सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 31, 2011

२०११ का ११ मुख्य घटनाक्रम

१. शीर्ष र सर्वोच्चको जुहारी
वर्षको अन्त्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको खटपट उत्कर्षमा पुग्यो । नोभेम्बरमा सर्वोच्च अदालतले संविधानसभाको म्याद अब एकपटक बढीमा ६ महिनासम्म मात्र थप्न सकिने फैसला गर्यो । यो फैसला कार्यक्षेत्र विपरीत भएको भन्दै सरकार र सदनको तर्फबाट पुनरावलोकनको लागि डिसेम्बरमा सर्वोच्चमा निवेदन दिने काम भयो । तर सर्वोच्च प्रशासनले पुनरावलोकनको निवेदन दर्ता गर्ने कुनै कानुनी आधार नभएको भन्दै फर्काइदियो । त्यसपछिको सम्बन्ध झनै चिसिएको छ । सभासद नभएका नेताहरुले सर्वोच्चले ठीकै गर्यो भनेका छन् भने अरुले यसको बिरोध गरेका छन् । निवेदन दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय बिरुद्ध फेरि सर्वोच्च जाने सरकार र सदनले तयारी गरेपनि अहिले यो विषय केही मत्थर भएको छ ।
२. बाबुरामको चर्चा

वर्षको शुरुमा पार्टी संस्थापन पक्षसित टाढिएका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अर्का उपाध्यक्ष मोहन वैद्य किरणसित गठबन्धन गरेर प्रचण्ड बिरुद्ध अभियान पनि थाले । चर्चित धोवीघाट भेलामा उनको पनि नेतृत्वदायी भूमिका थियो । पछि प्रचण्डले उनलाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर एकाएक माओल परिवर्तन गरिदिए । यसकै फलस्वरुप जुलाईमा भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भए । धेरैको अपेक्षालाई सम्बोधन गर्ने क्रममा उनले नेपालमै बनेको सस्तो मुस्ताङ गाडी चढे । सरकारी खर्चमा मितव्ययिताको अभियान शुरु गरे । जनतालाई राहत कार्यक्रम घोषणा गरे । तर उनको यो लोकपि्रयता बिस्तारै घट्न थाल्यो । सरकारी खर्चमा मितव्ययिता अभियान बिरुद्ध उनले चियापानमा लाखौं रुपैंया खर्च गरे । अक्टोबरमा अहिलेसम्मकै ठूलो ४९ सदस्यीय मन्त्रिपरिषद गठन गरे । भारतसित भएको बिपा सम्झौताले पनि उनको आलोचना भयो । तत्कालिन रक्षामन्त्री सरतसिंह भण्डारीले देश टुक्रयाउन सकिन्छ भनेर दिएको अभिव्यक्ति तथा भूमिसुधार मन्त्री प्रभु साह काशीनाथ तिवारी हत्यामा संलग्न रहेको आरोपले पनि भट्टराई सरकारलाई आलोचित बनायो । दुवै मन्त्रीलाई अक्टोबर महिनामा हटाउन उनी बाध्य भएका थिए । सबैभन्दा ठूलो कुरा त धेरैको समर्थन र सहानुभूति पाएका भट्टराईलाई उनकै पार्टीको एकथरीले सधैं असहयोग नै गरिरहेको छ । भट्टराई सरकार बिरुद्ध अहिले डिसेम्बरमा कांग्रेस सडकमा ओर्लनुअघि नै जुलाईमै वैद्य पक्षले सडकमा चर्का नाराबाजी गरेको थियो । सरकार बिरुद्ध आफ्नै पार्टीका नेता कार्यकर्ता सडकमा ओर्लेको पहिलो घटना व्यहोर्न पनि भट्टराई नै बाध्य भए । जनताको मन जित्न थुप्रै काम गर्ने कोशिस गरेपनि वर्षको अन्त्यमा भट्टराईको विकल्पमा नयाँ राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भैरहेको छ ।
