सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 24, 2011

सरकार पुनर्गठन गर्ने प्रचण्डको प्रस्ताव

९ पुस, काठमाडौं 
। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्ताव गर्नु भएको छ । पार्टी केन्द्रीय समितिको शनिबारबाट सुरु भएको बैठकमा ‘पार्टीको विकसित संकट, तीनको समाधान र आगामी कार्ययोजनाबारे सक्षीप्त प्रतिवदन’मा प्रचण्डले सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको हो । प्रचण्डले उपाध्यक्ष मोहन बैद्य किरण पक्षलाई समेत समेट्ने गरी बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव गर्नु भएको हो ।
प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समेत पहल गर्ने प्रस्ताव गर्नु भएको छ । ‘राष्ट्रिय सरकार बन्ने अवस्था आएमा नेतृत्व माओवादीकै हुनुपर्छ भन्ने उहाँको प्रस्ताव छ’ एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई भने-’अहिलेका लागि भने वर्तमान सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको छ ।’ प्रचण्डको पहिलो प्राथमिकता भट्टराई नेतृत्वकै सरकारमा नयाँ मन्त्रीहरु पठाउने रहेको र पार्टीभित्र एकमत हुन सकेमा अरुलाई पनि नेतृत्व दिन सकिने प्रचण्ड निकट नेताहरुले बताएका छन् ।
श्रोतका अनुसार भट्टराई नेतृत्वको सरकार ढाल्न बैद्य पक्ष कांग्रेसको नेतृत्व समेत स्वीकार्न तयार भएपछि प्रचण्डले राष्ट्रिय सरकारको नेतृत्व पनि पार्टीले नै लिनु पर्ने प्रस्ताव पेश गर्नु भएको हो । माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था आएमा भने सर्बसम्मत सहमति जुटे महासचिव रामबहादुर थापा बादललाई समेत प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत हुनुहुन्छ ।
भट्टराई सरकारप्रति रुष्ट बैद्य पक्षले वर्तमान सरकार ढालेर बादलको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले बादललाई अस्वीकार गरेपछि बैद्य पक्षका केही नेताहरुले अब कांग्रेसको पालो भन्न थालेका छन् ।
प्रचण्डले शान्ति र संविधान निर्माणमा एक जुट हुनु पर्ने भन्दै पार्टीमा बढ्दै गएको गुट अन्त्यको प्रस्ताव राख्नु भएको छ । पार्टीभित्रको अन्तरसंघर्ष महाधिबेशनबाट अन्त्य गर्ने भन्दै उहाँले महाधिवेशन नहुँदासम्म फोरम चलाउने र गुटहरु अन्त्य गर्ने प्रस्ताव गर्नु भएको छ । ‘पार्टीलाई विघटनको अवस्थामा पुर्‍याउने, तर, गुट सुदृढिकरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने अध्यक्षको प्रस्ताव छ’ एक नेताले भने-’गुट अन्त्य गरेर फोरम चलाउने प्रस्ताव गर्नु भएको छ ।’ प्रचण्डले संगठन सुदृढिकरण र जनपरिचालनको कार्यक्रम समेत पेश गर्नु भएको छ ।
अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले असहमति जनाउनु भएको छ । उहाँले आफ्नो छुट्टै प्रस्ताव आउने भन्दै एक दिनको समय माग्नु भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । ‘अध्यक्षले आफ्नो संक्षिप्त प्रतिवेदन पेश गर्नु भएको छ’ शर्माले भन्नुभयो-’यसमा किरण जीले अध्ययन गर्न र आफ्ना मतहरु लिखित रुपमै राख्न समय माग्नु भएकाले एक दिनको समय दिइएको छ ।’

No comments:

Post a Comment