग्रेसले बन्दको चेतावनी दिइरहँदा अन्तर्राष्ट्रिय समुदायले बन्द नगर्न आग्रह गरेको थियो । नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलीसीले सामाजिक सञ्जाल फेसबुकको स्टाटसमा आफूलाई प्रजातन्त्रवादी दाबी गर्ने कांग्रेसले बन्द गरेर जनतालाई सास्ती दिन नमिल्ने लेखेका थिए । उनले बन्दजस्ता कार्यक्रम जारी रहे आफ्ना नागकरिकलाई पर्यटकका रुपमा नेपाल आउन गरेका आग्रहमा पुनर्विचार गर्न तथा अमेरिकी सहयोग रोकिन सक्ने अर्को चेतावनीपूर्ण स्टाटस लेखेका छन् ।
यस्तै युरोपेली युनियनले बन्द गर्नेलाई भिसा नदिने चेतावनी दिएको छ । कांग्रेसले भने निर्दोश नागरिकमाथि झुठा मुद्धा लगाउँदा र जेलमै
आक्रमण गरी हत्या हुँदासमेत चुइँक्क नबोल्ने अन्तर्राष्ट्रिय समुदायले बन्दको विरोध गर्नुको अर्थ नरहेको टिप्पणी गरेको छ । व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पौडेलमाथि गत मंसिर २० गते कैदीहरुको एक समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । घाइते पौडेलको उपचारका क्रममा राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार बिहान मृत्यु भएको थियो ।
गृह जिल्ला पनि ठप्पै
मृतक पौडेलको गृह जिल्ला चितवनमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । उनका समर्थक र आफन्तले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताहरु नारायणगढको पुलचोक, सदिहचोक, लायन्सचोक र भरतपुरको चौबीसकोठी तथा केन्द्रीय बस टर्मिनल अगाडि जम्मा भएका छन् । यस्तै रामनगरको आँपटारी, पूर्वीचितवनको रत्ननर टाँडी र पर्सामा पनि बन्दकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण यातायात, कलकारखाना र शिक्षणसंस्था ठप्प छन् । यसैबीच लगातार तेस्रो दिनसम्म भएको बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ । सर्वसाधारण तरकारीको अभाव झेल्न बाध्य छन् भने ढुवानीको अभावमा किसानका बारीमा फलेका तरकारी कुहिन थालेका छन् । यस्तै दैनिक उपभोग्य वस्तुको पनि अभाव भएको छ । लामो बन्दका कारण सास्ती भोग्नुपरेको भन्दै सर्वसाधारण आक्रोशित बन्दै गएका छन् ।
शान्तिपूर्ण भनिएको बन्दमा तोडफोड
काँग्रेसले बन्दको कार्यक्रमलाई शान्तिपूर्ण भने पनि सडकमा उत्रिएका उसका कार्यकर्ताले राजधानीका ठाउँठाउँमा एउटा पर्यटकवाहनसहित ३ सवारी साधानमा तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको आरोपका उनीहरुले पर्यटक बोकेको बा १ य ८५० नम्बरको गाडी तीलगंगामा तोडफोड र आगजनी गरेका छन् । पर्यटक ओरालेर काँग्रेस कार्यकर्ताले गाडीमा आगजनी गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै उनीहरुले तीलगंगामै बा९च ३७२० नम्बरको निजी भ्यान र ललतिपुरको बी एण्ड बी अस्पताल अगाडि बा८च ३७८९ नम्बरको टाटा मोबाइलमा तोडफोड र आगजनी गरेका छन् । उता मित्र पार्कमा बन्दको अवज्ञा गरेको आरोपमा काँग्रेस कार्यकर्ताले बा१ज १६३ नम्रको ट्याक्सी तोडफोड गरेका छन् भने पुतली सडकमा एउटा पार्टी ट्याङ्करमा क्षति पुर्‍याइएको छ ।
यस्तै यस्तै गोरखा सदरमुकाम गोरखा बजारमा एक सरकारीसहित दुई र बाँकेको नेपालगञ्जमा एउटा निजी गाडीमा काँग्रेस कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् । गोरखामा सडक विभागको ना १ ज ७२ नम्बरको भ्यान र ना१क २९९३ नम्बरको मालबाहक ट्रकमा काँग्रेस कार्यकर्ताले आगजनी गरिदिएका हुन् ।
यस्तै उनीहरुले कार्यलय जाँदै गरेका गोरखाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भट्टराईमाथि हातापात र दुव्र्यवहार गरेका छन् । उता बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले वीरगञ्जको लिंकरोडमा ना २ ख ११६ नम्बरको बस र घण्टाचोकमा बा १ प ७०५१ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका छन । आदर्शनगरमा बन्द आहृवानकर्ताहरुले बालेको टायर प्रहरीले हस्तक्षेप गरी निभाएको छ । उता सुर्खेतको वीरेन्द्रनगरमा काँग्रेस कार्यकर्ताले नगरपालिकाको एउटा फोहोर बोक्ने ट्रयाक्टरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
यता बन्दको अवज्ञा गरेको आरोपमा काँग्रेसका कार्यकर्ताले राजधानीको सुनधारास्थित सिभिल क्याफेमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी बन्दकर्ताले मकवानपुरको बसामाडीस्थित युनिलिभर नेपालमा पनि तोडफोड गरेका छन् ।

No comments:

Post a Comment