सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 10, 2011

प्रधानमन्त्री भट्टराई भेटवार्तामा व्यस्त

२४ कात्तिक, काठमाडौं । 
१७ औं सार्क शिखर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई उचस्तरीय भेटघाटमा व्यस्त रहनु भएको छ ।
प्रधानमन्त्री डा. भट्टराई र भुटानी समकक्षी जिग्मी योशर थिन्लेबीच बिहीबार भेटवार्ता भएको छ । माल्दिभ्सको एड्डु सहरस्थित साङ्गि्रला रिसोर्टमा भएको भेट भुटानी शरणार्थी समस्या समाधानका विषयमा केन्दि्रत भएको थियो । भेटमा प्रधानमन्त्री भट्टराईले भुटानी शरणार्थीलाई उनीहरुको चाहनाअनुसार स्वदेश र्फकने वा तेस्रो मुलुक जाने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । भुटानी प्रधानमन्त्री थिन्लेले आगामी मंसिर ३ गते भुटानमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा प्रधानमन्त्री डा. भट्टराईलाई सहभागी हुन निम्तो दिनुभएको थियो ।
प्रधानमन्त्री डा भट्टराईले पाकिस्तानका समकक्षी युसुफ रजा गिलानीसँग भेटवार्ता गर्नुभएको छ । भेटमा भट्टराईले भारत र पाकिस्तानको सम्बन्ध सुधार होस् भन्ने चाहना व्यक्त गर्नुभएको थियो । उहाँले भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेमात्र सार्क प्रभावकारी बन्ने बताउनुभयो । पाकिस्तानी प्रधानमन्त्री गिलानीले नेपालको राजनीति र जारी शान्ति प्रक्रियाबारे निकै चासो राख्नु भएको थियो । भेटमा लामो समयदेखि बस्न नसकेको नेपाल-पाकिस्तानको अर्थमन्त्रीस्तरीय संयुक्त आर्थिक आयोगको बैठक छिट्टै गर्ने सहमति भएको छ । द्विपक्षीय परराष्ट्र परामर्श समितिको बैठक पनि छिट्टै नेपालमा गर्ने सहमति भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री गिलानीले डा. भट्टराईलाई समय अनुकूल मिलाएर पाकिस्तान भ्रमणमा आउन निम्तो पनि दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई र अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईबीच पनि भेटवार्ता भएको छ । भेटमा अफगान राष्ट्रपति कार्जाईले नेपालको शान्ति प्रक्रिया नेपालीले नै पूरा गर्न सुझाव दिनुभएको थियो । उहाँले मुलुकको आन्तरिक समस्या समाधानका लागि विदेशीलाई गुहार्न नहुने भन्दै अफगानिस्तानले पनि आन्तरिक समस्या आफँै समाधान गर्न लागेको बताउनुभयो । भेटमा प्रधानमन्त्री डा भट्टराईले कार्जाईको सुझावको स्वागत गर्दै मुलुकको शान्ति प्रक्रिया नेपालीले नै पूरा गर्न लागेको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया नेपाली शैलीमै पूरा हुने पनि दाबी गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment