काठमाडौं, मंसिर ४ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच भएका पछिल्ला केही सहमतिलाई हल्का टिप्पणी गरेर केही सञ्चारमाध्यमले भाँडभैलो चाहेको आरोप लगाएका छन् । उनले दलहरुले पछिल्ला दिनमा मिहिनेत गरेको दाबी गरे ।
कब्जा घरजग्गा फिर्ता गर्न आइतबार बर्दिया जानुअघि सिंहदरवारमा सञ्चारकर्मीहरुसाग कुरा गर्दै दाहालले समस्या बल्झाउनभन्दा पनि समाधानको बाटो पहिल्याउन सुझाव दिए ।
'राज्य पुनर्संरचना आयोग बनाउने विषयमा सदनबाट जुन निर्णय भयो यो धेरै महत्त्वपूर्ण निर्णय हो,' दाहालले भने, 'तर मैले केही मान्छेहरु मैले देखेको छु र कतिपय मिडियाको रिर्पोटिङ हेर्दा देशको समस्या समाधान नहोस् भन्ने चाहेको जस्तो, देशमा भाँडभैलो भइराखोस् भन्ने चाहेको जस्तो रिर्पोटिङ देखिएको छ ।'
दाहालले दलहरु पछिल्ला दिनमा जिम्मेवारीका साथ शान्ति प्रक्रिया र संविधान निर्माण पूरा गर्न लागेकाले त्यस्ता सकारात्मक समाचारलाई सम्प्रेषण गर्न आग्रह गरे ।
'हामी सवै जिम्मेवार बनौं देशलाई दुर्घटनातिर, भीडन्ततिर लैजाने ढंगको समाचारहरु नबनाऔं,' सञ्चारकर्मीलाई सकारात्मक समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै उनले भने, 'समस्या समाधानका लागि दलहरुबाट धैरै ठूलो मिहिनेत भएको छ त्यो कुरालाई चाँही ठिक ढंगबाट जनतामा प्रेषण गरौं भन्ने मेरो अनुरोध छ ।'
घरजग्गा फिर्तामा विवाद हुन्न
दाहालले द्वन्द्वकालमा माओवादीबाट कब्जा घरजग्गा फिर्तामा विवाद नहुने दाबी गरे । दाहाल कांग्रेस नेता कृष्णप्रसाद सिटौलासाथ आइतबार नै बर्दिया गएका छन् ।
'बर्दिया जिल्लाको स्थिति र समस्या समाधानको उद्देश्यले हामी जादैछौं,' तीनवटै प्रमुख दलका नेताहरुसित बसेर समाधान निकाल्ने उल्लेख गर्दै उनले भने, 'जग्गा फिर्ताबारे लामो समयदेखि छलफल भइरहेको छ र त्यसलाई समाधान गर्ने भनेर पार्टीहरुबीच छलफल पनि भएको छ । त्यहाँ विवाद हुने पनि देखिएको छ, हाम्रो पार्टी एकढिक्का भएरै जान्छ ।'
घरजग्गा फिर्ताको निर्णयप्रति वैद्य समूहको असहमति छ ।
No comments:
Post a Comment