३. सत्ताको हानथाप
अघिल्ला वर्षहरु जस्तै सन् २०११ मा पनि दलहरुबीच सत्ताको हानथाप भैरयो । वर्षको शुरुताका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल कामचलाउ प्रधानमन्त्री थिए । उनलाई सरकारबाट गिराउन अरु माओवादी लगायतका विपक्षीसँगै एमालेकै खनाल पक्ष पनि लागेको थियो । वर्षको शुरुसँगै नेपाल सरकारलाई हटाएर नयाँ सरकार गठनको प्रयास तीव्र भयो । सहमतीय सरकार गठनको नाममा दलहरुले धेरैपटक छलफल र बहस तीव्र पारे । जनवरीमा माओवादीले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनको पहल गर्यो । त्यो असफल भयो । फेब्रअरीमा बहुमतीय सरकारको लागि प्रचण्ड, झलनाथ खनाल, रामचन्द्र पौडेल र विजयकुमार गच्छदारको उम्मेद्वारी पर्यो । त्यसपछि माओवादीले एमालेलाई सघाउने निर्णय गरेपछि खनाल प्रधानमन्त्रीमा निर्वाचित भए । लगत्तै सरकारको बिरोध पनि शुरु भयो । सरकार गठनको बेला माओवादी र एमालेबीच भएको सहमतिको बिरोधमा कांग्रेसले आपत्ति जनायो । मार्चमा माओवादी खनाल नेतृत्वको सरकारमा सामेल भयो । विपक्षीहरुको बिरोध कायमै थियो । मे मा होहल्लाबीच संसदको बजेट अधिवेशन शुरु भयो । जुलाईमा सरकारले समाजवाद उन्मुख बजेट प्रस्तुत गर्यो । बजेट भाषण अघि नै सार्वजनिक हुँदा यसको चर्को आलोचना भयो । खनाल सरकार बिरुद्ध एमालेकै नेपाल ओली पक्ष लागिरहेकै थियो । जुलाईमा यसले उग्र रुप लियो । पार्टीको आन्तरिक विवाद मिलाउन माओवादी अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद पुनर्गठनको सिफारिस गरे । कुनै हालतमा मन्त्रीपरिषद पुनर्गठन नगर्न खनाललाई आफ्नै पार्टी एमालेले चर्को दबाब दियो । विवादकाबीच उनले मन्त्रीपरिषद पुनर्गठन गरे । फलस्वरुप अगष्टमा उनले राजिनामा दिनुपर्यो । त्यसपछि नयाँ सरकार गठनको प्रयास भयो । फेरि पनि सहमतीय सरकार गठन गर्ने दलहरुको प्रयास असफल भयो । बहुमतीय प्रधानमन्त्रीको लागि माओवादीका बाबुराम भट्टराई र कांग्रेसका रामचन्द्र पौडेलको उम्मेद्वारी पर्यो । मधेसीमोर्चा र केही साना दलको समर्थनमा भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भयो । वर्षको अन्त्यमा फेरि राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भैरहेको छ ।
४. वर्षैभरी विवादमा माओवादी
