सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, December 7, 2011

प्रचण्डको औंलामा १४ लाखको औंठी

२१ मंसिर, काठमाडौं । चिउरा चपाएर छाक टार्ने कार्यकर्ताका नेताहरूचाहिँ कति सोखिन बन्दै छन् भन्ने सुन्यो भने जिब्रो टोक्नुपर्ने स्थिति छ । हात्तीको देखाउने र चपाउने दाँतझैं एकजना नेताका दुई रूपबारे कार्यकर्ताले अर्का नेतालाई झोसपोल लगाएपछि यस्ता कुरा बाहिर आएका हुन् ।
न्यूरोडगेटस्थित मुसाको लिँड हाली गुँदपाक बिक्री गर्ने पसलको ठ्याक्कै अघिल्तिर लक्की ज्वेलर्स नामक गहना पसल छ । दुई वर्षपहिले एकजना राणाजीको घरबाट हराएको चार क्यारेटको हीराको औँठी कसैले त्यही ज्वेलर्समा बिक्री गर्‍यो । पसलले पौने १४ लाख रूपैयाँमा खरिद गरेको त्यो औँठी कसैले त्यहाँबाट किन्यो र कुनै एउटा व्यापारीले नेताका लागि उपहार चढाउन लग्यो । यो त्यही औँठी हो, जो हिजोआज कहिलेकाहीँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को औँलामा टिलिक्क टल्किने गर्छ । प्रचण्डलाई त्यसरी हीराको औँठी उपहार दिने व्यापारी को थिए भन्नेचाहिँ जनकपुर स्थायी घर भएका सोही पसलका मालिक ऋषि ठाकुरलाई थाहा छ । उनको घर कोपुण्डोलस्थित सिखमन्दिर गुरुद्वाराछेउमा रहेको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ ।
हीराको औँठी मात्र होइन, विश्वबजारमा उत्पादित मोबाइलका नयाँ-नयाँ सेट, घडी, ल्यापटप र आइपडमा रमाउनु पनि माओवादी अध्यक्षको सोखमा पर्छन् । कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग गरेको कुराकानी रेकर्ड गरी सार्वजनिक भएजस्तै घटनामा परिन्छ भन्ठानी प्रचण्डले लामो समयदेखि नेपाल टेलिकमको सिम प्रयोग गर्न छाडेका छन् र एनसेलको ग्राहक बनेका छन् । गत महिना लन्डन गएका उनले त्यहाँबाट सोनी कम्पनीको ल्यापटप पनि ल्याएका छन् ।
प्रचण्डका यस्ता गुह्य कुरा मोहन वैद्य समूहले उनको छिद्र खोज्दै जाँदा पत्ता लगाएको हो । गत साता भौतिक योजनामन्त्री हृदयेश त्रिपाठीकी छोरीको विवाहभोजबाट फर्किएर प्रधानमन्त्री डा. बाबुराम भट्टराई सोझै वैद्य बस्ने ठाउँमा पुगेका थिए । उनी पुग्दा त्यहाँ भेला भएका वैद्य पक्षधर कार्यकर्ता भने प्रचण्डबारे वैद्यलाई यस्तै-यस्तै झोसपोल लगाइरहेका थिए । रिसाएका सहकर्मीलाई फकाउन माहिर मानिने प्रचण्ड हिजोआज वैद्यलाई फकाउन यसरी छड्के पारामा उनीकहाँ गइरहने गर्छन् । यही मेलोमा प्रधानमन्त्री बाबुराम भट्टराईको पनि उत्तिकै सक्रियता बढेको माओवादी कार्यकर्ता बताउँछन् ।

No comments:

Post a Comment