काठमाडौं , मंसिर २३ -
राज्यव्यवस्था समिति सभापति रामनाथ ढकालमाथिको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार राजधानीबाट १० जनालाई पक्राउ गरेको छ ।
संविधानसभा भवन नयाँबानेश्वरबाट निवासतर्फ जाँदै गरेका ढकाल सवार गाडीमाथि बुधबार साँझ पुतलीसडक चोकमा ढुंगा प्रहार भएको थियो । आक्रमणबाट उनी चढेको बा१झ ८५०० नम्बरको सरकारी गाडीमा क्षति पुगेको थियो । सवारी जामका कारण बिस्तारै जाँदै गरेका बेला ताकेरै हानिएको ढुंगाबाट ढकाल छलिन भ्याएका थिए ।
'शंकास्पद १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेका छौं,' काठमाडौंका एसपी राजेन्द्र श्रेष्ठले भने, 'उनीहरूमध्ये कसैले पनि घटनामा आफू संलग्न रहेको स्वीकार गरेका छैनन् । बिस्तारै सबै तथ्य खुल्दै जान्छ ।' अनुसन्धान जारी रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएकाहरूको नाम सार्वजनिक गरेको छैन ।
ढकालले घटनाबारे उपत्यका प्रहरी कार्यालयलाई जानकारी गराएलगत्तै आक्रमणकारीको खोजी सुरु भएको थियो ।
एमाले सभासद ढकाल सभापति रहेको राज्य व्यवस्था समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सबै सुरक्षा निकाय पर्छन् । उनले बुधबार संसद्मा विशेष समय लिएर बोल्दै मुलुकको शान्ति सुरक्षाको अवस्था दयनीय रहेकोमा चिन्ता जनाएका थिए । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएयता मात्र १० जनाको हत्या भएको उल्लेख गर्दै उनले नागरिक असुरक्षाप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
ढकालमाथि आक्रमणको एमालेद्वारा भर्त्सना
एमालेले राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालमाथि बुधबार भएको आक्रमणको नियोजित भएको जनाएको छ । अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनालले बिहीबार वक्तव्य जारी गरी घटनाको निन्दा र भत्र्सना गरेका छन् । उनले आक्रमणकारीलाई कानूनको दायरामा ल्याई कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ' राज्य व्यवस्था समिति सभापतिको हैसियतमा कमरेड रामनाथ ढकालको प्रभावकारी भूमिकालाई बिष्लेषण गर्दा उहाँमाथिको आक्रमण नियोजित हो भन्ने स्पष्ट छ' अध्यक्ष खनालले भनेका छन् । ढकालको गाडीमाथी बुधबार राजधानीको पुतलीसडकमा ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट उनको गाडीको सिसा फुटेका थियो ।
No comments:
Post a Comment