वर्षको शुरुदेखि नै माओवादीभित्रको विवाद उत्कर्ष पुग्न थालेको हो, जुन वर्षको अन्त्यमा आईपुग्दासम्म उही रुपमा छ । फेबअरीमा माओवादी मजदूर संगठन औपचारिक रुपमा फुट्यो । प्रचण्ड, वैद्य र भट्टराईका गुटगत भेला शुरु हुन थाले । दुईपक्षीय मजदूरबीच कुटपीटको घटना पनि सार्वजनिक भयो । जनवरीमा भएको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष भट्टराईको फरक मत आयो । वैद्यको समर्थनमा पारित माओवादी अध्यक्ष प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिमा पेश भयो । विवाद बढ्न थालेपछि जनवरीमा हुने भनिएको पार्टीको प्रशिक्षण कार्यक्रम स्थगित भयो । त्यसपछि विस्तारै वैद्य र भट्टराई एक हुन थाले । तटस्थ भूमिकामा रहेका महासचिव बादल समेतको सहभागितामा धोवीघाटमा प्रचण्ड बाहेकका नेताहरुको जमघट भयो । अपि्रलमा प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै वैद्यको अर्को प्रस्ताव आयो । त्योबेलासम्म फेरि प्रचण्ड र भट्राई एक ठाउँ भैसकेका थिए । अन्त्यमा शान्ति र संविधानमा जोड दिने प्रचण्डको प्रस्ताव बहुमतले पारित भयो । जनबिद्रोहमा जानुपर्ने अडान सहित बैद्यले नोट अफ डिसेन्ट लेखे । त्यसपछि संस्थापन पक्षका हरेक निर्णयमा बैद्य पक्षको असहमति रहँदै गयो । मे भए भएको नेताहरुको दोहोरो सुरक्षा हटाउने तथा कन्टेनरको चावी बुझाउने निर्णय, अक्टोबरमा भट्टराईको भारत भ्रमण बेला भएको बिप्पा सम्झौता, नोभेम्वरमा भएको लडाकु वर्गीकरण तथा कब्जा सम्पत्ति फिर्ताको काममा वैद्य पक्षको तीव्र बिरोध भयो । यसबीचमा दुवै पक्षबाट छुट्टै भेला हुने क्रम चलिरह्यो । विवाद समाधानका लागि भन्दै पटकपटक स्थगित केन्द्रीय समिति बैठक डिसेम्बरको अन्त्यसम्म चलिरहेको छ । बैठकमा प्रचण्डको शान्ति र संविधान तथा वैद्यको जनवि्रदोह गर्नुपर्ने प्रस्तावमै तीव्र बहस भैरहेको छ । नयाँ वर्षको शुरुसँगै यो बहस र विवादले अझै तीव्रता पाउने निश्चित छ ।
५. एमालेमा गुटबन्दी र एकता
वर्षको शुरुवातमा निकै चर्को रुपमा एमालेभित्रको विवाद वर्षको अन्त्यमा आईपुग्दा एकाएक नयाँ मोडमा आईपुगेको छ । माधव नेपाल सरकारमा हुँदा खनाल पक्ष र खनाल सरकारमा हुँदा नेपाल ओली पक्षले खेदो खन्ने क्रम चल्दा अगष्टसम्मै एमालेभित्र तीव्र गुटबन्दी रहृयो । नेताहरुबीच बोलचाल समेत बन्द थियो । सत्ताबाट हट्ने बित्तिकै एमालेभित्रको विवाद साम्य भएको छ । नोभेम्वरको अन्त्यमा एमालेले पार्टी सुदृढीकरण अभियान चलाएको छ । डिसेम्बरमा आईपुग्दा एकताको नयाँ सन्देश दिन एमाले सफल भएको देखिन्छ । केपी ओलीलाई तेस्रो बरियता क्रममा राखेर अध्यक्ष खनाल र ओलीबीचको तिक्तता मेटिएको प्रष्ट पार्छ । तर माधव नेपाल, ईश्वर पोखरेल र बामदेव गौतम लगायतका नेताहरु यसमा त्यति सन्तुष्ट देखिंदैनन् । तैपनि पहिले तीव्र गुटउपगुटमा विभाजिति रहेको एमाले वर्षको अन्त्यमा एकताको बाटोमा लागेको छ ।
६. कांग्रेस कलह
सरकारमा जान खोज्ने तर सधैं असफल नै भैरहने नियतिले कांग्रेसलाई यो वर्ष अरुलाई जति फलिपाप भएन । तैपनि अरु ठूला दलमा जस्तै कांग्रेसभित्र पनि विवाद गुम्सेर थन्किरहेकै छ । अपि्रलमा रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्री बनाउँदाको सहमति कार्यान्वयन नभएको भन्दै देउवा पक्ष अहिलेसम्म पनि असन्तुष्ट नै छ । जुलाईमा देउवा पक्षले संसदीय दलको नेता फेर्न हस्ताक्षर अभियान नै चलायो । त्यसले विवाद चर्काउँदै गयो । सेप्टेम्बरमा सभापति सुशील कोइरालाले ल्याएको भ्रातृ संस्था विघटन गर्ने प्रस्तावका कारण विवादले उग्र रुप लियो । समर्थन र बिरोधमा नेता कार्यकर्ताले आमरण अनसन गरे । तैपनि कोइरालाले भ्रातृसंस्था विघटन गराई छाडे । असन्तुष्टी जनाउँदै देउवाले बरिष्ठ नेताको पदबाट राजिनामा दिए । नोभेम्वरमा कोइरालाले देउवाको राजिनामा अस्वीकृत गरे । यसबाट देउवा थप असन्तुष्ट बने । भ्रातृ संस्था विघटनबारेको विवाद अझै कायमै छ । वर्षको अन्तिम दिन मेलमिलाप दिवस मनाउने क्रममा नेताहरु आफैंभित्रको विवादमा अलमलिए भनेर कार्यकर्ताले गुनासो गरे । अहिले राष्ट्रिय सहमतिको सरकार गठनको पालो आफ्नो भएको भन्ने कांग्रेसले देउवा र पौडेल कसलाई प्रधानमन्त्री बनाउने भन्ने अर्को विवाद पनि जन्माएको छ । यो विवाद नयाँ वर्षसँगै अझै झाँगिने निश्चित छ ।
७. चर्चित व्यक्तित्व
यो वर्ष केही व्यक्ति बिभिन्न कामले निकै चर्चित भए । सहमतीय राजनीतिको नाममा लामो समयसम्म देशमा प्रधानमन्त्री नबनाएको भन्दै जनवरीमा सुनसरीका देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड दिए । यसले निकै चर्चा पायो । अरुले मात्रै होइनन् खनालले समेत प्रधानमन्त्री भएपछि रेग्मीलाई धन्यवाद दिए । अपि्रलमा भोजपुरकी अनुजा बानियाँले बसमा भेटिएको ९१ लाख रुपैंया हीराको हार वास्तविक धनीलाई दिएको भनेर निकै चर्चा भयो । राष्टपतिले समेत टेलिफोनबाट बधाई दिए । तर यो कुरा झुटो रहेछ भन्ने थाहा भएपनि राष्टपति र संचारमाध्यम सम्मले आलोचना खेप्नुपर्यो । मन्त्रीको दबाब थेग्न नसकेको भन्दै मार्चमा राजिनामा दिएर हिंडेका तत्कालिन अर्थसचिव रामेश्वर खनाल पनि वर्षैभरी चर्चित रहे । यस्तै राम्रो र उदाहरणीय कार्यशैलीका कारण झलनाथ खनाल नेतृत्वको पालाका उर्जामन्त्री गोकर्ण विष्टले विपक्षी दलहरुबाट समेत प्रशंसा पाए । यस्तै डिसेम्बरमा भएको साफ च्याम्पियनसिप फूटबलमा बंगलादेश बिरुद्धको खेलमा अपत्यारिलो ढंगले अन्तिम समयमा गोल गरी नेपाललाई सेमिफाइनलमा पुर्याउने सागर थापा हिरो कहलिए । प्रधानमन्त्री भट्टराई त यसै पनि चर्चित नै भए ।
८. बदनामी अनुहार
सन् २०११ मा केही विशिष्ट व्यक्तित्वहरुले बदनामी पनि कमाएका छन् । फेब्रअरीमा एमाले नेता एवं पूर्व मन्त्री रवीन्द्र श्रेष्ठ आफ्नै पार्टीकी एक युवतीलाई कान्छी बनाएर बेपत्ता भए । भ्रष्टाचारको आरोपमा पूर्वमन्त्री चीरञ्जीवि वाग्ले मार्चमा जेल परे । मार्चमै एमाले सभाद डीबी कार्की घूस लिँदालिँदै पक्राउ परे । उनलाई जरीवाना गराईयो र सभासद पद पनि निलम्बन भयो । मार्चमै कुटनीतिक राहदानी दुरुपयोग अभियोगमा सभासद सहित कर्मचारीबिरुद्ध मुद्दा लाग्यो । उनीहरु पक्राउ परे । प्रहरीका तीन पूर्व प्रमुख सहित बहालवाला २६ जना प्रहरी अधिकृतलाई सुडान घोटलामा दोषी ठहर भयो जुन महिनामा । प्रमाण नपुगेको भन्दै तत्कालिन गृहमन्त्री र सचिव चाहिं मुक्त भए । अक्टोबर महिनामा तत्कालिन रक्षामन्त्री सरतसिंह भण्डारीले देश टुक्र्याउने अभिव्यक्ति दिए । तत्कालिन भूमीसुधार मन्त्रीलाई व्यक्ति हत्याको आरोप लाग्यो । सभासद बालकृष्ण ढुंगेल पनि यही मुद्दाका कारण वर्षभरी नै चर्चित रहे । यस्तै वर्षको मध्यमा पत्रकार कुटपीट गर्ने युवा संघ नेपालका मोरङ अध्यक्ष पर्शुराम बस्नेत र उनलाई जोगाउने महेश बस्नेत पनि वर्षभरी नै चर्चित भए ।
९. शान्ति र संविधान
वर्षको अन्त्यमा आइपुग्दा शान्ति र संविधान निर्माण प्रकृयामा केही आशालाग्दा काम भएका छन् । माओवादीको वैद्य पक्षको बिरोध कायमै रहेपनि संवैधानिक समितिले शासकीय स्वरुप बाहेकका अरु विषयमा सहमति जुटाएको जनाएको छ । वर्गीकरणको काम सकिएपनि शान्ति प्रकृयाले भने गति लिन सकेको छैन । गएको जनवरीमा अनमिन विदाईको औपचारिक घोषणा भयो । माओवादी लडाकुलाई विशेष समिति मातहत राखियो । अपि्रलमा नयाँ संविधानको नाममा कुरा मिल्यो । सर्वोच्चले संविधानसभाको म्याद ६ महिना थप्न सकिने फैसला गर्यो । त्यही महिना माओवादी नेताको सुरक्षामा रहेका लडाकुलाई शिविर फर्काउने काम भयो । लडाकु समायोजन तथा पुनस्र्थापनाको पहिलो कार्यतालिका तयार भयो । अगष्टमा हतियार राखिएका कन्टेनरको साँचो विशेष समितिलाई बुझाइयो । संविधानसभाको म्याद तीन महिनाको लागि थप भयो । सेप्टेम्बरमा कब्जा सम्पत्ति फिर्ता गर्ने माओवादी र सरकारले निर्देशन दिए । नोभेम्वरमा लडाकु वर्गीकरणको काम शुरु भयो र समयमै सकियो । कब्जा सम्पत्ति फिर्ता गर्न माओवादीले फेरि निर्देशन दियो । फिर्ता गर्ने प्रकृया पनि शुरु भयो । तर वैद्य पक्षको विरोधपछि यो काम अहिले अलपत्र अवस्थामा छ । नोभेम्बरमै राज्य पुनसर्ंरचना आयोग पनि गठन भयो र यसले अहिले काम गरिरहेको छ । संविधानसभाको म्याद ६ महिना थपियो । डिसेम्बरमा ६ महिनाभित्र संविधान बनाउने गरी तयार पारिएको कार्यतालिका पारित भयो । वर्षको अन्त्यमा शान्ति र संविधानमा महत्वपूर्ण काम भएपनि अझै थपिएको म्यादमा काम पूरा होला या नहोला भन्ने आशंका चाहिं कायमै छ ।
१०. दलहरुमा फूट
सत्ताको हानथापले दलहरुबीच टुटफुट ल्याउने क्रमले सन् २०११ म्ा पनि निरन्तरता पायो । यो वर्ष खासगरी मधेसी दलमा धेरै फुट ल्यायो । पहिल्यै विभाजित भएको नेकपा मालेमा पनि यसवर्ष फेरि फूट आयो । म्ाार्चमा नेकपा माले समाजवादी फुट्यो । मे मा मधेसी जनअधिकार फोरम नेपाल फेरि फुटेर जेपी गुप्ताको नेतृत्वमा नयाँ दल गठन भयो । २५ मध्ये १३ सभासद गुप्ताको पक्षमा रहे । यस्तै जुन महिनामा नेपाली जनता दलमा विभाजन भयो । जुलाईमा राजेन्द्र महतो नेतृत्वको सद्भावना फुट्यो । महसचिव अनिल झाको नेतृत्वमा नयाँ दल गठन भयो ।
११. निधन, दुर्घटना
सन् २०११ मा नेपालका चर्चित व्यक्तिहरुको निधन भएको छ । केही ठूला घटना, दुर्घटना पनि भएका छन् । जनवरीमा गायक कुमार कान्छाको निधन भयो । मार्चमा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधन भयो । यही महिना बरिष्ठ उपन्यासकारण डायमण्ड शमशेर राणाको पनि निधन भयो । मे महिनामा सगरमाथा आरोहणको क्रममा पूर्व परराष्टमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन भयो ।
जनवरीमा गोरखामा भएको बस दुर्घटनामा नौ जनाको मृत्यु भयो । मार्चमा सुनसरीमा बस जुध्दा १० जनाको ज्यान गयो । मे मा डोटीको काँडामाण्डौमा बस पल्टिँदा १६ जनाको मृत्यु भयो । यही महिनामा ललितपुरको नागदहमा डुंगा पल्टिँदा चारजनाको मृत्यु भयो । म्याग्दीमा सेप्टेम्बर महिनामा भएको बस दुर्घटनामा १३ जनाको ज्यान गयो । सेप्टेम्बरमै ललितपुरमा बुद्ध एयरको विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो । अक्टोबसरमा सिन्धुलीमा भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भयो । नोभेम्वरमा सुनसरीमा भएको बस दुर्घटनामा एकै गाउँका १८ जना मारिए ।
फेब्रअरीमा तनहुँमा उक युवकले खुर्पाले हानेर तीनजनाको हत्या गरे । मार्चमा संचार उद्यमी युनुश अन्सारीको कारागारभित्रै हत्या प्रयास भयो । जुलाईमा उदयपुरको छानागाउँका एकै परिवारको चारजनाको हत्या भयो । यस्तै डोल्पामा दुईजना प्रहरीको पनि हत्या भयो । सेप्टेम्बर महिनामा काठमाडौंमा नेपाल मुस्लिम संघका महासचिव अहमदको गोली हानी हत्या भयो । डिसेम्बरमा भएका दुईवटा घटनाले चर्को रुप लियो । चितवन कारागारमा भएको झडपमा घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधन भएपछि यसले राजनीतिक रुप लियो । त्यस्तै कालिकोटका मनवीरे सुनारको हत्याकाण्डले सदनको बैठक नै अवरुद्ध बनायो । चुल्हो छोएको निहुँमा हत्या गरिएको भनिएपनि पछि मदिरा सेवन गरेर विवाद हुँदा उनी मारिएको पुष्टी भयो । सरकारले सुनार परिवारलाई १० लाख रुपैंया दिने निर्णय गरिसकेको छ ।
सेप्टेम्बरमा देशैभर शक्तिशाली भूकम्प आउँदा झण्डै एकदर्जनको मृत्यु भयो । दर्जनौं घाइते भए । लाखौंको भौतिक क्षति भयो ।

No comments:

Post a Comment